पहाडी र मधेसीको समस्या एउटै हो

आदर्श समाज सम्वाददाता
पौष २०, २०७२

हाम्रो देश नेपाल उत्तर-दक्षिण, भौगोलिकरूपले हिमाली, पहाडी र तराई क्षेत्रमा विभाजित छ। यहाँका मान्छेको संस्कार-सांस्कृति -धार्मिकबाहेक) त्यही भौगोलिक बनावट र हावापानी अनुसार विकास भएको छ। उदाहरणका लागि पहिरनको कुरा गरौँ: तराईबासीले गर्मी धेरै हुने हुँदा हलुका खाले सुती कपडाको धोतीकुथा लाउँछन् भने आइमाइले सारी र थुटेचोलो (ब्लाउज) लगाउँछन्। पहाडवासीले न धेरै गर्मी न धेरै जाडो हुने भएकोले अलिकति बाक्लो कपडाको कछाड र भोटो लाउँछन् र आइमाइले गुन्युचोलो लाउँछन्। हिमाली प्रदेशमा धेरै जाडो हुने हुनाले लोग्नेमान्छे र आइमाइ दुबैले बाक्लो कपडाको बख्खु कुमदेखि पैतलासम्म आउने र पैतालादेखि घुँडासम्म आउने दोचा लाउँछन्। त्यसरी नै खानपान, रीतिरिवाज र सामाजिक संस्कार-सांस्कृति पनि, तीन प्रदेशका वासिन्दामा, त्यहीअनुसार आफ्नो मौलिकतामा विकास भएको छ। यी सबै मिलेर विविधतामा एकता भएको नेपाली राष्ट्रियता बनेको छ। तराईबासीलाई नेपाली शब्दअनुसार तराइली र आजकाल मधेसी भनिन्छ भने पहाडवासीलाई पहाडी र हिमाल वासीलाई हिमाली भनिन्छ। यो विविधता एकताको अभिन्न अङ्ग हो। सत्य, शिव र सुन्दर तीन यथार्थको प्रतिकका रूपमा तराई, पहाडी र हिमाली प्रदेश र यहाँका जातिहरूको मानवीय संस्कार, सांस्कृति विभिन्न रङ्का फूलहरूले बनेको सुन्दर फूलको मालाजस्तै नेपाल र नेपाली राष्ट्रियताको सुन्दर पहिचान हो। यस्तो पहिचान भएको देश विश्वमा अरु छैनन्।

२०६२/०६३ को जनआन्दोलनपछि तराई प्रदेशमा पहाडी र मधिसे भन्ने विभाजित मानसिकताको आवाज गुञ्जायमान भइरहेछ। अहिले तराइमा चलिरहेको आन्दोलनको मुख्य आवाज पहाडी खस आर्य जातिले, पहिलेदेखि काठमाडौँबाट चलाएको केन्द्रिकृत राज्यसत्ताले तराईलीलाई विभेदमा पारेको, दवाएको, उनीहरूको पहिचानलाई विस्थापित गरेको र समग्रमा राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा सामन्ती प्रशासन र व्यवहारद्वारा अधिकारहिन बनाएको भन्ने आरोप छ। यस्तो हुनाको एकमात्र कारण विभेदकारी ठूलो र सानो जातको संस्कार भएको वर्णयव्यवस्था हो। यो वर्णयव्यवस्थाको आधारमा ब्राहृमणक्षेत्री सम्भ्रान्त-सम्पन्न वर्ग र वैश्य शुद्र असम्भ्रान्त-विपन्न वर्गलाई विकास गरेर वर्ग भेद पनि ल्याएको छ। तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदेयश त्रिपाठीका अनुसार थारु जातिलाई समेत बाहिरबाट आएको आगन्तुक भन्ने र खस आर्य जाति नेपालको रैथाने आदिवासी भन्ने गलत पूर्वाग्रह राखेको भन्ने उनको आरोप छ। खस आर्यहरूले क्षेत्री समाज र ब्राहृमण समाज खोलेर ‘हामी आदिवासी हौँ’ भन्ने पूर्वाग्रही आवाज निकालेकाले लगाएको आरोप यथार्थ देखिएको छ।

