दिवंगत दीपेन्द्रको प्रसङ्ग र बालमनोविज्ञा

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७३

तत्कालीन युवराज दीपेन्द्र नौ वर्षको उमेरमा बूढानीलकण्ठ स्कूलमा २०३६ सालमा कक्षा ४ मा भर्ना भए। मैले उनलाई कक्षा ४ देखि कक्षा स७ मा छँदासम्म अर्थात् ०३६ सालदेखि २०४० सालसम्म पढाएको थिएँ। यस अवधिमा मैले उनको बाल्यकाल प्रत्यक्ष अनुभव गरेको छु। ‘मैले देखेको दरबार’ पुस्तकमा लेखक पूर्व सैनिक सचिव रथी विवेककुमार शाहले उक्त पुस्तकमा दीपेन्द्रको बाल्यकाल र उनको स्वभावको चित्रण गरेको सर्न्दर्भ र मेरो अनुभव विरोधाभास भएको देखिन्छ। तर पनि बालमनोविज्ञान, मेरो अनुभव, अध्ययन र अनुसन्धानको क्षेत्र भएकाले भित्री आँखा खोल्ने खालको लागेकाले, थोरै चर्चा, छलफल गर्न लागेको छु। दीपेन्द्र राज खानदानका भएकालेभन्दा पनि बालमनोविज्ञानको प्रसङ्गमा हामी संरक्षकका लागि धेरै नै उपयोगी हुनेछ भन्ने आशा लिएको छु।

विवेककुमार शाह भन्नुहुन्छ, ‘म मौसुफ सरकार (दीपेन्द्र)लाई मौसुफ सानै छँदादेखि चिन्दथेँ। सरकारलाई नजिकबाट चिनेको २०३१ साल वैशाखदेखि हो, जब मैले राजप्रसाद सेवामा आवधिक शाही पार्श्ववर्तीका रुपमा काम सुरु गरेको थिएँ।’ -पृष्ठ ३९) यस अर्थले दीपेन्द्रको बाल्यकालको अवस्था, स्वभाव र व्यवहारबारे उहाँले जे-जति व्यक्त गर्नु भएको छ, त्यो यथार्थ र आधिकारिक छ भन्ने विश्वास मलाई भएको छ। उहाँले दीपेन्द्रको त्यस बेलाको सर्न्दर्भमा लेख्नु भएको छ, सरकार दीपेन्द्रले सानैदेखि आमाबुवाको माया कस्तो हुन्छ भन्ने महसुस गर्न पाइबक्सेन। आमाबुवाको सामिप्यबाट वञ्चित युवराजाधिराज त्यति बेला शाही रनर र नानीहरूबाट फुत्केरबाहिर निस्केपछि एडिसी अफिस आइबक्सन्थ्यो। त्यति थियो सरकारको जाने, घुम्ने र खेल्ने ठाउँ। त्यति बेला दीपेन्द्र सरकारको कस्तो बानी विकास भइसकेको थियो भने कुनै ठूलो मान्छेलाई एक मुक्का हान्ने अनि त्यो मान्छे भुइँमा लडेर छटपट गरेकोमा मज्जा लिने। फेरि सरकारले त्यसैलाई गालामा झापड हान्नुपर्ने, फेरि त्यो मान्छे भुइँमा लडेर रुनुपर्ने। अनि सरकार मज्जा लिएर हास्ने। सरकारमा बच्चा साथीलाई समेत झापड र मुक्का हानेर ढलाउनैपर्ने मानसिकता थियो। सरकारमा इगो’ र हठीपन बढ्दै गएको थियो’ भन्ने उहाँको अनुभव रहेछ। (पृष्ठ ३९-४०)

शाहले अनुभव गरेको जस्तो स्वभाव र व्यवहार म बूढानीलकण्ठ स्कुलको सेवामा रहँदा र बालक दीपेन्द्रको सामिप्यमा बस्दासम्म उहाँले गर्नुभएको अनुभव जस्तै मैले गरिनँ, जसले गर्दा मलाई आर्श्चर्य लागेको छ। शाहज्यूको अनुभवविपरीत मैले दीपेन्द्रको स्वभाव र व्यवहार शान्त, भद्र र बच्चा साथीहरूसँग मिलनसार र सहयोगी भएको पाएँ। नारायणहिटी दरबारभित्र देखाउने उनको व्यवहारजस्तै ठूला मान्छेलाई मुक्का हान्नेमात्र होइन, अपमानजनक व्यवहार गरेकोसमेत कहिल्यै देखिनँ। काम, कुरा र भनाइमा हठी भएको कहिल्यै पाइन। बरु अनुशासित र आज्ञाकारी भएको मैले अनुभव गरेको थिएँ। बच्चा, साथीहरूसँग पनि रमाइलो गरेर खेलेर बस्थे, तर कसैलाई पिटेको र झगडा गरेकोसम्म पनि देखिनँ।

