जङ्क फुड र हाम्रो स्वास्थ्य

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०७३

यतिसम्म कि गाउँमा बस्नेहरूले आफ्नो घरको भैँसीको दूध सस्तो मूल्यमा बेचेर ‘तागत दिन्छ’ भनी चिसो पेय पदार्थ महङ्गो मूल्यमा किनेर खाएको हामीले देख्दै आएका छौँ।

दैनिक खाद्य पदार्थमा पौष्टिक तत्व कम भएका, सजिलो-सस्तो मूल्यमा उपलब्ध हुन सक्ने, सहज रुपमा उपभोग गर्न सकिने, बेकारका पदार्थमा रासायनिक तत्व मिश्रण गरी बनाइएका कमसल खाद्य एवम् पेेय पदार्थलाई खाद्य र पोषणविद्हरूले ‘जङ्क फुड’नाम दिएका छन्। जसले क्षणिक स्वाद र सन्तुष्टि प्रदान गर्दछन्। आकर्षणका लागि विभिन्न किसिमका रङ, रसायन, टेष्ट मेकर राखी बनाइएका खाद्य पेय पदार्थहरूले स्नायु प्रणालीमा असर गर्ने हुँदा मानिसमा त्यस्ता खाद्य पदार्थलाई मानसिक रुपमा नै स्वीकार गर्ने अवस्थामा पुग्दछन्। एक पटक प्रयोग गरेपछि पटक-पटक खाइरहन चाहन्छन्। त्यस्ता खाद्य पदार्थमा सस्तो मूल्यमा पाइने कमसल किसिमका बिस्कुट, चाउचाउ, पिज्जा, हटडग्स, चिसो पेय पदार्थहरू, सस्ता जुसहरू, आइसक्रिम, कुल्फी, सस्ता चकलेट, चुइगम, टफी, माँडा, चटपट, पानीपुरी, तितौरा, पाउँ, दुनट, रेडिमेड चिप्स आदि पर्दछन्।

यस्ता खाद्य-पेय पदार्थ सहरका झण्डै पचास प्रतिशत केटाकेटीले खाजाखानाको रुपमा प्रयोग गरेको पाइन्छ। त्यस्तै, आधुनिक आमाबाबुले पनि बुझेर वा नबुझी सजिलो-सस्तो भएकाले, साथी संगतमा लागेर वा त्यस वस्तुको स्वादमा पल्किएर यस्ता पदार्थ प्रयोग गरेको पाइन्छ। साना बाबुनानीमात्र होइन, कलेज पढ्ने केटाकेटी होस् वा अन्य पेशा, व्यवसायका व्यक्तिले पनि सजिलै प्रयोग गर्न रुचाउने खाद्य पेय बनेको छ ‘जङ्क फुड’। यतिसम्म कि गाउँमा बस्नेहरूले आफ्नो घरको भैँसीको दूध सस्तो मूल्यमा बेचेर ‘तागत दिन्छ’ भनी चिसो पेय पदार्थ महङ्गो मूल्यमा किनेर खाएको हामीले देख्दै आएका छौँ। आकर्षक विज्ञापन, खाएपछि प्राप्त हुने आनन्द, टेलिभिजनमा देखेर बच्चाले त्यही पदार्थ माग गरी त्यसरी नै खान सिक्दछन् र खाँदै गर्दा एउटा बालकले आफूले खाने खाद्य पदार्थभन्दा सय गुणा बढी जङ्कफुड खान सक्दछ भनी अनुसन्धानले पत्ता लगाइ सकेका छन्। एउटा अभिभावक र सचेत नागरिकका रुपमा रहँदा हामीले के यी खाद्य, पेय पदार्थ खान योग्य छन् त ? यसले स्वास्थ्यमा के असर पर्दछ – हामी किन त्यसप्रति बढी आकषिर्त छौँ भन्नेबारे बुझ्न नितान्त आवश्यक छ।

जङ्कफुडमा मिश्रण गरिने पदार्थहरू

विकसित मुलुकका खाद्य विशेषज्ञहरूले क्यालोरी र फ्याट अत्यधिक मात्रामा हुने तर शरीरका लागि आवश्यक पर्ने पौष्टिक तत्व भिटामिन, मिनरल, फाइवर आदि नगन्य मात्रामा भएका पदार्थ नै जङ्कफुड हुन् भनेका छन्। यस्ता जङ्क फुडहरू अस्वस्थकर पच्न कठीन हुने चिल्लो पदार्थ, अधिक मात्रामा नुन र स्वास्थ्यमा हानी पुर्‍याउने किसिमका गुलियो पदार्थ मिश्रण गरी बनाइएको हुन्छ। साथै, पटक-पटक खाइरहँदा बानी लाग्ने किसिमका कृत्रिम स्वाद, मन्द नशायुक्त पदार्थ, फुड एडेटिभस्, अस्वस्थकर खाद्यवस्तु, कृत्रिम स्वाद र कृत्रिम रङ पनि मिसावट गरिएको हुन्छ।

