बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

आनन्दराज मुल्मी
जेठ १०, २०८१

आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा लुम्बिनीमा जन्मेका सिद्धार्थ शाक्यवंश थिए । कपिलवस्तुमा राजदरबार भएका राजा शुद्धोधनले आफ्ना राजकुमार सिद्धार्थलाई आफू जस्तै राजा बनाउने अभिलाषा लिएर स्याहारसुसार गरेका थिए तर राजकुमार सिद्धार्थ बाल्यकालदेखि नै भिन्न स्वभावका देखिन्थे । त्यसैले भिन्न व्यवहार प्रकट गर्दथे भनेर बुद्धकालीन इतिहासकारहरूले लेखेका छन् । त्यसैले इसापूर्व ५३४ मा २९ वर्षको उमेरमा सिद्धार्थले दरबारको सबै खालका सुखसुविधासहितको गृहस्थी जीवन त्याग गरेर कपिलवस्तु छोडेको पनि उल्लेख गरेको पाइन्छ । त्यसपछिको सिद्धार्थको जीवन नितान्त विभिन्न ध्वनिहरूको अध्ययन, ध्यान, तपस्यामा बितेको कुरा प्रायशः सबै इतिहासमा लेखिएको पाउँछौं । जहाँसम्म दर्शनको अध्ययनको कुरा छ त्यो समयभन्दा कैयन् वर्ष अगाडि वेद उपनिषद्हरू आइसकेका थिए, विभिन्न खालका सभ्यताहरू विकास भइसकेका थिए र हुँदै थिए, लाओत्से र कन्फ्युसियसहरूले आफ्नै दर्शन र वाद जन्माउँदै थिए, नेपालमण्डलमा मंजिया महिषपाल गोपालवंशहरूले आफ्नै सभ्यताको विकास गर्दै थिए, यिनै परिप्रेक्षमा सिद्धार्थले आफ्नो अध्ययन हाल भारतको विहार प्रदेशमा रहेको राजगिरीबाट सुरु गरेको त्यसपछि गयाको उरुखेलावनमा कठिन तपस्या, गयाकै कुनै ठाउँमा पीपल रुखमुनि ध्यान बस्दै जीवनयापन गरी ज्ञानको खोजीमा समर्पित भएको विषय अनुसन्धानकर्ताहरूले आफ्ना किताबमा उल्लेख गरेको पाइन्छ । त्यसैको फलस्वरूप इसापूर्व ५२७ आ गृहस्थी त्याग गरेको ७ वर्षपछि वैशाख पूर्णिमाका दिन बोधी ज्ञान प्राप्त गरेको र धर्मचक्र परिवर्तनसहित बुद्धत्व प्राप्त गरेका थिए र त्यसै दिनदेखि सिद्धार्थलाई बुद्धको रुपमा चिनिन थालेको हो । बुद्धपछि सुकरात प्लुटो, एरिस्टोल, चाणक्य जस्ता दार्शनिकहरूले जन्म लिए, अलेक्जन्डर, जुलियस सिजर जस्ता योद्धाहरूले तहल्का मच्चाए, जिसस क्राइस्टको जन्म भयो ।
नेपालमण्डलमा किरातवंशले शासन चलाए । ‘सत्य बोल – कसैलाइ चोट नपु¥याउ – मनलाई शान्त राख्न ध्यान गर – स्व अनुशासनमा बस – खराब आचरण त्याग्दै खराब बाटोमा नहिँड – आशक्त हुनबाट छुटकारा पाऊ– सबैखाले लोभ, लालचा, घृणा, इष्र्याबाट मुक्त भई धम्मपद कायम गर’ यिनै दर्शन र विचारसहित बुद्धले उपदेश र शिक्षा प्रदान गर्ने कामको थालनी गर्नुभयो । पहिलो उपदेश इसापूर्व ५२७ मा सारनाथको मृगदावन भन्ने स्थानमा गर्नुभयो । बुद्धले कैयन्् ठाउँमा प्रवचन उपदेश दिनुभएको उल्लेख छ तर सबैभन्दा धेरै उपदेश दिएको र वर्षावास बसेको ठाउँ श्रावस्तीको जेतवन रहेको छ । आफ्नो जीवनकालमा बुद्धले जहाँ अध्ययन गरे, त्यहाँ ध्यान तपस्या गरे, जहाँजहाँ उपदेश र प्रवचन दिन बसे ती ठाउँहरू भारतका विभिन्न ठाउँहरू रहेका छन् । ती सबै ठाउँहरू आज पनि दर्शनीय स्थलको रूपमा प्रख्यात छन् – राजगिरी, गया, सारनाथ, श्रावस्ती, कुशीनगर आदि ठाउँ आज पनि बौद्धमार्गीहरूको लागि पवित्र स्थलको रुपमा लिइन्छ ।

बुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्नो गृहनगरलाई बिर्सिएनन् – इसापूर्व ५२७ को फागुपूर्णिमाका दिन राजागिरीबाट कपिलवस्तुको लागि प्रस्थान गरे । आफ्ना ५ जना शिष्य आनन्द, अनिरूद्र, सारीपुत्र, मौदगल्यायन, भद्धियसहित पैदल यात्रामा बाटोमा परेका अनेकन् बस्तीहरूमा उपदेश दिँदै दर्शनको व्याख्या गर्दै विश्वस्त पार्दै वैशाख पूर्णिमाका दिन कपिलवस्तु आफ्नो बाल्यकाल बिताएको जवानी बिताएको ठाउँमा आइपुगे तर दरबारमा नगई छुट्टै ठाउँमा बसे र ज्येष्ठ पूर्णिमाका दिन ‘कुदान’ मा पहिलो देशना र प्रवचन गरेको कुरा किताबहरूमा लेखिएको छ । तर कपिलवस्तुबाट आफू जन्मेको ठाउँ लुम्बिनी वा बाल्यकाल बिताएको मावली गाउँ देवदहमा गए कि गएनन्, गएको भए पवचन देशना आदि प्रदान गरेको कुरा कतै उल्लेख गरेको पाइँदैन । यो बुद्धकालीन इतिहासको अपुरो भाग हो । त्यस्तै नेपालमण्डलमा किरातवंश शासनकाल भएको अवस्थामा ‘बुद्ध’ नेपालमण्डलमा गई किण्डोल भन्ने ठाउँमा बसेर प्रवचन दिएको केही इतिहासकारहरूले लेखेका छन् तर पर्याप्त कुराहरू नभएको देखिन्छ । उक्त किण्डोल भन्ने ठाउँ आज पनि विद्यमान छ हालको स्वयम्भू भएको डाँडाको पूर्वपट्टिको फेदीमा रहेको देखिन्छ तर यसबारे अनुसन्धानकर्ताहरूले पर्याप्त प्रवद्र्धन गर्न नसकेको देखिन्छ तर पत्याउनुपर्ने कारण चाहिँ त्यही स्वयम्भू डाँडामा विशाल आकर्षक स्वयम्भू चैत्यको निर्माण भएकाले पुष्टि गर्न सकिन्छ कि ?

