केशवराज बराल : श्रद्धासुमन

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७३

पारिवारिक पृष्ठभूमि

श्री केशवराज बरालको जन्म वि.सं. १९८५ कार्तिक १८ गते मंगलबारका दिन स्याङजा जिल्ला आर्रुखर्क स्थानचौर बरालगाउँमा भएको हो। पिता दण्डपाणि र माता छायादवीको कोखबाट माहिला पुत्रको रूपमा जन्मनुभएका उहाँका भाइ डिल्लीराम बराल हुनुहुन्छ, उहाँका दाइ लक्ष्मीभक्त बराल र भाइ दुर्गादत्त बरालको स्वर्गारोहण भइसकेको छ। त्यसैगरी उहाँका दुर्इ दिदीहरु पनि स्वर्गीय भइसक्नुभएको छ। पुख्यौर्ली थातथलो कास्कीको पुम्दीस्वाँरामा भए पनि बुबा स्व. दण्डपाणिलाई मावलीतर्फका सन्तान नभएकाले दूधेबालक अवस्थादेखि नै बसाई हुकार्ई स्याङ्जा साविकमा सेतीखोला पनि भनिने उक्त गाउँमा भएको थियो। पुम्दीको जिजूहजुरबुबा मित्रलाल र हजुरबाुबा पूर्णभद्रका ५ छोराहरू मध्ये जेठा दण्डपाणि बरालका खलक स्याङजातर्फ र बाँकी ४ भाइ पुम्दीतर्फ रहे। वंश विस्तार र बसाईसराईको क्रममा केशवराज बरालको बन्धुबान्धवहरू पुम्दी, चितवन र पोखरातर्फ फैलिएका छन्। तत्कालीन अवस्थामा खेतीपाती, वनपाखो, जल जंगलको पायक र भूवनावट मिलेको बराल गाउँमा दण्डपाणिका छोराहरूलाई कृषि श्रम र कर्म गर्न परिवारलाई पुग्ने स्रोत भएको मानिन्थ्यो। यथार्थमा कृषक परिवारमा जन्मी हुर्केका केशवराजले बाल्यकालदेखि जीवनको उत्तरार्द्धसम्म पनि कृषि पेशालाई आफ्नो सोखको रूपमा अपनाउँदै आउनुभएको हो। यथार्थमा उहाँ भूमिका प्रिय पुत्र नै हुनुहुन्थ्यो, यद्यपि बदलिँदो पछिल्लो अवस्थामा पारिवारिक भिन्नता, वृद्ध शारीरिक अवस्था र कृषि मजदुरहरूको अभावको कारण क्रमशः जिम्मेवारी घटाउँदै लग्नुभएको थियो। हाल दाजुभाइ, छोरानातिहरूको संख्या बढ्दै जाने क्रममा जमिन खण्डीकरण, साँघुरो र निर्वाहमुखी अवस्थामा रहनु स्वाभाविकै भएको छ। त्यति बेलाको परिस्थितिमा शिक्षादीक्षाको उपयुक्त सुविधा र वातावरण थिएन तर केशवले सानैदेखि अध्ययन, लेखपढमा रुचि राख्ने भएकाले ऐन, श्रेस्ता, लघुकौमदी, चण्डी, रुद्रीका पुस्तकहरू अध्ययन अभ्यास गर्दै पछिल्ला दिनमा कानुन व्यवसायी र छोटो अवधि सरकारी सेवामा पनि संलग्न हुनु उहाँको निजी प्रयास र क्षमता हो भन्न सकिन्छ।

