प्रदूषित पानीले स्वास्थ्यमा पर्ने प्रभाव

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७३

पानी प्रकृतिले दिएको निःशुल्क उपहार हो। संसारमा तीन भागको दुइ भाग क्षेत्रफल पानीले ओगटेको छ। विश्वका विभिन्न देशको जल सम्पदाको स्थिति हेर्दा सबैभन्दा धनी राष्ट्र दक्षिण अमेरिकामा रहेको ब्राजिल हो भने नेपाल दोस्रो धनी राष्ट्रमा पर्दछ। हिमनदी, नदी, मूल, झरना, खोला, ताल, पोखरी र वर्षाको पानी नै दैनिक प्रयोग गरिने पानीका स्रोतहरू हुन्। पानी पिउन, दैनिक घरेलु आवश्यकतामा प्रयोग साथै सरसफाइ गर्न, उद्योगधन्दा चलाउन, कृषि कार्यमा हाइड्रोपावर, सार्वजनिक स्थानमा प्रयोग गरिनुको साथै जलजन्तुको संरक्षण, वृद्धि विकासमा, पारवहन, मनोरञ्जन, पर्यटन विकासमा समेत प्रयोग हुँदै आएको पाइन्छ। एक स्वस्थ व्यक्तिका लागी दैनिक दुइ सयदेखि दुइ सय ५० लिटर पानी आवश्यकता पर्दछ। एउटा स्वस्थ मानिसले दैनिक दुइदेखि साँढे दुइ लिटर पानी पिउनु आवश्यक हुन्छ।

स्वस्थ जीवनयापन गर्नका लागि शुद्ध र सफा खानेपानी प्रयोग गर्नु पर्दछ। सार्क राष्ट्रमा खानेपानीको पहुँचलाई हेर्दा माल्दिभ्समा शतप्रतिशत जनताले सुरक्षित खानेपानी प्राप्त गरेको, वंगलादेशमा ७४ प्रतिशत, पाकिस्तानमा ९१ प्रतिशत, भारतमा ८६ प्रतिशत, श्रीलंकामा ७९ प्रतिशतको शुद्ध खानेपानीमा पहुँच छ। नेपालमा २०६८ मा गरिएको जनगणना अनुसार ४७.७८ प्रतिशत जनताले धाराको पानीलाई खानेपानीको रुपमा प्रयोग गरेको, ३५.१२ प्रतिशत जनताले ट्युवबेलको पानी र अन्यले खोला, पोखरीको पानीलाई खानेपानीको रुपमा प्रयोग गरेको कुरा तथ्याड्ढले देखाएको छ। तथ्याङ्कले खानेपानीको अवस्थालाई राम्रै अवस्थामा देखाएता पनि व्यवहारमा पानीको अभाव र दुषितपनामा खासै कमी आएको देखिँदैन।

पानी दुषित हुनाका कारणहरू

पानी दुषित हुने मुख्य दुइ कारण छन् : भौतिक कारण : बाढी, पहिरो, भूक्षय, मरेका जनावर, घाँसपात, हिलो, माटो, बालुवा मिसिएर, क्याल्सियम म्याग्नेसियम, सोडियम पोटासियम, सल्फाइड, नाइट्रोजन, अमोनिया आदि पदार्थ मिसिएर पानीको गुणस्तरमा प्रवाहित हुने गर्दछ। धारामा हिलो, लेदो, धमिलो पानी आउने, दुषित अवस्था हो। गत वर्षको भूकम्पबाट पर्न गएको प्रभावका कारण नेपालमा पनि मूलहरू सुक्ने, इनारहरूमा दुषित पदार्थ मिसिने, पानी मिसिने गरेको पाइएको छ। यस्तै, मानवीय कारणमा जनसंख्या वृद्धि, बढ्दो सहरीकरण, सरसफाइसम्बन्धी चेतनाको अभाव, खानेपानीको आपूर्र्ति सहज नहुनु, कृषिमा किटनासक औषधी, विषादी रासयनिक मलको प्रयोग, ठोस, तरल फोहर पदार्थ सडक खोला नदी ताल नहरमा विसर्जन गर्नु, पानीको मुहान सुरक्षित नहुनु, चर्पीकेा अभावमा दिसापिसाब जथाभावी गर्नु, उद्योग, कलकारखानाबाट निस्कने तरल पदार्थ शुद्धिकरण नगरी खोला, नदीमा मिसाइनु, पानी उचित किसिमले शुद्ध गरेर वितरण नगर्नु, सरसफाइमा कम ध्यान दिँदा पानी दुषित हुन पुग्दछ।