इसापूर्व ४८३ मा बुद्धले महापरिनिर्वाण प्राप्त गरे अनि सारा मानिसले भगवान् बुद्धको रुपमा ग्रहण ग¥यौं । भगवान बुद्धबारे, दर्शन र शिक्षा, बुद्धत्व ज्ञानबारे नेपालले जुन रूपमा प्रवद्र्धन खोजीनीति, अनुसन्धान र प्रचारप्रसार गर्नुपर्ने हो त्यसमा हामीले न्याय दिन सकेका छैनौं । विश्वका अन्य मुलुकहरूले जसरी व्यापक प्रवद्र्धन गर्न लागिपरेका छन् त्यसको तुलनामा नेपालले किन गर्न सकेनौं । यस विषयमा चर्चा परिचर्चा गर्न जरुरी छ । विडम्बनाको विषय नेपालमा थुप्रै बौद्धमार्गी संस्थाहरू छन् । लुम्बिनी विश्वविद्यालय पनि स्थापना भएको छ । लुम्बिनी गुरुयोजना सुरु गरेको पनि वर्षौं भइसकेको छ तर बुद्धदर्शन र शिक्षाबारे व्यापक चासो लिने परिस्थिति, व्यापक रुचि जगाउने र अनुसन्धान प्रेरित गर्न नसकेको परिस्थिति छ । लुम्बिनी विश्वविद्यालय बाटो बिराउँदै बुद्ध दर्शन, शिक्षा, इतिहास, संवद्र्धन गर्नुको साटो अन्य विषयलाई प्रोत्साहन गर्ने काममा लागेको छ । अब त बौद्ध दर्शन, धर्म, शिक्षासँग सम्बन्धित संस्थाहरूको ध्यान पुग्नुपर्ने हैन ?

लुम्बिनी विश्वविद्यालय बाटो बिराउँदै बुद्ध दर्शन, शिक्षा, इतिहास, संवद्र्धन गर्नुको साटो अन्य विषयलाई प्रोत्साहन गर्ने काममा लागेको छ

भगवान् बुद्धले महापरिनिर्वाण प्राप्त गरिसकेपछि अस्थिधातुलाई त्यसताकाको ८ वटा राज्यमा लगेर स्तुप निर्माण गर्ने सहमति गरेको पाइन्छ । बुद्धले आफ्नै जीवनकालमा आफ्ना २ जना शिष्य सारीपुत्र र मौदगल्यान गुमाएका थिए – उनीहरूको मृत्युपछि बुद्ध स्वयंले अस्थिधातु राखेर स्तुप निर्माण गरेको हुनाले बुद्धको महापरिनिर्वाणपछि स्तूप बनाउनु भनेको संकेतको रुपमा लिँदै ८ वटा राज्यमा स्तूप निर्माण भएको र आजसम्म ती सबै स्तुपहरू पवित्रस्थलको रुपमा लिने गरिन्छ । ती ८ राज्यहरूमा भिन्दाभिन्दै शासकहरू थिए,– १. राजगिरीमा अजातशत्रु, २. वैशालीमा लिच्छवी, ३. कपिलवस्तुमा शाक्य, ४. अल्लकपमा वली, ५. वेढ्ठिप्पीमा ब्राह्मण, ६. कुशीनगर, ७. पावामा मल्ल र ८ रामग्राममा कोलिय वंशले अस्थिधातुलाई भाँडोमा राखेर जमिनमुनि गाडेर स्तूप निर्माण गरेका छन् । ती ८ मध्ये नेपालमा २ वटा छन् कपिलवस्तु र रामग्राममा । स्मरण रहोस् रामग्राममा रहेको त्यो स्तूपसहितको ठूलो क्षेत्रफलमा विभिन्न निर्माण कार्य गरी व्यावसायिक आकर्षणका साथ प्रचारप्रसार गर्न लामो अवधिको लागि लुम्बिनी विकासकोषले व्यावसायिक कम्पनीलाई सञ्चालन गर्ने सम्झौता गरेकोमा सरकारको निर्देशनबमोजिम खारेज गरेको केही समयमात्र भएको छ । यस्ता ऐतिहासिक र महत्वपूर्ण ठाउँहरूलाइै संवद्र्धन र प्रवद्र्धन गर्ने कार्यमा राज्यको ध्यान पर्याप्त नपुगेको कुरा यी ठाउँहरूमा पुग्दा थाहा हुन्छ । यस्ता पुरातात्विक ठाउँहरूलाई अन्तर्राष्ट्रिय संस्था साथै विद्वान् र अनुसन्धानकर्ताहरू ध्यान आकर्षण गर्न सकेमा ठूलो योगदान पुग्ने थियो कि ?