जङ्क फुडको मनोवैज्ञानिक पक्ष

हामीले जानेर/नजानेर प्रयोग गरिरहेका यस्ता खाद्य  वा पेयपदार्थ लगातार प्रयोग गरिरहँदा, लागुऔषध प्रयोग गर्ने व्यक्तिलाई लत बसेजस्तै गरी हाम्रा केटाकेटीमा पनि दिमागका नसामा असर परी त्यसप्रति बेसनी बन्ने कुरा न्युरो साइकोलोजिष्टहरूले प्रमाणित गरिसकेका छन्। सन् २०१२ मा अमेरिकी खाद्य विशेषज्ञ किले वर्गरले आइसक्रिममा गरेको एक अध्यायनमा भनेका छन्-‘आइसक्रिममा यस्तो नसाजन्य वस्तु मिसाइएको हुन्छ। जसले कोकिन नामक लागुपदार्थले जसरी नै झन खायो झन खान मन लाग्ने गरी उत्तेजना बढाउँदछ।’ त्यस्तै, अको क्रिप्स रिर्र्सच इन्स्टिच्युट नामक अमेरिकी संस्थामा मुसामा गरिएको अध्यायनमा पनि जङ्कफुड सेवनले मस्ितष्कलाई कोकिन/हिरोइन नामक नसालुपदार्थले जस्तै आंशिक सन्तुष्टि प्रदान गर्नुका साथै नशाले छाडेपछि पनि पटक-पटक खान मन लागिरहने बनाइदिन्छ भनी प्रमाणित गरेका छन्। त्यसैले ‘मेरो छोरा चाउचाउमात्रै मन पराउँदछ, आइसक्रिम देखेपछि खाएकोखाइ गर्छ, चकलेट मुखमा खाली गर्नै मान्दैन, पैसा पायो कि माडा, तितौरा किनी हाल्छ’ भन्नुको पछाडि यही कुलत बसेको मनोवैज्ञानिक कारण हो भन्न सकिन्छ।

जङ्क फुडमा आकषिर्त हुनुका कारणहरू

सजिलै उपलब्ध हुने, सस्तो मूल्यमा उपभोग गर्न पाइने, खाँदा मीठो, नौलो स्वाद, नुन, चिल्लो पदार्थ प्रशस्त भएको, सजिलै खान आदत बस्ने भएकाले पनि योप्रति मानिस बढी आकषिर्त छन्। अको कारण आकर्षक मुखै रसाउने विज्ञापन, सजावट, त्यो खाँदाको रमाइलो र “दुइ किन्दा एक सित्तै” जस्ता कुराको लोभमा पर्दा यस्ता वस्तुप्रतिको आकर्षण झन बढ्दछ। त्यस्तै, अको पक्ष भनेको स्वास्थ्यप्रति चेतनाको अभावमा आधुनिक जीवनशैलीको नक्कल गर्नु, अरुका देखासिकी गर्नु पनि हो। टेलिभिजन, सञ्चारमाध्यममा गरिने अभिनय या विज्ञापनबाट, व्यस्तजीवन शैली, जति खायो उति खान मन लाग्ने, जहाँ बसेर जहिले पनि खान मिल्ने भएकाले स्वास्थ्यमा नकारात्मक असर पार्ने भएता पनि यसप्रतिको आकर्षण मौलाउँदै गएको पाइन्छ। आजकलका केटाकेटीमा देखिने धेरै प्रकारका स्वास्थ्य समस्याको मुख्य कारण नै जङ्कफुडप्रतिको बढ्दो आकर्षण हो भन्न सकिन्छ।

