बंगलादेश र कोलकातामा पोखरा प्रवद्र्धन गरिने

आदर्श समाज सम्वाददाता
माघ १९, २०७६
hhhh

रुपनारायण ढकाल-पोखरा, १८ माघ । पश्चिमाञ्चल होटल संघ पोखराले गण्डकी प्रदेश र सिंगो नेपाललाई बंगलादेश र कोलकातामा प्रवद्र्धन गर्ने भएको छ ।पोखरामा शनिवार आयोजित संघको ३९ औं साधारण सभाका अवसरमा त्यस्तो घोषणा गरिएको हो । संघले झन्डै १८ वर्षदेखि आन्तरिक बजारमा जाउँ है पोखरा र सन् २०१२ देखि भारतीय बजारमा चलिय पोखरा अभियान पनि संचालन गर्दै आएको छ । तेश्रो मुलुकहरुमा समेत संघले यस्ता प्रवद्र्धन अभियान संचालन गर्दै आएको छ ।

सो अवसरमा बोल्दै पोखरा महानगरपालिका प्रमुख मानबहादुर जीसीले नेपाल भ्रमण वर्ष २०२० तयारीबिना ल्याइएको भनी आलोचना गरे । पूर्वाधार र राम्रा सडक नहुँदा पनि भ्रमण वर्ष चुनौतीपूर्ण हुने उनले बताए । पोखरा आउने पर्यटकको तथ्यांक राख्न जरुरी भएको भनाइ पनि उनले राखे ।पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पनि उनले संघ सरकारसँग माग गरे । महानगरको सम्पन्न छैटौं नगर परिषद्ले यस्तो प्रस्ताव पारित गरेको जानकारी पनि उनले दिए । उनले सेती खोचलाई पर्यटकीय सम्पदाको रुपमा विकास गर्न खोजेको बताए । नक्षत्र पार्कको स्थापना पनि पोखरामा गरिने उनले सुनाए । यसले पोखरामा पर्यटक बसाइँ अवधि लम्बिने विश्वास लिए । होटलको ट्यारिफ सबै देशका नागरिकलाई समान भए राम्रो हुने सुझाव उनले राखे ।

फेवा तालको मापदण्ड ६५ मिटर लागू गर्न त्यो क्षेत्रभित्रको जग्गाको मुआब्जा दिन आवश्यक रकम जुटाउने कार्य चुनौतीपूर्ण रहेको बताए । भ्रमण वर्ष सफल पार्ने तर्फ सबैको सोच हुनुपर्ने उनले सुनाए ।
पोखरामा पर्यटक किन आउने भन्ने विषय प्रष्ट हुनुपर्ने भन्दै यहाँको शान्तिसुरक्षा महत्वपूर्ण पाटो भएको प्रमुख जीसीले बताए । पर्यटक स्वास्थ्य केन्द्र खोल्न जग्गा उपलब्ध गराउन उनले वडा ६ लाई आग्रह गरे ।
होमस्टेको मापडण्ड महानगरले बनाउन लागेको भन्दै गाँजा तान्न कतिपय युवा होमस्टेमा जाने गरेको आरोप उनले लगाए । सुरक्षा र सूचना प्रविधि पनि होमस्टेमा जरुरत आवश्यक पर्ने उनले बताए । उनले होमस्टेमा हाइजिनिक र त्यहींको उत्पादन हुनु पर्नेमा जोड दिए ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पोखरालाई यथाशक्य छिटो पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने भनाइ राखे । पर्यटकीय पूर्वाधारको विकासका लागि स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने सुझाव पनि उनले सो अवसरमा राखे । कोरोनाजस्तो भाइरसबाट पर्यटन क्षेत्रलाई थप प्रभावित हुन नदिन सरकार र व्यवसायी तथा स्वयं पर्यटक समेत सचेत हुनुपर्ने भनाइ उनको थियो ।
सो अवसरमा होटल संघ नेपालका महासचिव साजन शाक्यले जाउँ है पोखरा र चलिय पोखरा अभियानले यहाँको पर्यटनमा सकारात्मक प्रभाव परेको बताए । पोखराको ब्राण्डिङ गर्न सके थप राम्रो हुने भनाइ उनको थियो ।
पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखराका सबै सडक कालोपत्रे गर्नेतर्फ पोखरा महानगरको ध्यान हुनुपर्ने भनाइ राखे । कार्यक्रम गर्दा फरक शैली तथा छोटोछरितो गर्नेतर्फ समेत पश्चिमाञ्चल होटल संघले ध्यान दिन थालेको उनले बताए । पश्चिमाञ्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले संघले यो वर्ष सम्पन्न गरेका कार्यक्रम र भावी कार्यक्रम प्रस्तुत गरेका थिए । भ्रमण वर्ष सफल पार्न स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिने भनाइ उनले राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width