एकदिनको कुरा हो, नयाँ सेसन सुरु हुने पूर्वसन्ध्यामा पोखराबाट शुल्क तिरेर पढ्ने कोटामा छानिएका एक केटालाई उसको बाबुले स्कुलमा ल्याएर छोडेर गएपछि, त्यो केटो स्कूलमा बस्न नमानेर करिब एक घण्टासम्म पिच बाटोमै लडीबुडी गरेर चिच्याइचिच्याई रुँदै गरेको थियो। त्यो देखेपछि म पोखराको भएको नाताले केटालाई सान्त्वना दिएर शान्त गर्नुपर्‍यो भनेर त्यो रात उसलाई मेरै क्वाटरमा राख्छु भनेर बाटोमा लिन गएँ। त्यहाँ दीपेन्द्रसमेत अरु २-४ जना केटाको साथमा उसको हाउस मिस्टे्रस पनि थियो। त्यस बेला दीपेन्द्रले त्यो केटोलाई, हामीलाई हाम्रा बुवाहरूले पढ्नलाई यहाँ स्कूलमा छोडेको हो। हामीले यहाँ बसेर राम्ररी पढ्नुपर्छ। बेलामा घर पनि जान पाइन्छ’ भनेर सम्झाइरहेको देखेको-सुनेको थिएँ। उनको स्वभावमा ठट्टा गर्ने बानी भएको भने मैले अनुभव गरेको छु। एक पटक साँझ पख म उनीहरूसँग बसेर कुरा गर्दै थिए। दीपेन्द्रले मलाई सम्बोधन गरेर यस्तो प्रश्न गरेका थिए ‘गेहेन्द्र सर, पोखरामा फेवाताल छ भने काठमाडौंमा के ताल छ – भन्नुस त’ काठमाडौँमा कुनै तालै छैन, यो प्रश्नको जवाफ मैले दिनै सकिन। अनि उनी खित्का छोडी हास्दै बोले, ‘सरलाई त्यति पनि थाहा छैन। पोखरामा फेवाताल छ भने काठमाडौंमा हड्ताल छ।’ मलाई यो वातावरण बडो रसिलो लाग्यो र म पनि हाँस्दै उसलाई धाप दिएर भने ‘स्यावास दीपेन्द्र, मलाई तिमीले खुबै छक्यायौं।’

दरवारभित्रको कुरा मलाई थाहा छैन। तर उहाँले प्रस्तुत गर्नु भएको जानकारी अनुसार दीपेन्द्रले  आफ्ना बाबुआमाको सामिप्य र माया-ममता पाउँदै पाएन भने पनि अत्युक्ति हुँदैनजस्तो छ। उहाँ लेख्नुहुन्छ, दीपेन्द्र सरकार जन्मेको डेढ महिना जतिमात्र ऐर्श्वर्य सरकारसँग सुतिबक्सेको होला। त्यसपछि पूरै नानीहरूले हुर्काए। अझ सरकारको पास्नीपछि त सरकारलाई हुर्काउने रेखदेख गर्ने सम्पूर्ण काम नानीहरू र शाही रनरहरूकै जिम्मा गयो। आमाबुबाबाट माया नपाएको कुरा दीपेन्द्र सरकारले हुर्र्किसकेपछि मसँग धेरै पटक व्यक्त गरिबस्केको थियो।’ यो कुरा वडो संवेदनशील छ। जीव, जनावर जगतमा पनि बच्चाहरू बाबुआमाको माया, ममतामा हुर्कन्छन् र जीवन जगतबारे सिक्छन्। यो बच्चाहरूको अधिकार हो। पारिवारिक र राष्ट्रिय सामाजिक जीवन सिक्न र बुझ्नलाई मान्छेका बालबच्चालाई बाबुआमाको सामिप्य र माया, ममता झनै आवश्यक र महत्वपूर्ण हुन्छ। यो कुरालाई कलिलो उमेरदेखि बञ्चित रहनु, दीपेन्द्रप्रति अन्याय नै भएको ठहरिन्छ।

