आमाबुबा नै भगवान हुन्

आमाबाबाको जस्तो माया, ममता कहिँ, कतै भेटिँदैन र छैन पनि। बाबाआमाले सन्तानलाई गर्ने जति माया आफ्नै मुटुले पनि आफूलाई गर्दैन। त्यसैले भनिन्छ आमाबाबा ममताका खानी हुन्।

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७३

हरेक महिना औँसी आउँछन् तर कुनै पर्वसँग नजोडिएका औंसी अरु दिनजस्तै लाग्छन्। ती दिनमा कुनै उत्साह, उमंग र कुनै सम्झना हुँदैन। तर हरेक आउने मातातीर्थ औसी र कुसेऔँसीले उत्साह, उमंग र वेदना स्मरण गराउँछन्। आमाबाबा हुनेहरूका लागि यी औँसीले रमाइलो र उत्साह चाड ल्याउँछ भने आमाबाबा नहुनेका लागि भने वेदना, मातृत्वमा भावुक बनाउँछ। नडुबाओस् पनि कसरी, जसको नाम र जसको अनुहारै हेर्नका लागि भनेर बनेको तिथि हो, उनकै सम्मान गर्न, देख्नसम्म पाइँदैन।

आफूलाई जसले दुःख, कष्ट सहेर यो संसार देखाउँछ उनैलाई देख्न पाइँदैन भने जुन चिज हुँदाको महत्वभन्दा पनि नहुँदाको पीडा ठूलो हुँदो रहेछ। आमाबाबा हुनेहरूलाई भन्दा पनि आमाबाबा नहुनेहरूलाई यसले अत्यन्त दुःखी र  पीडित बनाउँछ। संसारमा एउटा सन्तानका लागि आमाबाबाको भूमिका कति हुन्छ भनेर हरेक जीवित मानवमात्रै नभएर पशुपंछी जति छन् ती सबैले आफ्ना सन्तानप्रति गर्ने व्यावहार देखेर पनि हामी भन्न सक्छौँ। आमाबाबाको जस्तो माया, ममता कहिँ, कतै भेटिँदैन र छैन पनि। बाबाआमाले सन्तानलाई गर्ने जति माया आफ्नै मुटुले पनि आफूलाई गर्दैन। त्यसैले भनिन्छ आमाबाबा ममताका खानी हुन्। देवताका पनि देवता हुन्। संसारमा सबैभन्दा ठूलो मान्छे एउटा सन्तानका लागि बाबाआमा नै हुन्।

मन्दिर भनेर बनाइन्छ, भगवान भनेर पुजिन्छ भने पनि आफ्नो घरभन्दा ठूलो मठ, मन्दिर, पाटी, पौँवा र बाबाआमाभन्दा ठूला कुनै भगवान हुन सक्दैनन्। बाबाआमालाई दुःखी बनाएर संसारका लाखौं मन्दिरमा पुग्छन्, भगवान भनेर ढोग्छन्। जन्मदिने आमाबाबालाई हेला गर्छ र भगवान खोज्नकै लागि मन्दिर धाउछन्। त्यस्ता व्यक्तिको यो संसारमा भगवान हुँदैन, यो धर्तीमा सच्चा भगवान भनेका बाबाआमा नै हुन्। तिनैलाई लत्याएर, तिरस्कार गर्छ भने ती सबै धर्मका कुरा उपयोगी हुँदैनन्। आमाबाबाको सेवा गर्दा-गर्दै कुनै मन्दिर वा तीर्थ, व्रत गर्न भ्याउँदैन र उदेखि बाबाआमा खुशी छन् भने त्यहाँ सबै खुसी हुन्छन्। त्यस्तो मान्छेसँग छरछिमेकी, इष्टमित्र, साथीभाइ सबै खुशी हुन्छन्।