उहाँको मावलीघर कास्की लेखनाथको कन्धनीडाँडाका बज्रमोहन भट्टराईको ठूलो परिवारमा हो। उहाँकी पहिली श्रीमती हालको विचारीचौतारा स्याङ्जाका खडानन्द पौडेलकी छोरी स्व. जमुनादेवी हुन् भने चिलाउनेबास झारखोला निवासी स्वर्गीय योगमाया पौडेलसँग ज्योतिषको सल्लाहअनुसार दोस्रो विवाह भएको थियो। पहिली श्रीमतीतर्फ ६ जना छोरामध्ये हाल मौजुदा ५, छोरी १, बुहारी ७, नातिनातिनी २२, पनाति/पनातिनी १० रहेका छन्। उहाँकै प्रेरणा र प्रयासबाट सबै छोराछोरीहरू स्नातकभन्दा माथि र दुर्इ छोराहरू रामचन्द्र बराल र ज्ञानेन्द्र बरालले विद्यावारिधि गरी संयुक्त राज्य अमेरिकाको बौद्धिक सेवामा संलग्न छन्। हाल जन्मथलोमा छोराहरूको उपस्थिति न्यून भए पनि देशविदेशका विभिन्न सरकारी र सामाजिक निकायहरूमा जिम्मेवार पदमा रहेका सेवा र

संलग्नताले सन्तोष लिने अवस्था थियो।

सफल कृषकः सफल अभिभावकः

केशव बराल बाल्य अवस्थादेखि नै मेहेनती, शान्त, धीर, सहनसील, मिलनसार र गम्भीर स्वभावका भएको अग्रजहरूबाट पुष्टि हुन्छ। उहाँले आफ्नो खेतबारी, पाखापखेरामा घाँस, बाँस, फलफूल रोपण, अनाज, तरकारीखेती, पशुपालनलाई जीवनपद्धति र दिनचर्या बनाउनुभएको थियो। आफ्नै मेहनत र पसिनाको कमाइप्रति उहाँको सम्मान रहेको थियो। अन्तिम समयमा पनि कृषि कर्मप्रति उहाँको आस्था, विश्वास र प्रयास जारी थियो। उहाँले सृजना गरेका बोटबगैँचा निर्माण गरेका घरगोठहरू नमुनाका रूपमा छन्। पशुपालन, सुन्तला, केरा बगैँचा, कफीको आम्दानीबाट पनि पारीवारिक कल्याण र आर्थिक अवस्थामा राहत पुगेको हो।

हुन त, तत्काल परिस्थितिमा उहाँको बुवाको जायजेथा सम्पन्न परिवार भनिएपनि पछि भागबण्डा र परिवार संख्या ठूलो हुनु र सबै सन्तानलाई गाउँघर बाहिर पर्ठाई शिक्षित र सक्षम बनाउन आर्थिकरूपमा बोझिलो व्यवहार थियो। उहाँले जीवनका आरोह अवरोहको सामना गर्दै आफ्नो कृषि उद्यम, कानून व्यवसायीको सेवाबाट र केही वर्षको सरकारी सेवाबाट भएको आर्जनले ७ जना छोराछोरीलाई उच्च शिक्षा, विवाह, ब्रतबन्ध, धार्मिक पारीवारिक संस्कार र सामाजिक सेवा गर्नुभयो। यो उहाँको सफल भूमिका मान्न सकिन्छ। उहाँ सधैँ स्वावलम्बी र परिश्रमी कृषक रहनुभयो। पसिना र मेहनत उहाँको नियति नै हो। उहाँको ठूलो परिवार भएर पनि छोराछोरीहरूलाई सधैँ पठनपाठन, शिक्षण र उन्नति प्रगतिमा अघि बढाउन दिलो ज्यान दिई सम्पूर्ण लगानी गर्नुभयो। उहाँको यस सफल अभिभावकीय भूमिका अनुकरणीय र प्रेरणादायी छ।