उपरोक्त आरोपमा खसआर्य जाति खासगरी हैकमी र कट्टर विभेदकारी वर्णययवस्थावादीहरूले वर्णयव्यवस्था अनुसार उहिलेदेखि काठमाडौँबाट केन्द्रिकृत शासन चलाएको र तराइका आदिवासी थारु दनुवार, सुनार, कुर्मी आदि जातिलाई मात्र होइन पहाडका आदिवासी गुरुङ, मगर, राई, लिम्बू, तामाङ, नेवा आदिमा पनि वर्णययवस्था नै लादेर उनीहरूलाई अस्पृश्य वा अछुत बनाई तराईमा जस्तै पहाडमा पनि शासन चलाउँदै आएका छन्। त्यसैले तराइबासीले पहाडी भनेर आफूजस्तै भेदभावबाट पीडित सबै पहाडका जनतालाई आफूबाट अलग्याउनु मिल्दैन। किनभने दुबैको पीडा र पीडाको स्रोत एउटै हो। यो कुरालाई तराईली आदिवासी सबैले बुझ्नु पर्दछ।

अर्को, बुझ्नुपर्ने कुरा के हो भने, खस आर्य उच्च जाति हौँ भनेर शासन चलाउनेहरू दरवारिया क्षत्री भारदार र पण्डित पुरोहितहरू हुन्। यिनीहरूले आफ्नो सामन्ती शासनको सञ्जाल हिमाल, पहाड, तराईमा, त्यहाँका आदिवासी समाजका नाइकेहरूलाई, शाहराजा र राणा प्रधानमन्त्रीहरूको समयदेखि जगाको तिरो -मालपोत) उठाउने जागिर दिएर तराइमा चौधरी र पहाडमा जिम्वाल वा मुखिया जसता सामन्ती पद दिएर आफ्नो दास बनाउँदै आएको अर्को सत्यतथ्य हो। ती नै दासहरूमार्फत तराई र पहाडका सम्पूर्ण सर्वसाधारण आदिवासीहरूलाई जन्तु, जनावरसरह बनाएर हरेक क्षेत्रमा शोषण गर्दै आएको अर्को यथार्थ हो।

अर्को तथ्य, वास्तवमा खस आर्यहरू नै मुस्लिमहरूको शासनबाट आफ्नो ज्यान र हिन्दूधर्म संस्कार जोगाउन हिन्दूस्तानबाट भागेर आएका हुन्। नेपालमा यिनीहरूले शासन गर्न थालेपछि हिन्दूधर्मको अमानवीय विभेदवादी, ठूलो र सानो जात, शासक र शासित वर्ग भन्ने वर्णययवस्था संस्कार अनुसार शासन चलाएर आदिवासीलाई मात्र होइन, अल्पसङ्ख्यक र नारी समाजलाई समेत अझै विभेदमा पारेको थप यथार्थता हो। उनीहरूको यस्तो अमानवीय संस्कार नेपालमा मात्र होइन हिन्दूस्तानमा अझै पनि छ। हिन्दूस्तान वर्णयेदवादी हिन्दूधर्मको मौलिक स्थल नै हो।

अर्को तथ्य कुरा खस आर्यहरू पहाडमा मात्र छैनन्, तराइमा पनि छन्। यिनीहरू सबै अहिले तराइवासी वा तराइली नभनेर आफूलाई मदिसे भन्दछन्। तर यिनीहरू सर्वसाधारण आदिवासी जनजाति जस्तै अधिकारहिन हुनु परेको छैन। काठमाडौँका लिच्छवी र मल्ल राजाहरूका पालादेखि अहिलेको गणतन्त्र नेपालमा समेत दरबारका भारदार र पण्डित पुरोहित हुँदै अहिले राज्यको ठूलाठूला पद र नेतृत्वमा यिनै आर्य, बाहुन क्षेत्रीहरू छन्।