इसापूर्व ४८३ मा महापरिनिर्वाण हुनु अगाडि भगवान् बुद्धले दिनुभएको शिक्षा, उपदेश, दर्शन र पालना गर्नुपर्ने नियमहरूको एउटा संग्रह निर्माण भएको छ जसलाई ‘त्रिपिटक’ भनिन्छ । त्रिपिटक नै सम्पूर्ण दर्शन शिक्षा उपदेश नियम विनयको सार भएकाले यसलाई आधार मान्दै विश्वभर नै महत्वपूर्ण कार्यहरू सम्पादन भएको पाउँछौं ।

– उपदेशलाई सुत्र र सुत्रको रूपमा ५ खण्ड र १५ उपखण्डमा राखिएको छ ।
– दर्शन र शिक्षालाई अभिधर्मको रूपमा ७ खण्डमा राखिएको छ ।
– भिक्षु, भिक्षुणी, उपासकलाई बनाइएको नियम र विनय ५ खण्डमा राखिएको छ ।

यी सबैको संग्रह त्रिपिटकलाई सबैभन्दा पहिले श्रीलंकाका राजा अभयले इसापूर्व ७९ मा लिपिबद्धरुपमा पालि भाषामा ताडपत्रमा लेखाएको विश्वास गरिएको छ । त्यसपछि सन् १०० मा काश्मिरका राजा कनिष्कले संस्कृत भाषामा लेख्न लगाएको पाइन्छ । सन् ७७–१८१ बीच रहेका विद्वान् नागार्जुले सम्पूर्ण त्रिपिटकलाई ९० दिनभित्र कण्ठस्थ गरी महायानी ग्रन्थ निकालेको उल्लेख गरिएको छ ।

पाँचौ शताब्दी सन् ४१० मा कुमार गुप्तले त्रिपिटकलाई आधार मानेर नालन्दा विश्व विद्यालय स्थापना गरेको इतिहास दस्तावेजले पुष्टि गर्दछ । सन् ५५० मा चिनिया विद्वान् फू हीले त्रिपिटक सुत्रलाई धातुको बट्टाभित्र राखी बन्द गर्दै हातले निरन्तर घुमाउने चलन चलाए । अहिले हामी त्यो घुमाउनेलाई माने भन्छौ । सन् १८७१ मा बर्माका राजा मिण्डोनले ७२९ वटा संगमरमरका त्रिपिटकका सबै खण्डहरूलाई कुँद्न लगाए । त्यो अझै म्यानमार (पहिलेको बर्मा) राजधानीमा हेर्न पाइन्छ । यसरी विभिन्न रूपबाट त्रिपिटकलाई व्यापक पहिचान दिने प्रयास गरिएको पाउँछौं । तर बुद्धले जन्म लिएको नेपालमा त्रिपिटकबारे र यसमा उल्लेख गरिएका उपदेश, शिक्षा र नियमहरूबारे पर्याप्त चर्चा परिचर्चा, प्रचारप्रसार भएको विरलै पाइन्छ ।

अहिले बुद्धदर्शन र उपदेशलाई विभिन्न कोणबाट व्याख्या गरिने गरिन्छ । सुरुमा थेरवादको रुपमा रहेको दर्शन हिनयान, महायान र वज्रयानको रूपमा देखाप¥यो । बुद्धलाई देवताको रूपमा प्रस्तुत हुन थाल्यो, पूजाआजा गर्ने प्रथा सुरु हुन थाल्यो । बुद्धलाई अलौकिक बनाउने प्रयास सुरु भयो । निर्माणको लागि देवताको आशीर्वाद भए पुग्ने विचारधारा हाबी हुन थाल्यो । मन्त्रहरू उच्चारण गर्दै तान्त्रिक विधिबाट मोक्ष प्राप्त हुने विश्वास बढ्दै जान थाल्यो । प्रत्येक व्यक्ति बुद्ध हुन खोज्ने, धेरै जप र पाठ ग¥यो भने अर्को जन्म पाउन सक्ने विश्वास हाबी हुन थाल्यो । बौद्ध धर्मालम्बीहरूमा यस्तो फरक दृष्टिकोण रहेको पाइन्छ तर बुद्ध उपदेश र शिक्षालाई दर्शनको रुपमा अंगीकार गर्ने एउटा ठूलो जमात विद्यमान छ नै बुद्धका वाणी र उपदेशलाई आत्मसात् गर्न सकियो भने जीवन सार्थकतातिर उन्मुख हुने विश्वास राख्छन् ।

