त्यो तीज, यो तीज

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७३

हरेक वर्ष नेपालमा र नेपालीको उपस्थिति भएका मुलुकमा नारीको सौभाग्य, समृद्धिका निम्ति भनेर धार्मिक  परम्परा अनुसार शिव, पार्वतीको उपासना गरी हरितालिका तीज वर्ष मनाउने चलन रहिआएको छ। यो पर्वमा नेपाली नारीको मौलिक पर्वका रुपमा आफ्ना चेली, दिदीबहिनीलाई माइतीले सम्मानपूर्वक बोलाएर अथवा बाबुआमा, दाजुभाई लिन गएर माइतमा ल्याउने परम्परा छ। यो पर्वमा बाबा, आमा, दाजुभाई आफ्ना चेली, दिदीबहिनीलाई लिन गएनन् वा खबरसम्म पनि गरेनन् भने चेली, दिदीबहिनीले आफ्ना निम्ति माइती कोही नभएकोजस्तो महसुस गरी अत्यन्त नरमाइलो मान्दछन्। आफ्नै घरका वा छरछिमेकका देवरानी, जेठानीलाई माइती आई लिएर जाँदा र आफ्ना माइती कोही नआउँदा चेलीहरू माइतीको बाटो हेर्दै पछयौरीले मुख छोपेर धुरुधुरु रुन्छन्। माइतीले तीजमा छोरी, दिदीबहिनीलाई नसम्झदा उनीहरूलाई तीज यति खल्लो लाग्दछ कि दिनलाई पनि उनीहरू चन्द्रमा नभएको रात जस्तो मान्दछन्। अहिले त यातायात र सञ्चारको सहजता छ। पहिले-पहिले यातायात र सञ्चारको सुगमता थिएन, त्यति बेला बूढा भएका बाबुआमा, दाजु दिदीबहिनी लिन भनेर लौरो टेकेर सुस्केरा हाल्दै हिँडेको देख्थ्यौ हामी। त्यति बेला तिजको रौनक आफ्नै प्रकारको हुन्थ्यो। ‘गण्डकीपारि नदिए बाबा तीजको खाजा को खाला’ जस्ता मर्मस्पर्सीीगीत गाउँदा मनमा एक प्रकारको उद्वेलन पैदा हुन्थ्यो।

लामो समयसम्म भेट नभएका संगीसाथी, दिदीबहिनी, आफ्ना प्रियजनसँग भेट हुँदा ती चेलीलाई औंसीको रातमा अकस्मात चन्द्रमा उदाएजस्तो अनुभूति हुन्थ्यो। हर्षले यति पुलकित हुन्थे कि अत्यन्त अप्ठेरो फुर्केको रुखमा पनि सजिलै चढ्न सक्थे। तीजमा माइत आएकी चेली भनेर उनीहरूलाई मीठो, मसिनो ख्वाउन बाबाआमा, दाजुभई हृदयदेखि नै तल्लीन भएर चीजबीज जुटाउन लागि पर्थे। घरमा दुहुनु नभए पनि भैसी किनेर ल्याउँथे। तीजमा छोरी, दिदीबहिनी आउँदा अचार खाने भनेर थाक्रोमा मादले यामनको पाकेको पँहेलो काक्रो जोगाएर राख्थे। आफ्नै बारीमा फलेका  घिरौला, चिचिन्ना, करेला, लौका, बोडीजस्ता शुद्ध ताजा तरकारीको स्वाद नै अर्कै हुन्थ्यो। तामा र टुसा पनि घरमा जुट्दथे।

‘बाबाको आँगनी लिपी र छिर्केरी मारी खेलौला

चितिन्नी लायौ पैरीले लग्यो, हे स्वामी राजै निस्तो खाजा केसित खार्ऊ -’

जस्ता आफ्नै मौलिक संस्कृति झल्कने गीत गाउँथे चेलीहरू र छमछमी नाच्दथे। आफ्नै विरह, वेदनाका, श्रीमान्, सासू, ससुरा, नन्द, आमाजू र सौताले आफूमाथि गरेका अन्याय, अत्याचारका भाव पोख्थे। ती गीतमा कति गहिरो मर्म हुन्थ्यो झ्

सानुमा सानु दारको ठेकी दुबै माना दही जाने

मनको पीर बुभ्दैनौ बाबाले जा घर भने भैजाने

गीत गाउँदा कुनै वाद्यवादन हुँदैनथे, केवल थपडीको भरमा गीत गम्कन्थे। न त्यहाँ कुनै कपडा र गहनाको प्रदर्शन  हुन्थ्यो, न प्रतिस्पर्धा। भर्खर विहे गरेका चेलीले भने शिरमा शिरफूल र पाउमा चाँदीका कल्ली लाउँथे। सामान्यतया आंैसीको दिनदेखि ऋषि पञ्चमीको दिनसम्म तिजको रौनक रहन्थ्यो। ‘बोलाइ-बोलाइ ल्याउछन््, कोच्याइ-कोच्याइ ख्वाउँछन्, पञ्चमीको भोलिपल्ट रुवाउँदै पठाउँछन्’, भनेर गीतै गाउँथे।

