स्रोतसाधनको उपयोगमा जोड दिऔं -प्रदेश प्रमुख शेरचन

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७६
dfsfsf,fl

पोखरा ।गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।बागलुङ समाज पोखराको १९ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले स्वदेशमै उपलब्ध कच्चा पदार्थको अधिकतम उपयोग गरिनुपर्नेमा जोड दिए । “प्रकृतिले दिएका चिजले हामी सम्पन्नशाली छौं”, उनले भने, “यी स्रोत उपयोग गर्न सकेमात्रै हामीले आर्थिक समृद्धि हासिल गर्न सक्छौं ।”

प्राकृतिक स्रोतसाधनले गण्डकी प्रदेश सम्पन्न रहेको भन्दै प्रदेश प्रमुख शेरचनले प्रकृतिले वरदान दिएको भएपनि मानव जातिले उपलब्ध स्रोतसाधन सही उपयोग गर्न नसकेको उल्लेख गरे । गण्डकी प्रदेशमा थुप्रै खनिज पदार्थ रहेको भन्दै उनले खनिजको उत्खनन् गरेर त्यसमै आधारित उद्योगधन्दाको विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याए।गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले अहिले जनप्रतिनिधिहरू नैतिक पतनको बाटोमा अग्रसर रहेको भन्दै जनताले आशा गरेका व्यक्तिहरूबाटै निराश हुनुपर्ने अवस्था आउनु दुर्भाग्य भएको बताए ।

अर्का सांसद् इन्द्रलाल सापकोटाले राजनैतिक दल सुध्रिएमात्रै देशको समृद्धि सम्भव हुने भन्दै राजनीतिलाई घृणाको विषय नभइ असल संस्कृति निर्माणको जग बनाउनुपर्ने धारणा व्यक्त गरे । त्यस्तै, सांसद् मणिभद्र शर्मा कँडेलले बागलुङको विकासका लागि पोखरामा बसोबास गर्ने बागलुङेहरूले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए ।सांसद दिलमाया रोकामगरले बागलुङको समृद्धिका लागि जनप्रतिनिधि र समाजका अगुवाहरू मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रमुख राजनैतिक सल्लाहकार गोविन्द नेपालीले समाज दुःखी, गरिबको साथी बन्नुपर्ने आवश्यकता औंल्याए ।कार्यक्रममा सम्मानित व्यक्तितर्फबाट डा भानुभक्त शर्मा कँडेल, सल्लाहकार दीर्घप्रसाद पाण्डेलगायतले जिउँदाको जन्ती, मर्दाको मलामीका लागि समाजको गठन भएकाले समाजले दुःख, सुखमा साथ दिनुपर्ने बताए ।सो अवसरमा विभिन्न विषयमा विद्यावारिधि प्राप्त समाजका सदस्यहरू र ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुनिल पाण्डे र सचिव डिल्लीप्रसाद शर्माले बोलेका थिए । कार्यक्रममा समाजको स्मारिका विमोचन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width