लिच्छवी राजा मानदेवले चार जना ब्राहृमणहरूको निर्देशनमा विभेदकारी वर्णययवस्था नभएको उपत्यकाको नेवा समाजमा वर्णयव्यवस्था चलाएको थियो। त्यही परम्परालाई मल्ल राजा जयस्थिति मल्लले कीर्तिनाथ उपाध्याय, रघुनाथ झा, रामनाथ झा, श्रीनाथ भट्ट र महिनाथ भट्टको सल्लाहमा ठूलो जात र सानो जात भन्ने भेदभाव भएको वर्णयव्यवस्थामा आधारित कानुन बनाएर एक धर्मको निरङ्कुश शासन चलाए। त्यसपछिका शाह राजाहरू, राणा प्रधानमन्त्रीहरू र अहिले ठूला ओहदाधारी बाहुन क्षेत्रीले, नेपाल लोकतान्त्रिक गणतन्त्र भइसक्दा पनि त्यही भावनाले शासन चलाउँदै छन्। उनीहरूको पुच्छर समातेर आदिवासी समाजका धेरै सभ्रान्त नाइकेहरू हिन्दूवादी वर्णयव्यवस्थाको भारी बोकेर तीनै खस आर्य जातिका सन्तानलाई सघाउँदै छन्, जसले गर्दा आदिवासी र अल्पसङ्ख्यहरूले आफ्नै भूमीमा आफ्नो पहिचानबाट विस्थापित हुनु परेको छ। त्यसैले पहाड र तराइमा आदिवासीहरूले आफ्नो इतिहास, भाषा र संस्कृतिको संरक्षण, सर्ंबर्धन र विकास गर्ने स्वायत्तताको अधिकार खोज्नु, आन्दोलन गर्नु स्वाभाविक हो, मानव अधिकार हो। तर शासनमा बस्ने र राजनीति गर्ने नेताहरूले मानवताको युग अनुसार नयाँ बोली त बोल्ने गरे, तर व्यवहारमा पुरानै पुखौर्ली नियत कायम राखे। नयाँ बोतलमा पुरानो रक्सी भनेजस्तै तथा हिन्दूवादी भाजपाका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आउँदा ‘सार्वभौमसत्ता सम्पन्न देश नेपाल’ भने पनि नेपालमाथि उनले गरेको तीन महिना लामो निकृष्ट नाकाबन्दी नीतिको विश्वभरि टीकाटिप्पणी हुँदा पनि, लाजै नमानी नियतबस नाकाबन्दी जारी राखेजस्तै सत्तामा बस्ने आर्य मूलका कट्टर बाहुनक्षेत्रले पनि मोदीको जस्तै नियत राखेका छन्। त्यसैको परिणाम पहाड र तराइमा आदिवासीले आन्दोलन गर्नु परेको हो।

पहाडका मात्र होइन् तराईकै कट्टर वर्णयव्यवस्थावादी, सम्पन्न सम्भ्रान्त बाहुनक्षेत्रीहरू पनि राणाकाल र पञ्चायत कालदेखि आजसम्म राज्यको नीति निर्माण तहमा बसेर विभेदकारी वर्णयव्यवस्थाको जगमा महल बनाएर राज्य चलाएका थिए र अहिले पनि चलाउँदै छन्। उनीहरूका चम्चा भएका आदिवासी नाइकेहरू चौधरी, जिम्वाल, सामन्त-ठूलाठालूहरू पनि मन्त्री सचिव तथा न्यायाधीश पदमा समेत पुगेका थिए। जस्तैः परशुनारायण चौधरी, हृदयेश त्रिपाठी, दिवंगत गजेन्द्रनारायण सिंह, विजयकुमार गच्छादार उपेन्द्र यादव, राजेन्द्र महतो आदि। हालका मधेसवादी आन्दोलनका नेताहरूले त्यस बेला तराइली आदिवासीलाई विभेदमा पारेको र हकअधिकार नदिएको भनेर सरकारमा किन आवाज उठाएनन् ? यहाँसम्म कि गजेन्द्रनारायण सिंह र पूर्व उपराष्ट्रपति परमानन्द झाले संसदमा मैथिली भाषा नबोलेर, हिन्दी भाषामा बोल्नु मिथिलाजस्तो भाषा, सांस्कृति र इतिहासको पहिचानलाई हेपेको, कुल्चेको र विस्थापित गरेको प्रमाण हो। के यो खस आर्यवादी नियत होइन र ? अझै पनि हिन्दी भाषाको माध्यमबाट थारु आदिवासीको नाम लिएर मधेसी आन्दोलन चर्काउनुको नियत के हो ? यसको उत्तर हो सत्तामा पुग्नु। यो कुरा, घोषित संविधानलाई बहिष्कार गरेर राजिनामा दिएका ती नेताहरू प्रधानमन्त्रीको चुनावमा सुशील कोइरालाई भोट दिएर संसदमा सहभागी हुनु, पदको लागि आन्दोलन गरेको हो भन्ने तथ्य र्छलङ्ग भएको छ।