पहिले-पहिले रत्यौलीमा जाँदा र तीजमा केटा मान्छेले गीत गाउँदा आयु घट्छ भन्ने चलन थियो। त्यसैले लोग्ने मान्छे रत्यौली र तीजमा सम्मिलित हुँदैनथे। आजकल त रत्यौली र तीजमा समेत केटाहरू सम्मिलित भएर नाच्ने-गाउने गर्दा रत्यौली र तीजको मैलिकता हराउँदै जान थालेको छ। त्यतिमात्र होइन, एक-डेढ महिनाअघिदेखि महङ्गा होटलमा  गएर दर खाने, महङ्गा कपडा र गहना प्रदर्शन गर्ने र भडकिलो तीज मनाउनाले तीजको जुन विशेषता हो, त्यो कतै लोप हुने त होइन भन्ने शङ्का उब्जिन थालेको छ। गरिब परिवारमा भुँइचालो जान थालेको छ।

तीजका अन्य विशेषतामा भाद्र शुक्ल द्वितीयाको राति शुद्ध परिकार, जसलाई दर भनिन्छ, अडिलो खानेकुरा खाने र भोलिपल्ट तृतीयाको दिन निराहार व्रत बस्ने चलन छ। त्यो दिन शिव, पार्वतीको  उपासना गर्नाले आफ्ना श्रीमान् दीघायु हुने, अविवाहित कुमारीले आफूले चाहेजस्तै दुलाहा पाउने, नारीलाई शौभाग्य र समृद्धि प्राप्त हुने पौराणिक मान्यता छ। चौथीको दिन खोला, नदीमा गई स्नान गर्ने। तीन सय पैसठ्ठी पटक सूची गर्ने, तीन सय पैसठ्ठी दतिवन लाउनेजस्ता अन्ध परम्परालाई पनि धान्ने गरिन्छ। त्यसपछि शुद्ध खाना खाने चलन छ।

पञ्चमीका दिन सप्तऋषिको पूजा गरिन्छ। यसरी पूजा गरेपछि महिलाको ब्रहृाघातको पाप पखालिन्छ, त्यो पनि त्यो वर्षभरिको मात्र। पौराणिक कथन अनुसार कुनै ब्राम्हणले कुनै दानव पत्नीसँग सहवास गर्दा ती दानव पत्नीबाट वृत्रासुर नामको दानव ब्राम्हण पुत्र भएर जन्म्यो। त्यो ब्राम्हण पुत्र वृत्रासुरलाई देवराज इन्द्रले मारे। ब्राम्हण पुत्र वृत्रासुरलाई मारेकाले इन्द्रलाई ब्रम्हहत्याको पापले असैÞय पोल्यो। त्यो ब्रम्हहत्याको पाप पोख्ने ठाउँ इन्द्रले महिलाका रजस्वाला हुँदा बग्ने रगतमा देखेर त्यही रगतमा लगेर खन्याइदिए। अब भने उनलाई ब्रम्हहत्याको पापले पोल्न छाड्यो र महिलाको रगतमा बस्न थाल्यो। त्यसै भएर रजस्वला भएको पहिलो दिन महिला चण्डाल्नीसरह हुन्छे, दोस्रो दिन ब्रम्ह हत्यारासरह हुन्छे, तेस्रो दिन धोविनीसरह हुन्छे र चौथो दिन नुहाएपछि शुद्ध हुन्छे भन्ने अन्धविश्वास छ।

रजस्वाला हुँदा छुवाछूत गर्ने कसैका बाबुआमा क्रमशः गोरु र कुकुर्नी भएर जन्मे। श्राद्धका दिन उनीहरू भोकै भए। आपसमा कुरा गर्दा छोराले सुन्यो र यी त मेरा बाबुआमा रहेछन्। अब कसरी यो पशु योनीबाट मुक्त गर्ने भनेर छोराले पुरोहितसँग सल्लाह गर्दा सप्तऋषि र अरुन्धतीको पूजा गरेपछि मुक्त हुने सल्लाह पाएपछि छोराले त्यसै गर्दा उसका बाबुआमा मुक्त भएको कुरा कथामा वाणिर्त छ। यसरी महिलालाई पापको कीरो  बनाइएको छ। महिलालाई पल्लोछेउ पारिएको छ।

रजस्वला हुने कुरा त प्रजनन प्रक्रिया हो। यो त नियमित जैविक प्राकृतिक प्रक्रिया हो। यस्तो नियमित प्रक्रिया त हरेक स्त्रीमा हुन्छ। तोरीको फूलमा या मकैको धानचमरमा  पराग कण -विज) हुन्छन्। परागकण फूलको योनी मुखबाट योनीमार्ग हुँदै गर्भाशयमा जान्छन्। त्यहाँ रजकणसँग मिलेपछि विउ बढ्न थाल्दछ। यदि ब्रम्हहत्या नै लाग्ने हो भने सबैमा लाग्नुपर्ने। केवल महिला मात्रमा किन – अनि संसारभरका सबै महिलाले यो तीजको व्रत बस्दैनन्। यी त हाम्रा धर्मशास्त्रमा उल्लेख भएका अन्धविश्वास र रुढीका कुरा हुन्। आजकल त कति शिक्षित महिलाले यस्ता अवैज्ञानिक, रुढीवादी परम्परालाई मान्न छाडिसकेका छन्। अतः रुढीवादी अवैज्ञानिक परम्परालाई परिमार्जन गर्दै मौलिक परम्परा र संस्कारको जगेर्ना गर्दै हरितालिका तीज मनाउन वान्छनीय देखिन्छ।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width