‘खास गरी वडामहारानी ऐर्श्वर्यसँग सरकार -दीपेन्द्र) को सम्बन्ध धेरै टाढा हुँदै गएको  थियो, उहाँ अझै थप्नुहुन्छ, ‘त्यसमाथि सरकार दुवै जना कडा दिमागको -स्ट्र·हेडेड)।…दुवैजना एक अर्कासँग नझुक्ने र पटक्कै लचिलो नहुने।’ -पृ. ४१) दीपेन्द्र कक्षा ३ सम्म काडमाडौंको त्रिपुरेश्वरस्थित कान्ति इश्वरी शिशु विद्यालयमा अध्ययन गर्दाको कुरा लेख्नुहुन्छ, दीपेन्द्र सरकार स्कुल जान   नचाहने। ऐर्श्वर्य सरकारलाई जसरी भएपनि पठाउनै पर्ने। अनि दीपेन्द्र सरकार जान्न भनेर जिद्दी गर्ने ऐर्श्वर्य सरकार जानैपर्छ भनेर चको स्वरमा हप्काइ बक्सने। त्यस क्रममा मौसुफबाट दीपेन्द्र सरकारलाई गालामा झापड लगाएको पनि मैले कैयौँ पटक देखेको छु। एडिसी अफिसमा आएर टेवलको सिसा फुटाइदिने। कलम भाँचिदिने असामान्य उपध्रो सिवाय अरु केही नगर्ने स्वभाव थियो सरकारको।” -पृ. ४१) उहाँले अझै लेख्नु भएको छ, ‘बूढानीलकण्ठ स्कुल सवारी भएपछि सरकारको उपध्रो घट्छ भनको त झनै बढ्यो। युवराजधिराजको हिसाबले पनि सरकारले स्कुलमा अरु विद्यार्थीको तुलनामा अलिक ज्यादै नै स्वतन्त्रता र अवसर पाइबक्स्यो। सरकारका बदमासी बढे। त्यही बेलादेखि नै रक्सी खान सुरु गरेको सूचना हामीले पाएका थियौँ। ‘ग्याङ फाइट’ मा टिम लिडर नै भएर गएको भन्ने खबर आइरहन्थ्यो।’ -पृ. ४१-४२)

उपरोक्त भनाइ सम्बन्धमा मेरो प्रत्यक्ष अनुभव यस्तो छ, दीपेन्द्रलाई बोर्डर बनाउनुभन्दा केही दिनअघि हेडमास्टर केनजोन्सले स्कुल परिवार सबैलाई जम्मा गरेर यस्तो भनेका थिए,  राजा वीरेन्द्रले दीपेन्द्रलाई कुनै औपचारिक सम्बोधन र सुविधा वा स्वतन्त्रता दिने व्यवहार नगर्ने, जनताका छोराहरू सरह नै गर्ने, स्कुलको नियम पालन गर्न लगाउने भन्ने निर्देशन आएको छ।’ हामीले त्यही अनुसार गर्‍यौं।  त्यसैले बूढानीलकण्ठमा दीपेन्द्रले ‘अलिक ज्यादै नै स्वतन्त्रता र अवसर पाइबक्स्यो’ भन्ने उहाँको भनाई मेल खाँदैन। म बूढानीलकण्ठमा छउन्जेल अर्थात् २०४० सालसम्म ग्याङ्फाइटमा टिम लिडर, रक्सी खाने घटना भएको मात्र होइन, ग्याङ्फाइट घटना घटेकोसमेत मलाई थाहा छैन। तर मैले छोडेपछिको कुरा थाहा छैन। तैपनि स्कुलको सिस्टम र अनुशासनको वातावरणमा त्यस्तो हुनु नपर्ने हो।

रानी ऐर्श्वर्यको बच्चा दीपेन्द्रप्रतिको व्यवहारले दीपेन्द्रको व्यक्तित्व, शाहज्यूका अनुसार नकारात्मक बाटोतिर विकसित हुनुमा ठूलो भूमिका खेलेको देखिन्छ। बावुको भन्दा आमाको सुमधुर सामिप्य, माया र ममताको व्यवहार बच्चाले पहिले पाउने प्राकृतिक नियम छ र बच्चाले धेरै कुरा आमाबाट नै पहिले सिक्छ। बाबुसँग घुलमिल हुन त पारिवारिक वातावरण आवश्यक हुन्छ। त्यो बेला बाबुको सामिप्यता, माया ममताको पनि आवश्यकता हुन्छ। यसरी बच्चाको सकारात्मक व्यक्तित्व विकास गर्न बाबुआमा र परिवार तथा समाजको ठूलो उत्तरदायित्व हुन्छ भन्ने कुरा दीपेन्द्रको पारिवारिक दरवारिया जीवनबाट सिकेर, सजग रहेर सबै अभिभावक आफ्ना सन्तानप्रति सकारात्मक हुनुपर्छ भन्ने मेरो आग्रह छ। मेरो अनुभव र अनुसन्धानबाट बच्चाहरू माया, प्रेम नपाउँदा र बढी माया, प्रेम अर्थात् लाडप्यार पाउँदा पनि उनीहरूमा नकारात्मक व्यक्तित्व विकास हुन्छ। दीपेन्द्रले आवश्यक माया, प्रेम नपाएर शाहज्यूको भनाइ अनुसारको नकारात्मक व्यक्तित्व विकास गरेको देखिन्छ भने सोही शाह वंशका सातौँ पुस्ताअघिका सुरेन्द्रले लाडप्यारमा हुर्केको हुँदा त्यही अनुरुपको नकारात्मक व्यक्तित्व विकास गरे। बाबु राजेन्द्र र आमा साम्राज्यलक्ष्मीको लाडप्यार तथा दरवारका मान्छेहरूको ज्यू, हजुर र अनावश्यक सराहनाले बालक सुरेन्द्रले किशोरावस्थासम्म आइपुग्दा पूरै नकारात्मक व्यक्तित्व विकास गरे। त्यही व्यक्तित्वको कारणले गर्दा वयस्क राजा सुरेन्द्रको पालामा राणाशासनको उदय भयो र बिरालोले खेलाएको मुसाजस्तै भई राजाको सम्पूर्ण अधिकार प्रधानमन्त्री जंगबहादुरको हातमा दिन बाध्य हुनुपर्‍यो। राजा खोपाको मूर्तिमात्र भएर १०४ वर्षसम्म शाहराजाहरूलाई राणाहरूको खटनमा रहेर काल बिताउनु परेको थियो। आवश्यक माया, ममता नपाएका र बढी माया, प्रेम पाएका बच्चाहरूको स्वभाव र व्यवहार एउटै अर्थात् जिद्दी गर्ने, झगडालु हुने, घमण्डी हुने, अरुलाई पीडा दिएपछि पीडितहरू छटपटिएको आत्तिएको देखेर हास्ने-रमाउने हुन्छ। समस्याको समाधान गर्ने वौद्धिक क्षमता नहुने, सके तर्सेने नसके आफै तर्सिने स्वभाव हुने, प्राकृतिक संस्कारलाई नियन्त्रण गर्न नसक्ने र पशुहरू जस्तै प्राकृतिक संस्कारबाट उत्प्रेरित-उत्तेजित भई व्यवहार गर्ने, झ्वाट्ट रिसाउने आदि स्वभाव, व्यवहारका हुन्छन्।

बाबुआमा, परिवारका सदस्य र अन्यले आफ्नो वंश (छोराछोरी) लाई हुर्काउने क्रममा बाबुआमाको माया, ममता र सामिप्यता नहुँदा वा अभाव हुँदा दीपेन्द्रजस्तो र अकोर्तिर लाडप्यार गर्ने, पुलपुल्याउने गर्दा सुरेन्द्रजस्तो हुने कुरालाई समझेर बालकबालिकाहरू कसरी ब्रि्रन्छन् भन्ने कुरा निरन्तर हेक्का राखिराख्नु आवश्यक छ। यस सर्न्दर्भमा मेरो अन्य अनुभव र अनुसन्धानबाट प्राप्त भएको कुरा यस प्रकार छ, लाडप्यारले बिग्रका बालकबालिका सुध्रिन गार्‍हो हुन्छ, तर माया, प्रेम नपाएर बिग्रिएकाहरू भने माया, प्रेम पाएपछि सजिलै सुध्रिन्छन्।’ यो तथ्यलाई सबै बाबुआमा, शिक्षक, संरक्षक आदि अभिभावकले बुझ्ने कोशिस गर्‍यौँ र व्यवहारमा ल्यायौँ भने एक-एक परिवार गरी राष्ट्रिय समाजको वंश शुद्धिकरण गर्न सक्छौं। विवेक शाहज्यूका चित्रणको आधारमा के भन्छु भने, सायद सुरुदेखि नै आमा ऐर्श्वर्यको माया, ममता र राजा वीरेन्द्रको सामिप्य र परामर्श पाएको भए दीपेन्द्रको पारिवारिक व्यक्तित्व उहाँले भनेजस्तो नकारात्मक हुँदैनथ्यो वा भएको भए पनि पछि सजिलै सुध्रिन्थ्यो अर्थात् सकारात्मक हुने थियो भन्ने मेरो अनुभव र अनुसन्धानमा आधारित तर्क छ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width