युवा अवस्था र अध्ययन

उहाँको बाल्यकाल बुवाआमाको काखमा एक दाजु, दुर्इ दिदीहरू र दुर्इ भाईहरूको साथमा जन्मथलोमा नै बित्यो। उहाँ सानैदेखि मिलनसार, गम्भीर, शुशिल, मेहनती र अध्ययनशील स्वभावको हुनुहुन्थ्यो। किसान परिवारकै पृष्ठभूमि भएकोले खेतीपाती, पशुपालन र कृषि कर्ममा परिवारलाई सघाउनु भयो। त्यतिबेला अध्ययन, पठनपाठनको लागि गाउँमा विद्यालय/संस्थाहरू थिएनन्। आफ्ना अग्रज, गुरुहरूको सरसंगतले धार्मिक, कर्मकाण्ड र कानूनी शिक्षामा स्वअध्ययन गर्नुभयो। त्यतिबेला पश्चिम ४ नं. को सदरमुकाम नुवाकोट घरबाट दैनिक उकालो-आरालो गरी अड्डा अदालतका निवेदन कागजातहरू लेख्ने सिक्ने अभ्यास गरी अनौपचारिक रूपमा क्षमता बढाउँदै जानुभयो। कानून व्यवसायीको अनुशिक्षण/प्रशिक्षणमा आफ्ना श्रद्धेय मितबुवा पोखरा गैह्रापाटन निवासी स्व. विचारी दुर्गादत्त कोइरालाबाट प्रभावित र प्रेरित हुनुभएको थियो। आफ्नो गाउँनजिकको चरीचरन क्षेत्रलाई केही व्यक्तिले निजी बनाएपछि न्याय इन्साफको खोजीमा तिन तहका अदालत गुहार्ने क्रममा लामो समय सवोर्च्च अदालतमा मुद्दाको किनारा लगाउने क्रममा आफ्ना पुम्दीका दाजु स्व. रामचनद्र बराल -पष्र्ूव सहायक अञ्चलाधिस) सँग सहबास र अनुशिक्षण लिने मौका पाउनुभयो। दाजुको संगतमा नौसिन्दा तहको सानो जागिरको क्षमता र अवसर अनुकूल हुँदाहुँदै पनि आफ्ना परिवार पिताजी र गाउँले अग्रजहरूले दिएको जिम्मेवारी र विश्वासलाई पूरा गर्न गाउँ/जिल्ला र राजधानीसम्मको पटक-पटक पैदल आवतजावत र भएभरको उर्जा लगाई सिम्ले र बालेको खोरीयालाई सार्वजनिक कायम गर्न सफल हुनुभयो।

आपतविपतमा धैर्य र आत्मबल

बुवाका चार भाई छुट्टी भिन्न भएपछि २०१३ सालमा मध्यरातमा घरबासमा अमूक तरिकाले भीषण आगो लागि भई सम्पूर्ण धनमाल, अनाजपात खरानी भयो। सानातिना लालावालसहित त्यस्तो दैवी प्रकोपमा पनि सम्हालिएर परिस्थितिलाई व्यवस्थापन गरी नयाँ पक्की घर बसोबास गर्नुभयो। त्यस्तै आफ्ना पूजनीय बुवाआमा, पत्नी र पुत्र शोकको असाधारण परिस्थितिमा पनि धैर्यतालाई संगालेर सांसारिक र आध्यात्मिक चिन्तनबाट शान्ति लिने प्रयास गर्नुभयो। सधैँ आफ्नो परिश्रमलाई नै विश्वास गर्ने जस्तोसुकै आपद्मा पनि धैर्यता लिने उहाँको आत्मबल थियो। गाउँछिमेक र पारिवारिक वैमनस्यता घर्टाई शान्ति र धीर रहन उहाँकी धर्मपत्नी स्व. जमुनादेवीको प्रेरणादायी भूमिका रहन्थ्यो।

धार्मिक र आध्यात्मिक चिन्तक

उहाँले आफ्नी धर्मपत्नी जमुनादेवीको सहकार्यमा परिवारहरूको संयुक्त प्रयासबाट विभिन्न धार्मिक कार्यहरू सम्पन्न गर्नुभएको छ। उहाँले धार्मिक पुस्तकहरूको अध्ययन र दैनिक नियमित पूजाआजा गर्नुहुन्थ्यो। आफ्नो गाउँको घरआँगनको प्राङ्गणमा मन्दिर निर्माण गर्नुभएको छ। गाउँमा चौतारी निर्माण, वरपिपल रोपण, गर्नुभएको छ। धार्मिक कार्यमा सूर्यपुराण, गणेशपुराण, कार्तिक महात्म्य, सेती गंगामा फूल तार्ने, श्रीमद्भागवत र श्रीमद्देवी भागवत जस्ता धार्मिक कार्य सुसम्पन्न गर्नुभएको थियो। उहाँका परिवारजनको आयोजनामा २०६८ जेठ ३ गते उहाँको चौरासी पूजा सम्पन्न भएको थियो। धार्मिक चिन्तन र भौतिक प्रगतिलाई समायोजन गरेर मानव जीवन अघि बढ्न सकिन्छ भन्ने उहाँको मान्यता छ।