सबै आफ्ना आफन्त खुशी हुनु भनेको नै भगवान खुशी हुनु हो। त्यसैले पनि मलाई यो समाज र यो समाजमा बचेका सुखी र निर्दयी मानिसदेखि मलाई दया लाग्छ। हिजो बाबाआमाले एक रात नछोडी खोकिलामा च्यापेर हुर्काएका सन्तानले आज बुढेसकालमा लगेर वृद्धाश्रममा राख्न थालेका छन्। जति बसे पनि आफ्ना सन्तानसँग बसेर आमाबाबालाई कहिल्यै धोको पुगेको हुँदैन, बस्ने रहर मेटिदैन। अझै अन्तिम अवस्थासम्म पनि सबै सन्तानसँगै छन् र एउटा सन्तानबाहिर छ भने पनि आमाबाबाको अन्तिमसम्मको ठूलो इच्छा भनेको आफ्ना सबै सन्तान एकै ठाउँमा देख्ने हुन्छ। सबै सन्तानको हातको पानी खाएर सबै सन्तानको अनुहार हेरेर मर्न पाए हुन्थ्यो भन्ने आमाबाबा धेरै छन्। पानी खानु भनेको सबै सन्तानको माया पाउनु हो। त्यसैले जति धेरै सन्तान भए पनि आमाबाबाका लागि त सन्तान धेरै हुँदैनन्, जति नै नराम्रा भए पनि बाबाआमाका लागि सन्तान जति राम्रा अरु कोही लाग्दैनन्। जति सन्तान भए पति बाबाआमालाई सन्तान धेरै लाग्दैनन्। सबै सन्तानप्रति बराबर नै माया हुन्छ बाबा आमाको मनबाट।

बाह्रौँ सन्तानलाई बाबु अथवा आमामात्रै एउटै भए पनि ती बाह्रै सन्तानलाई ती एकल भएका बाबा तथा आमा सबैलाई धेरै भएका हुन्छन्। सन्तानले डाँडाकाँडा ढाके पनि आफ्ना एकल बाबाआमालाई मायाले ढाक्न नसक्नु पनि हामी सन्तानकै कमजोरी हो। हामी जन्म दिने आमाबाबुलाई एक्लो बनाउछौँ र वृद्धाश्रममा लगेर छोडिदिन्छौ र कतिपय साथमै राखेर बुबाआमा पालेऊ भन्नेहरूले पनि अंशबण्डा र जिउनीजस्ता सम्पत्तिको खोजी गरिरहने र आमाबाको भन्दा पनि सम्पत्तिको दाउ हेर्ने गरेको पाइन्छ। अचेल धेरै सन्तानले देखावटी पालाइ र अर्थहीन माया र सम्मानहीन व्यवहार गरिरहेका छन्। यस्तो देख्दा र ती पीडित बाबाआमाको मन सम्झेर कतिपय बाबाआमा नहुनेको हृदय कुडिन्छ। त्यसैले जति पनि सन्तान छन्, ती सबै आमावाबाका सम्पत्ति हुन्। त्यसैले हामी सन्तानका लागि पनि हाम्रो जीवनमा आमाबाबाभन्दा ठूलो सम्पत्ति केही हुन सक्दैन तर पनि हामीलाई त्यो थाहा हुँदैन। यसरी लेखिरहँदा र भनिरहँदा खेरी अहिले समाजमा भएका र घटेका घटना सबै आफ्नै हुन् जस्तो लाग्दो रहेछ। पछिल्लो समय झन् छोराबुहारी विदेसिने क्रमले पनि घरमा भएका छोराबुहारीले पनि विभिन्न ठाउँमा बूढा भएका बाबाआमालाई अपमान र हेला गरेको देखिन्छ। सबैका सन्तानले  हेला गर्छन्, सबै बूढाबूढी अपहेलित छन् भनेको पक्कै होइन तर पनि सकारात्मक कुराभन्दा नकारात्मक कुराले मनलाई दुःखी बनाउँदो रहेछ। त्यसैले मलाई समाजमा हुने कतिपय नकारात्मक सोचाइले डसेका ती पीडित मुहारहरू देखेर आफैलाई पीडा हुन्छ। राष्ट्र र समाजले ज्येष्ठ नागरिकलाई सम्मान र हेरचाह गरोस्, बुढेसकालमा कुनै सन्तानले नहेरे पनि बूढाबूढीहरू अपहेलित हुन नपरोस्। मेरो देश र सरकारले हेर्छ भन्ने आत्मबल बढोस् र सबैभन्दा जनतालाई आनन्द र सुरक्षा दिन सरकार सधैँ अगाडि बढोस्। बुढेसकालमा सबै पीडा बिर्सिएर असल सन्तानको काखमा हुन पाइयोस् र आमा औँसी र कुसे औँसीमा मात्रै होइन साँझ, बिहान, दिनरात आफ्ना आमाबाबाको हेरविचार र भावना बुझ्न सक्ने असल सन्तान बन्न सकौँ। कुनै आमाबाबा पनि सन्तानको मायाबाट टाढा हुन नपरोस्। आखिर जिन्दगीको अन्तिम ढोका हामी सबैको बुढोसकाल नै हो। त्यसैले पनि पहिला गल्ति गरेरपछि पछुताउनुभन्दा अहिलेबाटै असल संस्कार थालनी गरौं।

Related News

सम्बन्धित समाचार

hero news full width