नेपाल सुन्दर, शान्त, विशाल

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७२

महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘के नेपाल सानो छ’ भन्ने निबन्धमा ‘नेपाल सुन्दर, शान्त, विशाल’ भनेका छन्। मेरो मनमा प्रश्न उठ्छ, नेपाल साच्चै नै सुन्दर, शान्त, विशाल छ त ?’ नेपाली समाज वर्ण व्यवस्था र पितृ सत्तात्मक संस्कार-सांस्कृतिका विभिन्न विभेदले कुण्ठित भएको अशान्त मानसिकता र ठूलो जात मानिनेले सानो जात मानिनेलाई सामाजिक, राजनीतिक र आर्थिक शोषण गरेर असुन्दर अर्थात् कुरुप बनाएको नेपाललाई कसरी सुन्दर, शान्त, विशाल भन्न सकिन्छ र ?

‘मै खाऊँ, मै लाऊँ, सुख-सयल वा मोज म गरूँ, मै हासूँ, मै नाचूँ, अरु सब मरून् दुर्बलहरू, भनी दाह्रा धस्ने अबुझ शठदेखि छक्क परी, चिता खित्का छोडी अभयसित हास्यो मरिमरी।’ तरुण तपसीमा आफ्ना अनुभव-अनुभूतिलाई कविशिरोमणि लेखनाथको मन-मस्तिष्कमा प्रादुर्भाव गर्ने, सङ्कुचित, सम्भ्रान्त र सामन्त वर्गको शोषणले सताइएका दुर्बल र निरीह जनता भएको नेपाललाई सुन्दर, शान्त, विशाल भन्न मिल्छ ? त्यसमाथि आजको संघात्मक, लोकतान्त्रिक गणतन्त्र भइसकेको अवस्थामा पनि राजनीतिक पार्टीर पार्टीला नेता तथा कार्यकर्ताले समाज र देशको भविष्यलाई अन्धकारमा पारेर राणा शासक र शाह वंशी राजाले जस्तै सत्ता र सम्पत्तिका लागि जस्तोसुकै वेइमानी र धोका दिन पनि कम्मर कस्ने, लाजशरम नमान्ने नेताको क्रियाकलापले विरोध, व्रि्रोह, बन्द, हडताल, हत्या, हिंसाले छिया-छिया पारेको देशलाई कसरी ‘सुन्दर, शान्त र विशाल’ भन्ने ? अझै त्यसमाथि ०७२ सालको महाभूकम्पबाट भोक-रोग र मुटु चिस्याउने जाडोले अकालमै ज्यान गुमाएका भूकम्प पीडित र नाकाबन्दीले अभावग्रस्त भइ कष्टकर जीवन बिताइरहेका जनताप्रति कत्ति पनि संवेदनशील नभइ, उत्तरदायित्व नदेखाई तलब, भत्ता र सुविधा लिने, राज्यसत्ता चलाउने नेता र नाकाबान्दी गर्ने अगुवाको नियतबाट भताभुङ भएको नेपाललाई कसरी ‘सुन्दर, शान्त, विशाल’ भनी दर्जा दिने ?

मनमा यस्ता प्रश्न उठे पनि गम्भीर भएर महाकवि देवकोटाको अभिव्यक्तिको सागरभित्र डुबल्की मार्ने प्रेरणा जागृत भई नै रहृयो। महाकविको यस्तो अभिव्यक्ति नेपालमा भएका स्रोतको रसपान नगरीकन, अनुभव नगरी भनिएको पक्का पनि होइन भन्ने विश्वास भइ नै रहृयो।