जङ्क फुडबाट स्वास्थ्यमा पर्ने प्रभाव

लामो समयसम्म लगातार यस्ता किसिममा खाद्य पेय पदार्थ प्रयोग गर्ने केटाकेटीमा वौद्धिक शक्ति कम हुने, अधिक चञ्चल हुने, कुनै पनि काममा गम्भीर र स्थिर हुन नसक्ने, पेटमा अत्यधिक चिल्लो पदार्थ बढ्न गइ अस्वाभाविक मोटोपना देखा पर्ने, सोडियम क्लोराइडको मात्रा बढ्न गइ उच्च रक्तचापको समस्या देखिने, चिल्लो तथा हानिकारक गुलियो पदार्थको मात्रा शरीरमा बढ्न गइ मुटुका रोगहरू लाग्ने, आन्द्रा, मुटु, मृगौला बढी जम्मा भएको बोसोको कारण, मृगौला खराब गर्ने, कोलेस्ट्रोलको मात्रा बढ्ने, शारीरिक, मानसिक सिथिलता बढ्दै जाने, खेल्न, घुम्न, काम गर्न, मन नपराउने, वृद्धि विकासमा अवरोध आउने, हड्डी, दाँत, कमजोर हुने, फाइवर तत्वको अभावमा कब्जियत भइरहने, अनुहारको कान्ति क्षय हुँदै जाने, रक्तअल्पताका लक्षण देखा पर्ने, अन्य सागपात फलफूल खाद्य तत्व खान मन नगर्ने, सुत्न-बस्न, बढी मन पराउने, निस्क्रिय जीवनशैलीको विकास हुने हुन्छ। यस्ता समस्या हाम्रा बालबालिकामा पनि दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। त्यसैले यसप्रति समयमा नै सचेत हुनु जरुरी छ।

सुरक्षित रहने उपायहरू

क) ‘स्वास्थ्य नै धन हो’ भन्ने कुरा सबैले बुझ्न जरुरी देखिन्छ। अको भाषामा भन्दा जङ्क फुडलाई ‘स्लो प्वाइजन’ पनि भन्ने गरिन्छ। त्यसैले यस्तो खाद्य तत्वविहीन पदार्थ खाएर जीवन वर्वाद हुनुभन्दा पहिला नै खाद्य पदार्थप्रति सचेत बन्नु आवश्यक छ। खाद्य पदार्थ किन्दा, प्रयोग गर्दा स्वादभन्दा यसको के गुण छ भन्नेबारे स्पष्ट हुनु जरुरी हुन्छ।

ख) खाद्य पोषणसँग सम्बन्धित सरकारी निकायले खाद्यविशेषज्ञहरूले कुनै पनि खाद्य पेय पदार्थ खान उपयुक्त छ वा छैन ? यसले जनताको स्वास्थ्यमा कस्तो प्रभाव पार्दछ भन्नेबारे राम्ररी जाँचबुझ गरेर प्रमाणित गरिसकेपछि मात्र बजारमा बिक्रीमा लागि सिफारिस गरिनुपर्दछ। यदि गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गरेको पाइएमा त्यस्ता व्यक्ति, उत्पादकलाई तुरुन्तै उत्पादन बिक्री,वितरण बन्द गर्न लगाइ कडाभन्दा कडा कानुनी कारवाही गरी निरुत्साहित गरिनुपर्दछ।

ग) घर, परिवार, समाज, होस्टल, विद्यालय आदिमा वितरण गरिने, खुवाइने खाद्य पेय पदार्थहरू ताजा स्वस्थवर्धक हुनुपर्दछ। जसमा जङ्क फुडहरूको प्रयोग बन्द गरिनु पर्दछ। आफ्नो घरमा बनाउन सकिने रोटी, मकै, सातु, भटमास, चिउरा, फापर, कोदो, हलुवा, तरकारी आदि नै खाजाका रुपमा प्रयोग गर्न प्रोत्साहन गर्नु पर्दछ। केटाकेटालाई पनि स्वास्थ्य खानाको महत्वबारे राम्ररी बुझाउने गर्नुपर्दछ।

घ) चार्डपर्व र आतिथ्य सत्कारमा दूषित पेय, खाद्य पदार्थ होइन, हाम्रो घर परिवारमा उपलब्ध हुने दूध, मही, दही, कागती पानी आदिले सत्कार गर्ने बानी गर्नु स्वास्थ्यका लागि लाभदायक छ।

ङ) भोजभतेर, पार्टी आतिथ्यमा त्यस्ता जङ्क फुडको प्रयोगमा रोक लगाउनु वा अस्वीकार गर्न सक्नुपर्दछ। किनकि आधुनिकताका नाममा वितरण गरिने यी अखाद्य वस्तुले स्वास्थ्यमा ठूलो नोक्सान गर्दछन्। अब आइसक्रिमजस्तो जङ्क फुड पिज्जा र बर्गर खाएर अस्वस्थ हुने होइन मकै र मही खाएर हिजो जस्तै स्वास्थ्य बन्न जरुरी छ।

च) यस्ता खाद्य पेयपदार्थबाट हुने असरबारे आमा समूह गृहणी, कुक, केटाकेटी, व्यापारी सबै जनसमुदायलाई सचेत गराउनु पर्दछ। सञ्चारमाध्यमले पनि स्वस्थ खाद्यपदार्थबारे प्रचारप्रसार गर्ने गरिएमा भविष्यका हाम्रा कर्णयार बालबालिक, वयस्क, वृद्ध सबै सक्रियतापूर्वक स्वस्थ भई बाँच्न सक्नेछन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै