वडा १ मा मेलमिलाप केन्द्र

आदर्श समाज सम्वाददाता
पौष १९, २०७६
nayake_Fotor

पोखरा महागनरपालिका वडा १ मा मेलमिलाप केन्द्र स्थापना भएको छ। पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो।

केन्द्रको विहीबार पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले उद्घाटन गरिन्।

उपप्रमुख गुरुङले मेलमिलापमार्फ्त समाजमा सद्भाव कायम हुने बताउँदै वडा तहका विवाद समाधानमा सहजता आउने जनाइन्।

उनले मेलमिलापकर्ता न्यायिक समितिकै अंग भएको बताउदै पक्ष विपक्ष दुवैलाई सहमतीमा ल्याएर विवाद समाधान गर्न आग्रह गरिन्। मेलमिलापकर्ताको भूमिका स्थानीय सरकार सञ्चालन ऐन र महानगर न्यायिक समितिको कार्यविधि रहेर मेलमिलाप गराउन आग्रह गरिन्। उपप्रमुख गुरुङले न्यायिक समितिले १३ वटा विवाद फैसला गर्न पाउने र ११ वटा विवादमा मेलमिलाप गराउन सक्ने व्यवस्था रहेको बताउँदै न्यायिक समितिको अधिकार क्षेत्र र मेलमिलापकर्ताको काम, कर्तव्य र अधिकार बारे जानकारी गराएकी थिइन्।

वडा तहमै विवाद समाधान हुदाँ अदालती झन्झट, आर्थिकको बचत, समाजिक सद्भाव र पक्ष विपक्ष दुवैले जित्ने भएकाले मेलमिलाप उत्तम उपाय भएको बताइन्।

न्यायिक समिति सदस्य पार्वती कार्कीले न्यायिक कामलाई प्रभावकारी बनाउन वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन्।

संविधान र स्थानीय सरकार सञ्चालन ऐनले गरेका व्यवस्थामा टेकेर न्यायिक समितिले काम गर्ने बताइन्।

वडाध्यक्ष शारदाकुमारी पराजुलीले वडामा हुने विवाद समाधानमा मेलमिलाप कर्ताको भूमिका महत्वपूर्ण हुने बताइन्।

उनले वडाका विवादलाई महानगर वा अन्य ठाँउमा जाने अवस्था हुन नदिने गरि मेलमिलाप गराउन आग्रह गरिन् ।

वडाध्यक्ष शारदा कुमारी पराजुलीको अध्यक्षमा भएको कार्यक्रममा नेकपा वडा कमिटी अध्यक्ष दामोदर रिमाल, काँग्रेस वडा सभापति टंकनाथ पौडेल, मेलमिलापकर्ता प्रेमरमण आचार्य लगायतले आ–आफनो भनाइ राखेका थिए।

पोखरा महानगरपालिकाको न्यायिक समिति गत वर्ष पहिलो चरणमा दश वडामा न्यायिक समिति गठन गर्ने कार्य सम्पन्न गरेको थियो। दोश्रो चरण अन्र्तगत अब महानगरका सबै वडामा केन्द्र स्थापना गरिने न्यायिक समिति सदस्य किशोर बरालले बताए।

नेपालको संविधानले स्थानीय तहका विवाद समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना गरेको छ। न्यायिक समितिले वडा तहका विवाद वडामै मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गर्नसक्ने व्यवस्था गरेको छ।

महानगरका २३ वटा वडामा तीन जना भन्दा कम मेलमिलापककर्ता रहेकोले गत जेठ २६ देखि असार १ गतेसम्म आधारभूत तालिम आयोजना गरी एक सय ७४ जना मेलमिलापकर्ता महानगरमा सूचिकृत गरेको थियो।

अब २३ वडामा मेलमिलापकर्तालाई तालिम दिएपछि केन्द्र स्थापना गरिएको र अब केन्द्र स्थापना सुरु भएको न्यायिक समिति सदस्य बरालले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width