नेपाल प्राकृतिक रुपमा सत्य, शिव र सुन्दरको तीन सिँढी जस्तै तराई, पहाड र हिमाली प्रदेश भएको देश हो। यी प्रदेशका भिन्नाभिन्नै हावापानी र त्यसले रचना गरेको विविधता भएका वनस्पति, पशुपंक्षी, उद्भीद् तथा साँझ-बिहानै अद्वितीय छटाले अलङ्कृत हुने हिमालय शृङ्खला, हरियाली वातावरण आदिको समष्टिले सानो तर सम्पूर्ण संसार बनेके छ नेपाल। हिमालमा जन्मेर पहाडी तरेलीमा क्रीडा गर्दै, बाङ्गाटिङ्गा मार्ग बनाउँदै कलकल आवाजमा रमणीय दृश्य सजाउँदै अविरल बगिरहेका नदी र छङछङ गर्दै झरिरहेका झरना सबैले अनुपम सुन्दरताको संसार बनेर बसेको देश यस अर्थले सुन्दर, शान्त र विशाल रहेछ भन्ने महाकवि देवकोटाको अभिव्यक्ति व्यञ्जित भएको रहेछ भन्ने तथ्य ममा जागृत भयो। कवि शिरोमणि लेखनाथको उपरोक्त ‘मै खाऊँ, मैलाऊँ ……. अरु सब मरुन् दुर्वलहरू’ भन्ने कविताबाट व्यथित भएको मेरो मनमस्तिष्कलाई महाकविको भनाइबाट सान्त्वना प्राप्त भयो र नेपालको प्रकृति जस्तै नेपाली समाज पनि ‘सुन्दर, शान्त, विशाल’ भइदिए सुनमा सुगन्ध भए हुने थियो।

यही सर्न्दर्भमा ४२ वर्षअघि शिक्षामा स्नातक गर्न एक वर्ष -सन् १९७४(७५) सम्म बेलायत बस्दाको सम्झना पनि मलाई आयो। माथि उल्लेख गरेको नेपालको रमणीय प्राकृतिक विविधताका अगाडि बेलायतको प्राकृतिक वातावरण मलाई एकसरो र एकोहोरो लाग्थ्यो। नेपालमा जस्तो ऋतु परिवर्तन भई ऋतु अनुसार विविध रंगरोगनमा फैलिएको प्राकृतिक वातावरण त्यहाँ पाउन सकिएन। वर्षैभरि हिउँद जस्तै र पटयार लाग्दो सिमसिमे वषा, घाम देख्नै नपाइने दिनसँग जबर्जस्ती बस्नु पर्दा कहिले नेपाल फकूँ भन्ने चाहना बढ्थ्यो। तर नेपाली समाजको सङ्कुचित सोचाइ, भेदभावपूर्ण व्यवहार देख्दा बेलायतमै बस्न पाए हुन्थ्यो भन्ने पनि लाग्थ्यो। किनभने त्यहाँको समाजमा जातभात भन्ने त छँदै थिएन, मान्छेको सोचाइ पनि सङ्कुचित र हैकमी थिएन। आफ्नो काम गर्दा अरूलाई बाधा पर्छ कि भनी पहिल्यै उनीहरू सोच्थे। यो उनीहरूको नैतिक सम्पत्ति थियो। ठगी, बेइमानी, घुसखोरी, भ्रष्टाचार त्यो समाजमा छँदै थिएन। यथार्थमा त्यहाँको समाज सुन्दर, शान्त र विशाल भावनाको थियो। यहाँसम्म कि धनी वा सम्भ्रान्तले उनीहरूभन्दा गरिब वा सर्वसाधारणलाई शोषण गर्ने त कुरै छैन, हेप्ने पनि गर्दैनथ्यो। बरु आदर गर्दथे। यस्ता उदाहरण मैले धेरै देखे, बुझेँ। त्यसमध्ये जनस्तर र राज्य स्तरमा देखिएका दुर्इटा उदाहरण यहाँ प्रस्तुत गर्दछु।