दुषित पानीबाट स्वास्थ्यमा पर्ने प्रभाव

हाम्रो दैनिक जीवनमा अति आवश्यक पर्ने पानी दुषित भएमा त्यसमा रहेका भाइरस, प्रोटोजोवा, ब्याक्टेरिया, परजीवी, जुका, रासायनिक पदार्थ आदिद्वारा मानव स्वास्थ्यमा गम्भीर समस्या देखा पर्दछन्। वर्षात्को समयमा महामारीको रुपमा फैलने झाडापखाला, आउँ, हैजा, कमलपित्त, टाइफाइड, जुका, प्रोटोजोवासम्बन्धी रोग दुषित पानीको प्रयोगबाट हुने रोग हुन्। ६०-६५ प्रतिशत पेटसम्बन्धी रोग दुषित पानीकै कारणबाट हुने गर्दछन्। अमोनिया, सल्फाइड, साइनाइड गन्धक, साबुन, अमल, फिनेलजस्ता पानीमा मिसिएका पदार्थले मानव स्वास्थ्यका साथै जलचर, वनस्पतिमा पनि नराम्रो असर पुर्‍याएको पाइन्छ। नेपालमा झाडा, पखालाबाट वर्षेनि पाँच वर्षमुनिका करिब १०,५०० बालबालिकाको मृत्यु भएको तथ्याड्ढले देखाएको छ।

पानी प्रदुषण नियन्त्रणका उपायहरू

दिसापिसाब नै पानी प्रदुषण गर्ने मुख्य पदार्थ भएकाले सबैभन्दा पहिला उचित शौचालयको व्यवस्था हुनु नितान्त आवश्यक छ। खुल्ला दिसा मुक्त क्षेत्र घोषणाको अभियानमा कास्कीमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालद्वारा २०६८ असार १० गते पहिलो पटक उद्घाटन भएको भएता पनि हालसम्म शौचालयको पहुँच सम्पूर्ण घर, परिवारसम्म पुगेकेा देखिँदैन। हाम्रो शहरमा सार्वजनिक शौचालय, मोबाइल शौचालयको व्यवस्था छैन।  राजमार्ग, सरकारी संघ-संस्थाहरूका शौचालय दुर्घगन्धित अवस्थामा छन्। शिक्षण संस्था, विद्यालय, अस्पताल, सरकारी कार्यालयले पनि शौचालय, खानेपानीमा ध्यान दिन सकेको देखिँदैन।
त्यसैले पानी प्रदूषण नियन्त्रण गर्नका लागि निम्न उपाय अपनाउनुपर्दछ :

१.     पानीसँग सम्बन्धित सरकारी गैरसरकारी संघ, संस्था, खानेपानी संस्थानले शुद्ध, सफा पिउन योग्य पानी वितरणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। पानी वितरण गर्ने मिनरल वाटर भनी बिक्रीमा आएका पिउने पानीदेखि प्राइभेट कम्पनी, बोरिङ, पानी वितरकद्वारा वितरण गरिएका पानी पिउन योग्य छन् वा छैनन् जाँच गरी त्यसको जानकारी उपभोक्तासम्म पुर्‍याउनुपर्ने देखिन्छ। मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने किसिमका पदार्थ पाइएमा तुरुन्त उत्पादन बन्द गरिनु पर्दछ।

२.     पानी सफा राख्ने चेतनामूलक कार्यक्रम विद्यालय, समुदाय, आमा समूह, संघ, संस्थामा विभिन्न सञ्चारमाध्यम, स्वास्थ्य संघ, संस्थाद्वारा गर्ने/गराउने।

