घरघरमा सिंहदरबारको अधिकार जरुरी -मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
माघ ७, २०७६
20200120_144556

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले घरघरमा सिंहदरबारको अधिकार दिन नसकेसम्म संघीय शासन प्रणाली सफल भएको मान्न नसकिने बताएका छन् ।

पोखरा महानगरपालिकाको छैटौं नगरसभा सोमवार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘सबैभन्दा उपयुक्त शासन प्रणाली नै हामीले अपनाएका छौं । असमानताबीच समानताको अभ्यास गर्दै राष्ट्रिय एकता बलियो बनाउनु नै संघीय प्रणाली सफल हुनु हो ।’ केन्द्र सरकारले जिल्लामा भएका विभेद मसिनो गरी देख्न सक्दैन । यहाँ जाति, भाषा, धर्म, आर्थिक तथा सामाजिक रुपमा विभेद छन् । ती विभेद राम्रोसँग बुझ्न प्रदेश र स्थानीय सरकारले मात्र सक्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘नेपालमा बस्ने सबै जातजातिले गर्वसाथ मेरो राज्य भन्न पाउनुपर्छ ।’

‘संघीयता खर्चिलो नभएको दाबी गर्दै संघीयताअघि ४ हजार गाविस र ५८ नगरपालिका थिए तर अहिले ७ सय ६१ वटा सरकार छन्, कसरी संघीयता महँगो भयो ?, प्रश्न गर्दै उनले भने, ‘संघीयताबारे आमजनतामा विश्वास जाग्न जरुरी छ । केन्द्रीय सरकारले देशका सबै ठाउँका समस्या र विभेद देख्दैन । प्रदेश र स्थानीयरुपमा रहेको विविधताभित्र एकता गर्न संघीयता नै उचित व्यवस्था मानिन्छ ।’

‘दुईतिहाइको सरकार छ, सरकार तानाशाही बन्न खोज्दा प्रतिपक्षी कमजोर भयो भने लोकतन्त्र नै खतरामा पर्न पनि सक्छ, हामी चाहन्छौं सरकारले गल्ती गरेको खण्डमा प्रतिपक्ष बलियो रुपमा प्रस्तुत होस्,’ मुख्यमन्त्री गुरुङले भने, ‘देशमा तीन÷चार वटाभन्दा बढी राजनीतिक पार्टी आवश्यक छैन ।’ ‘देशलाई द्वन्द्वबाट मुक्त गर्न संघीयतामा गएका हौं, संघीयता सफल पार्ने दायित्व सबैको हो । गण्डकी प्रदेश र त्यसमध्ये पनि पोखरा अति नै सुन्दर छ, विदेशीले पनि पोखरा सुन्दर भएको महसुस गर्न सक्नु पर्छ,’ उनले भने, ‘फेवाताल संरक्षण गर्नु प्रदेश सरकार र महानगरको पहिलो दायित्व हो । पोखरालाई स्मार्ट सिटीका रुपमा विकास गर्न महानगरले कदम चाल्नुपर्छ ।’ प्रत्येक वडामा पुग्ने ८ मिटरको सडक निर्माण गर्न उनले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई सुझाव दिए ।

गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले गणतन्त्र स्थापना गर्न ७० वर्ष लड्यौं भन्दै अब विकास र समृद्धि दिने कार्यमा अगाडि बढ्न जरुरी रहेको बताए । गण्डकी प्रदेश प्राकृतिक रुपमा मात्र नभएर कला, संस्कृति, जातजाति, भेषभुषामा धनी भएकै कारण यहाँ विदेशी पर्यटक घुम्न बढी आउने बताए । गण्डकी प्रदेशसभा सदस्य गायत्री गुरुङले सुन्दर पोखरालाई अझ बढी सुन्दर बनाउन महानगर लाग्नुपर्नेमा जोड दिइन् । अर्का सदस्य रामजी बरालले पोखरालाई नमुना महानगरको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । यस्तै, प्रदेश सदस्य विन्दुकुमार थापाले महानगर प्रमुखले प्रतिपक्षको आवाज नसुन्ने गरेको गुनासो आएको बताए ।
उक्त अवसरमा प्रदेशसभा विकास समिति सभापति दीपक कोइराला, प्रदेश सदस्य राजीव पहारी, प्रभा कोइराला, पुष्पा केसी, मीत्रकुमारी गुरुङ (सुवेदी), मीना गुरुङ लगायतले आफ्नो भनाइ राखेका थिए ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा शुरु छैटौं नगरसभा ३ दिनसम्म चल्ने छ । सभामा वनसम्पदा संरक्षण ऐन २०७६, स्थानीय वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन २०७६, खरिद नियमावली, पशुस्वास्थ्य तथा पशुसेवा ऐन, पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, कर्मचारी सेवा ऐन लगायत १० वटा विधेयक प्रस्तुत हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width