हामी पढ्ने लिड्स युनिभर्सिटीले विदेशी विद्यार्थीलाई ‘होमसिक’ नहोस् भनेर चार-पाँच जनाको समूह बनाएर एक प्रोफेसरको जिम्मा लगाइएको थियो। मेरो ग्रुपको टयुटर मिष्टर डिएल ट्रसलर थिए। उनले बेला-बेलामा हामीलाई पारिवारिक वातावरणमा राखेर कहिले लञ्च, कहिले डिनर खुवाउथे। एक पटक हामी उनको कारमा बसेर उनको घरतिर गइरहेका थियौँ। बाटोमा जेब्रा क्रस आयो। जेब्रा क्रसमा पैदलयात्री थिएनन् र ट्राफिक लाइटले जाने अनुमति पनि दिएको थियो। तर उनले जेब्रा क्रसनेर पुग्नेबित्तिकै कारको गति कम गरे। मेरो जिज्ञासु बानीले गर्दा मैले उहाँलाई सोधेँ, ‘जेब्रा क्रसमा हिड्ने मान्छे पनि छैनन्, ट्राफिक लाइटले अनुमति पनि दिएको छ। तर तपाईले कारको स्पिड किन कम गर्नु भएको ?’ उनले भने, ‘गेहेन्द्र, जेब्रा क्रस पैदल यात्रीको बाटो हो। मैले उनीहरूको अधिकारलाई आदर गर्नुपर्छ। २-४ सेकेण्ड स्पिड कम गरेर के नोक्सान हुन्छ। जेब्रा क्रस कटेपछि फेरि म आफ्नो स्पिड लिइ हाल्छु नि।’ बेलायतीको सोच र जीवनशैली जस्तै नेपालीमा जनतालाई आदर गर्ने सोच र जीवनशैली कहिले विकास हुने होला भन्ने कुरा खेलाउँदै म प्रोफेसरको घर पुगेँ। बेलायती समाजको यो अनुपम उदाहरण हो। यस्तो समाज पाउनका लागि नेपालमा सबैभन्दा पहिले हुनेखाने र अधिकारयुक्त वर्गले विपन्न वर्गलाई शोषण नगर्ने बेलायती समाजको संस्कार विकास गर्नुपर्छ।

दोस्रो उदाहरण हो, राज्य स्तरमा भएको विकसित र मानवीय नीति-नियम। राज्य वा सरकारको धारणामा जुनसुकै व्यक्तिले पनि राज्यको जुनसुकै पद, मन्त्रालय वा अफिसमा राष्ट्रसेवक पदमा रहेर काम गरेपछि उनीहरूले राज्यकै सेवा गरेको छ भनेर नोकरीबाट अवकास पाउँदा जहाँजहाँ काम गरेको छ, ती अवधि सबै जोडेर पेन्सन दिने गर्दछ। तर नेपालमा त्यस्तो विकसित अवधारणा आएकै छैन। त्यसको उदाहरणमा मेरै कुरा यहाँ प्रस्तुत गर्दछु।

मैले प्रवेशिका उत्तीर्ण गरेपछि २०१४ सालमा पोखरा-१ को राष्ट्रिय माविमा काम गरेँ र त्यसपछि निरन्तर काम गर्दै आएको थिएँ। अन्त्यमा मेरो उमेर ४५ वर्ष नाघेपछि २०४२ सालमा त्रिभुवन युनिभर्सिटीमा सहायक प्राध्यापकका रुपमा प्रवेश गरेँ। मेरो उमेर ६३ वर्ष पूरा हुँदा युनिभर्सिटीको नीति अनुसार २०५९ सालमा अनिवार्य अवकासमा पर्नुपर्ने बाध्यता भयो। तर युनिभर्सिटीमा मेरो सेवा १७ वर्ष तीन महिनामात्र भयो, जसले गर्दा मलाई पेन्सन दिइएन। यसबाट स्पष्ट हुन्छ कि नेपाली समाज र सरकारको सोच कति पछाडि परेको रहेछ। २०१४ सालदेखिको मेरो सेवा जोडेको भए ५० वर्षभन्दा बढी हुने थियो। तर युनिभर्सिटीले त्यसको महत्व नै राखेन। म जस्तै राज्यबाट अन्यायमा पर्ने नेपालमा धेरै छन्। अब उनीहरूका लागि नेपाल सुन्दर, शान्त, विशाल भयो त, पक्का पनि भएन।

जनस्तरमा जनतालाई सम्मान गर्ने सोच र सांस्कृति व्यवहृत हुनुपर्छ भने हाम्रो राष्ट्रिय स्तरमा समाज र सरकारको संस्कार तथा नीतिनियम न्यायपूर्ण हुनुपर्छ। तबमात्र प्रकृतिले बनाएको ‘नेपाल सुन्दर, शान्त, विशाल’भन्ने महाकविको अनुभूति साकार हुन्छ भने कविशिरोमणिको “मै खाऊँ, मै लाऊँ .. अरु सब मरून् दुर्बलहरू’ भन्ने पीडा अन्त्य हुन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post