केही बुद्धवाणीहरू उद्धृत गर्ने जमर्को गरेको छु ।

– प्रत्येक मनुष्यको चरित्र जन्मले नभई उसको आचरणले निर्धारण गर्दछ ।
– सबै मनुष्य समान हुन्, कुनै पनि छुवाछुत भेदभाव उचनिच हुँदैन ।
– अनुयायी विजय प्राप्त गर्नभन्दा पहिले आफूमाथि विजय प्राप्त गर ।
– घृणाले घृणा कम हुँदैन, शंका र संकोच सबैभन्दा खराब कुरा हो ।
– मनुष्यको क्रोधको सजाय अरूले हैन, आफ्नै क्रोधले दिन्छ ।
– कसैलाई चोट नपु¥याउनेलाई अरुले पनि चोट पु¥याउन सक्दैन ।
– धेरैले धेरै पटक पाठ गर्छन्, पढछन्, जप्छन् तर स्वयंले अनुपालना नगर्दा कुनै अर्थ छैन ।
– अरुको कुभलो नचिताउने, नरिसाउने, हिंसाको बाटो नरोज्ने, रस रंगमा नडुब्ने नै सर्वोत्तम हो ।
– जो शान्त रहन्छ, स्वच्छ मनले आफ्नो हजारौं कुरा बोल्छ, सबैको हित सोच्छ त्यो नै ब्राह्मण हो ।
– हजारौं शब्दहरूभन्दा थोरै शब्दले सार्थकता र शान्ति प्रदान गर्दछ ।

यस्ता उपदेशहरू अनगिन्तीरुपमा आफ्ना प्रवचन शिक्षा दिने बेलामा व्यक्त गरिएको पाइन्छ । त्यसैले इसापूर्व ४८३ पछि यही बुद्ध दर्शन र शिक्षालाई व्यापकता दिन प्रचारप्रसार गर्न कैयन् राजाहरू, विद्वानहरू लागि परे । आजसम्म पनि यो अध्ययनकै विषय बनेको छ । अनुसन्धान कार्यहरू भइरहेका छन् र यसलाई आधार मान्दै कैयन् द्वन्द्व र समस्या समाधान उन्मुख देखिएका छन् । त्यसैले बुद्ध जन्मेको दिन बुद्धजयन्तीलाई अन्तर्राष्ट्रिय शान्ति दिवसको रूपमा ग्रहण गरिएको छ । आज भगवान् बुद्ध र शान्ति पर्यायवाची बनेको छ ।