 

सामाजिक कार्यकर्ता, राष्ट्रसेवक र शिक्षाप्रेमी

उहाँले सामाजिक कार्यकर्ता र राष्ट्रसेवकको रूपमा गर्नुभएका मुख्य कामहरूको टिपोट यसप्रकार छन्।

१)     सहकर्मी आफ्ना दाजुभाइहरु र देवराज कार्कीसँग मिलेर श्री महेन्द्र जनसहयोग प्राथमिक विद्यालय २०१८ सालमा स्थापना गरी हाल जनसहयोग सामुदायिक निम्न माध्यमिक विद्यालयको रूपमा उक्त विद्यालयले स्वर्ण वर्ष मनाएको छ। उक्त विद्यालयमा उहाँले चौतिस वर्षभन्दा बढी व्यवस्थापन समितिको अध्यक्षको रूपमा दीर्घसेवा पुर्‍याउनुभएको हो। उहाँलाई उक्त विद्यालयले स्वर्ण र्षको अवसर र सोभन्दा पूर्व दुर्इपटक सम्मान गरिसकेको छ। उत्तरार्धमा उहाँका जेष्ठ सुपुत्र श्री कृष्ण प्रसाद बरालले व्यवस्थापन समितिको अध्यक्ष भई सो विद्यालयलाई नि.मा.वि. मा स्तरोन्नति गराउनका साथै जग्गा विस्तार, खेलकुद मैदान, पुस्तकालय, कम्प्युटर शिक्षा, हरियाली प्रबर्द्धन र छात्रवृत्ति कोषको स्थापनाजस्ता पूर्वाधारको विकास गर्नुभएको थियो। उहाँकै कार्यकालमा विद्यालयको स्वर्ण महोत्सव र स्मारिका प्रकाशन गरी पिताका सार्थक कार्यहरुलाई निरन्तरता दिनुभएको थियो।

२)     उहाँले तत्कालीन अवस्थामा जिल्लामा नै कानूनवेता र वकिलहरूको अभाव रहेको अवस्थामा कानून व्यवसायीको हैसियतले गाउँ, टोल, छरछिमेक र जिल्लामा नै कानून व्यवसायीको सल्लाह, परामर्श र सेवा दिनुभएको थियो। उहाँको सल्लाह र सेवालाई विश्वसनीय मानी टाढा देखीका इष्टमित्र र सेवाग्राहीहरूको घरमा उपस्थिति रहन्थ्यो।

३)     सार्वजनिक चासो रहेको हाल आर्रुखर्क गा.वि.स. ९ र ६ मा पर्ने बाले खोरियाको सामुदायिक जग्गा केही सीमित व्यक्तिहरूले आफ्नो नाममा दर्ता गराई निजी प्रयोग गर्न खोजेको विरोधमा स्व.जि.मु. देवराज कार्कीसँग सहकार्य गरी जिल्ला, पुनरावेदन हुँदै केन्द्रसम्म दावी पैरवी गर्दै अन्त्यमा सम्माननीय सवोर्च्च अदालतबाट माग दावी सदर भई समुदायको साझा सम्पत्ति कायम गर्न सफल। तत्कालको अवस्थामा भौगोलिक विकटता र सडक यातायातको पहुँच नभएको अवस्थामा नुवाकोट, पाल्पा र काठमाडौं वषौर्सम्म पैदल धाई सफल निर्ण  गराउन अहोरात्र खटेको प्रतिफल स्वरूप हाल उक्त जग्गाहरू सामुदायिक वन उपभोक्ता समूहको जिम्मा नियन्त्रणमा रही सम्पूर्ण ९ नं. वडा वासी लाभात्वित भएका छन्।

४)     तत्कालीन दामगाडे गा.प. को उपप्रधान पदमा निर्वाचित भई ४ वर्षसम्म वहाल रही विभिन्न विकास निर्माण, सामाजिक र शैक्षिक कार्यक्रम सञ्चालन गरेको ।