लोकतान्त्रिक गणतन्त्रमा जनताको सार्वभौकिता र राज्यशक्ति स्थापित भएको छ। यस्तो बेला घरको समस्या घरभित्रै मिलाउन कम्मर नकसेर, विदेशीको गुहारमा तराइ र पहाडका जनतालाई, नाकाबन्दी गरेर कहिल्यै अनुभव नगरेको कष्टकर र अभावको जीवन गुजार्न बाध्य पार्न विदेशीलाई किन मौका दिएको – विदेशीको स्वार्थ पूरा गर्न किन सहयोग गरेको – यो प्रश्नको उत्तर हो : जस्तोसुकै गण्यमान्य नेता कहलिए पनि सरकारमा पद पाउने स्वार्थ लिएको हुँदा उहाँहरूको घैटोमा घाम लागेन। आदिवासी अल्पसङ्ख्यक र नारी समाजको मानवअधिकार, स्वतन्त्रता र समानताको लागि लड्ने नियत उहाँहरूको मनमस्तिष्कमा आउँदै आएन। तर जनताको नाममा जनतालाई मृत्युशैय्यामा होमेर आफ्नो स्वार्थ पूरा गर्ने सोचमात्र उनीहरूमा आइरह्यो।

गम्भीर कुरा के छ भने, तराईका बाहुनक्षेत्री र उनीहरूका चम्चा आदिवासी नाइकेहरू जसले आफूलाई मौलिक चिनारी तराइली नभनी मधिसे भन्दछन्। यिनीहरूले भविष्यमा कुनै बेला अनुकूल परिस्थिति पाएपछि, तराई प्रदेशलाई सिक्किमलाई हिन्दूस्तानमा मिलाएजस्तै मिलाउन सक्छन्। तराईका शोषित पीडित आदिवासी र अल्पसङ्ख्यक जातिहरूले यो कुरा बुझ्नु पर्छ। अर्को कुरा के हो भने तराई हिन्दूस्तानमा गए पनि पहाड कहिल्यै जाँदैन। हिन्दूस्तानमा गाभिए पनि हिन्दुस्तानीहरूको हेपाइ प्रवृत्तिले तराईका आदिवासीहरूलाई कहिल्यै ससम्मान आफ्नो बराबरीमा लिने छैन। यो तथ्य कट्टर हिन्दूस्तानका खासगरी भाजपाका ब्राहृमण क्षेत्री आर्य सम्भ्रान्तले त्यहाँका सर्वसाधारण आदिवासी, मुस्लिम र दलितप्रति अहिलेसम्म गरिएको व्यवहारबाट स्पष्ट हुन्छ। त्यसैले हामी नेपाली पहाडी र मधिसे नभनी तराइली, पहाडी र हिमाली, अनुपम सुन्दरतामा गौरवसाथ रमाएर, फूलको माला भएर नेपाली राष्ट्रियता सगरमाथाको शीरमा पुर्‍याएर विश्वलाई चिनाऔँ। यसको लागि नेपालमै सङघर्ष गरौँ, विदेशी वाघको इशारामा नाच्ने र डराउने नबनौँ। मुख्य कुरा त पहाड र तराईका खान्दानी भारदार, आर्य बाहुन क्षत्री र उनीहरूका वंशको सोचाइमा समानता, स्वतन्त्रता र देशप्रति ममताको उज्यालो घाम, उनीहरूको घैटोमा प्रवेश गराऔँ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width