विभिन्न बौद्धकालीन इतिहासमा उल्लेख गरिएका कुरा थाहा पाउँदा अत्यन्तै सुखानुभूति हुन्छ । कतै सम्यक मार्ग, कतै सम्यक कर्म, कतै सम्यक वाचाबारे उल्लेख छ त कतै ४ वटा अर्धसत्यबारे विवेचना गरिएको पाइन्छ । उपासक, उपसिकाहरूले पञ्चशीलm ग्रहण र स्वीकार्न तयार हुनुपर्ने त्यो भनेकै हिंसा – चोरी – व्यभिचार – झुठ र लागुपदार्थबाट टाढा रहनुपर्ने छ भने त्योभन्दा माथि अष्टशील अझ त्यो भन्दा कठिन दश शीलका विषय पनि समावेश गरेको पाइन्छ । बुद्धका यी दर्शनहरूले, उपदेशहरूले त्यसपछिका दिनहरूमा कन्फ्युसियस, ताओ, वोन, जैन, हिन्दु दर्शनसँग निकै प्रतिस्पर्धा गरेको अवस्था थियो । शताब्दीयौंसम्म विद्वानहरूबीच बहस चल्दै गएको पाइन्छ । सन् ७५० पछि जब मुस्लिम योद्धाहरूको आक्रमक ढंगले उदय भयो तब बौद्ध धर्म पहिलो आक्रमणको सिकार भएको पाइन्छ । त्योसँगै हिन्दु धर्म पनि नष्ट गर्ने भनेर लागेको देखिन्छ । सन् ७५८ मा उदयन पेसावर क्षेत्रमा सम्राट अशोक र कनिष्कले स्थापना गरेका हजारौं स्तुपहरू, स्तम्भहरू, सुल्तान मोहम्मदले आक्रमण गरी नष्ट पारे । त्यस्तै सन् ९९५ मा गजनीले भारतवर्षमा आक्रमण गर्दा पहिलो तारो नै बौद्ध धर्म थियो, सन् १२०० मा खिलजीले महŒवपूर्ण नालन्दा विश्वविद्यालयलाई नष्ट गरे । त्यसैबेला शाक्यवंश र कोलयवंशका धेरै बौद्धमार्गीहरू नेपालमण्डलमा प्रवेश गरेको उल्लेख छ । त्यस्तै सन् १३५० मा समशुदिनले नेपालमण्डल आक्रमण गरेको बेला धेरै विहारहरू नष्ट, धेरै भिक्षुहरू मारिएका थिए र स्वयंभू स्तुपलाई आगो लगाएका थिए ।

इतिहासको कालखण्डमा एउटा धर्म विषेशले अन्य धर्म विषेशलाई सिध्याउने चलखेल हुने गरेको र एउटा धर्मविषेशलाई प्रोत्साहित र अन्यलाई निरुत्साहित गर्ने काम भइरहेको छ । त्यसैले व्यक्तिहरूलाई आफ्नो धर्म अंगीकार गर्न धर्म परिवर्तन गर्ने गराउने काम निरन्तर भइरहेको पाइन्छ । यस्ता कुरा अहिलेको आधुनिक कालखण्डमा पनि सुचारू रहेको पाइन्छ । नेपालकै सन्दर्भको कुरा गर्नुपर्दा किरात र लिच्छवी शासनकालमा बौद्ध दर्शन र धर्मलाई प्रवद्र्धन गर्न धेरै प्रयासहरू भएको देखिन्छ । त्यसपछिका दिनहरूमा यस्ता प्रयासहरू कम भएको देखिन्छ । राणाकालीन समयमा बौद्ध धर्म अंगीकार गरिएका भिक्षुहरूलाई जेल चलान, देश निकाला गरेको उदाहरण पनि छन् । सम्राट अशोकले इसापूर्व २४५ मा भगवान् बुद्ध जन्मस्थानमा खडा गरेको अशोक स्तम्भ सन् १८९५ मा डा. फ्युहररले उत्खनन् गरी फेला परेपछि सन् १८९६ मा सो स्तम्भ खडा गरिएको उल्लेख छ । सन् १८९९ मा प्रसिद्ध जापानी भिक्षु र विद्वान् कावागुची नेपाल पोखरा हुँदै तिब्बततर्फ लागेको तर लुम्बिनी जान अनुमति नपाएको समेत दस्तावेजमा उल्लेख गरिएको पाइन्छ । यद्यपि काठमाडांै ललितपुर क्षेत्रमा बौद्ध र हिन्दु धर्मालम्बीहरू सँगै मिलेर जीवनयापन गरेको इतिहास, एउटै वहालभित्र संयुक्त मन्दिर निर्माण गर्ने परम्परा कायम रहेको आज पनि देख्न सक्छौं । यो आपसी सौहार्दताको प्रतीक पनि हो । सम्राट् अशोकले नेपालमण्डलको यल हाल ललितपुरमा ४ वटा स्तुप निर्माण गर्न लगाएको, पशुपति क्षेत्रनेर विहार (चारूमती विहार भनिन्छ) निर्माण गरिएको भनिन्छ । तर प्रामाणिक हुन सकेको छैन । त्यसरी नै आठौं शताब्दीमा लिच्छवी राजा वृषभदेवले स्वयम्भू चैत्यको निर्माण गरेको र १७ औं शताब्दीमा बौद्धनाथ स्तुपको निर्माण भएको उल्लेख छ । त्यसबाहेक ललितपुर र काठमाडौंमा कलात्मक विहारहरू निर्माण भएको र अहिले पनि ती दर्शनीय स्थलको रूपमा लिने गरिएको छ ।

पोखरामा बौद्ध धर्म, दर्शनको कुरा गर्नुपर्दा सन् १८९९ मा भिक्षु कावागुचीको पोखरा बसाइँ भएको देखिन्छ भने विसं. १९८५ मा भारतका भिक्षु महापद पोखरा आई प्रवचन गरेको र त्यसबाट प्रभावित भई नदीपुरका २ जना दिदीबहिनी जो पछि पहिलो अनागरिका धर्मशीलाको रूपमा प्रख्यात भइन् । आफ्नो बहिनी (जो पछि यशोधरा नामकरण भयो) लाई लिएर भिक्षु महापदसँगै कुशीनगर गएर दीक्षा प्राप्त गरेको र फर्केर आएर पोखरामा बसी बौद्ध शिक्षा र धर्मको प्रवद्र्धन गरेको पाइन्छ । १९९८ सालमा कायस्थ परिवारको तर्फबाट उपासिका धर्मनदीले पहिलो बौद्ध विहार निर्माण गरी अनागरिका धर्मशीलालाई हस्तान्तरण गरिएको र तद् उपरान्त धर्मशीला भिक्षुको रूपमा त्यही विहारमा बसोबास गरेको र बुद्धजयन्ती प्रत्येक वर्ष मनाउने कार्य त्यही विहारबाट धर्मशीलाले सुरु गरेको आम पोखरेलीले स्मरण गर्दछन् । आज पनि त्यही विहारबाट बुद्ध जयन्ती मनाउने क्रममा छौं । फरक यति मात्र हो कि एउटा उपासिकाले श्रद्धापूर्वक समर्पण गरेको कलात्मक सुन्दर विहार आज त्यस ठाउँमा विलीन बनाइएको छ – किन भत्काउनु परेको हो ? के प्रयोजन हो ? इतिहासलाई बिर्साउने प्रयास हो ? वा त्यो भन्दा अझ कलात्मक विहारको परिकल्पना हो वा अरू कुनै कारण सम्बन्धित पक्षलाई थाहा होला, योजना होला नै । तर इतिहास मेटिएको छ ।

भगवान् बुद्ध केवल बौद्ध धर्मालम्बीहरूको मात्र हो भन्ने मानसिकताबाट माथि उठ्न जरुरी छ । भगवान् बुद्धको दर्शन विश्वव्यापीरुपमा स्वीकारोक्ति भइसकेपछि यसलाई थप प्रवद्र्धन गर्न नेपालले पर्याप्त काम गर्न जरुरी छ । बौद्ध धर्मावलम्बीहरूबीच देखिएको विभिन्न सम्प्रदाय खासगरी नेपालमा थेरवादी महायानी वज्रयानी सम्प्रदायहरू संयुक्तरुपमा बौद्ध दर्शन, बौद्ध शिक्षा र उपदेशलाई व्यावहारिक र सार्थकता प्रदान गर्न बौद्ध जयन्तीलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन सफलता मिलोस् भन्ने शुभकामनासहित वैशाख पूर्णिमा हामी सबैको लागि सदा उत्साह र प्रेरणाको स्रोत बनिरहोस् – सबै नेपालीको भलो होस्, बहुजन हितायको भावना रहिरहोस् र भगवान् बुद्धले उपदेश दिए झैं सबैखाले लोभ, लालचा, घृणा, ईष्र्या, हिंसा, व्यभिचार, रिस, द्वेष त्याग्न सकौं ।

Related News

सम्बन्धित समाचार

hero news full width