५)     तत्कालीन दामगाण्डे र पछि आर्रुखर्क गा.वि.स. अन्तर्गत पटक-पटक ९ नंं वडाको अध्यक्ष भई विकास निर्माण र सामाजिक हितका कामहरू गरेको।

६)     वि.सं. २०१५ सालको आमनिर्वाचनमा सहायक मतदात अधिकृत भई घुम्ती डोरमा खटिएर पर्वत, बागलुङ र मुस्ताङ जिल्लाहरूमा खट्टएिर सहायक मतदान अधिकृत भई निर्वाचन कार्य सम्पन्न गरेकेा। त्यस्तै २०१८ सालको राष्ट्रिय कृषि गणनामा तथ्यांक सहायक भई सेवा गरेको।

७)     हालको फेदीखोला बजार र थानचौरको बीचमा पर्ने सेतीखोलामा झोलुङ्गे पुल निर्माण गर्न तत्कालको नुवाकोट गौडा गोश्वारामा सर्म्पर्क गरी दाजुभाई/साथीहरूको टोलीबाट पुल निर्माण गरेको सोही स्थानमा निर्मित हालको पक्की स्टील पुल निर्माणमा यथासक्य आर्थिक सहयोग गरेको।

८)     आर्रुखर्क-९ स्थित सिमले वन उपभोक्ता समूहको दशवर्षभन्दा बढी अध्यक्ष पदको जिम्मेवारी सम्हाली वृक्षरोपण, सम्भार, संरक्षण र सदुपयोगमा उल्लेखनीय योगदान गरेको।

९)     तत्कालीन आँधीखोला उपल्लो जलाधार आयोजना (केयर-नेपाल) अन्तर्गत आर्रुखर्क-९ को उपभोक्ता समिति अध्यक्ष भई कृषि, वन विकास, भु तथा जलाधार संरक्षणका क्रियाकलापहरू सम्पन्न गरेको।

१०)    हालको सिर्द्धार्थ उच्च मा.वि. तत्कालीन सिर्द्धार्थ मा.वि. स्थापनाको लागि संस्थापक चन्दादाता र सिर्द्धार्थ बहुमुखी क्याम्पसको संस्थापक आजीवन सदस्य रहेको।

११) आफ्नो गाउँघरमा विद्युतीकरण र खानेपानी आपूर्र्तिमा उल्लेखनीय अगुवाई रहेको।

भ्रमण र तीर्थाटन

       उहाँले देशभित्र र भारतवर्षका प्रसिद्ध तीर्थस्थलहरूको भ्रमण गर्नुभएको थियो। नेपालका विभिन्न जिल्लाहरूको पनि भ्रमण अवलोकन गर्नुभएको थियो। छोराहरूको साथमा हङकङ, संयुक्त राज्य अमेरिकाको साउथ क्यारोलाइना, जर्जिया, अक्लोहमा, टेक्सस, भर्जेनिया, वासिङ्टन डिसी, वाल्टिमोर, न्यूयोर्कमा पुगी त्यहाँको भौतिक विकास, संस्कृति र सभ्यताको बारेमा जानकारी लिनुभएको थियो।

केशवराज बरालको स्मृतिमा

कर्मयोद्धा र जीवनयात्रामा सफल उहाँको ८८ औं वर्षमा स्र्वर्गवास भएको छ। यसबाट उहाँको परिवार, समाज र राष्ट्रलाई नै अपुरणीय क्षति भएको थियो। उहाँका अधुरा इच्छा र सपनाहरुलाई साकार पार्न उहाँका सन्ततीहरुको निरन्तर कर्तव्य रहने छ। आजको १३ औं दिनको यस अवसरमा उहाँको आत्मालाई चिरशान्ति मिलोस्, सदा बैकुण्ठवास होस्। उहाँको प्रेरणाबाट परिवारजनले धैर्यधारणका साथ शक्ति आर्जन गर्दै उन्नतिको निरन्तर यात्रामा अघि बढ्ने कामना सहित हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।

(लेखक उक्त परिवारका गुरु पुरोहित तथा घनिष्ठ शुभचिन्तक हुनुहुन्छ।)

Related News

सम्बन्धित समाचार

hero news full width