३.     घर, होटल, अस्पताल आदिबाट निस्किएका फोहरमैलाको उचित विसर्जन गर्ने, उद्योग कलकारखानाबाट निस्कने तरल पदार्थलाई प्रशोधन गरी उचित व्यवस्थापन गर्ने, पानीको मुहानवरिपरि सफा राख्ने, मरेका जीवजन्तु विषालु पदार्थ, मानव उत्र्सर्जित मलमूत्रको उचित ठेगान लगाउने, खोला, नदी, ताल जलसम्पदा हाम्रा सम्पत्ति हुन् यिनको सफा संरक्षण गर्ने कुरामा सबै सचेत हुने। शौचालय निर्माण गर्दा खानेपानीको स्रोतबाट १५ मिटर टाढा निर्माण गर्ने, खेतबारीमा रसायनको प्रयोग कमभन्दा कम गर्ने।

४.     विद्यालय, अस्पताल, खाद्यपदार्थ बनाउने, खुवाउने ठाउँहरूमा शुद्ध पानीको प्रयोग र वितरण गरिएको छ वा छैन भनी सम्बन्धित निकायले समय-समयमा सुपरिवेक्षण, निरीक्षण, अवलोकन गर्नु जरुरी देखिन्छ।

५      फोहर, मैला, ढल, दूषित पदार्थ खोलानाला, नदी, सार्वजनिक स्थान, पानीको मुहानमा फाली पानी दुषित पार्ने कार्य गरेको पाइएमा कडाभन्दा कडा कारवाहीको व्यवस्था गर्नुपर्दछ। ढल निकासको उचित व्यवस्था मिलाउनु पर्दछ।

६.     घरमा पानी उमालेर, छानेर, वा सोडेस विधिद्वारा तामाको भाँडामा भण्डार गरी राखिएको पानी पिउने गर्नुपर्दछ।

नेपाल जलस्रोतको धनी देशका रुपमा परिचित भएतापनि उक्त स्रोतको उचित परिचालन हुन नसक्दा काठमाडौँ, तानसेनजस्ता सहरमा सधैँ पानीको अभाव भएको देखिन्छ। पर्यटकीय नगरी पोखरामा सरसफाइ र खानेपानी उचित व्यवस्थापन गर्न नसकेको अवस्था छ। फोहर पदार्थहरू ठाउँ-ठाउँमा थुप्रिनु, सेती नदी, फिर्के, बुलौदी, फेवातालमा जस्ता जलाशयमा ठोस फोहर प्लाष्टिकजन्य पदार्थ फाल्ने, ढल मिसाउने गर्नाले दुषितपना बढ्नुका साथै पोखराको सौर्न्दर्यमा ह्रास आएको देखिन्छ। खानेपानीको मुहान मर्दीखोला (दुषित र असुरक्षित अवस्थामा देखिनु) धारामा वितरण गरिएको पानीमा हिलो, पातपतिङ्गर मिसिएको अवस्था छ, हाम्रो नगरपालिकामा प्राइभेट रुपमा बोरिङ गरी निकालिएको जमिन मुनिको पानी, जार, बोतलमा उपलब्ध हुने खानेपानी कति स्वस्थकर छ, यथेष्ट मात्रामा जलस्रोत भएता पनि किन जनता चको रुपमा ट्याङकरको पानी किन्न बाध्य छन् यसबारे सम्बन्धित निकायले समयमा नै ध्यान दिनुपर्ने देखिन्छ। वितरण गरिँदै आएको जलसम्पदा हाम्रा सम्पत्ति हुन्। यिनलाई प्रदूषण हुनबाट बचाउनु हामी सबैको कर्तव्य हो। समयमा नै यसबारे सचेत भइ सरसफाइमा ध्यान दिएमा वर्षातको मौसममा बढी देखा पर्ने झाडापखाला, टाइफाइड, कमलपित्तजस्ता रोगबाट बच्न बचाउन सकिन्छ। सबैले सरसफाइमा ध्यान दिएमा स्वास्थ्य जीवनयापन गर्न सकिन्छ। समयमा नै सचेत भएमा बाग्मती, फिर्के, बुलौदीजस्ता सरसफाइ अभियान भविष्यमा सञ्चालन गर्नु पर्ने आवश्यकता आउने छैन।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै