कुखुरा व्यवसायी बिचौलीयाको मारमा

रासस
पौष ७, २०७६
maxresdefault

पाल्पा,  ७ पुस । कुखुराले बजार मूल्य नपाउँदा रामपुरका व्यावसायिक कुखुरापालक कृषक मारमा परेका छन् । ठूलो लगानीमा व्यवसायमा चलाएका यहाँका व्यवसायी लगानी पनि नउठ्ने गरी कुखुरा बिक्री गर्न बाध्य छन् ।

बाहिरबाट आएका जिउँदो कुखुरा र अण्डा सस्तो मूल्यमा पाएपछि स्थानीय उत्पादनले बजार नपाएको हो । अहिले जिउँदो कुखुराको मूल्य प्रतिकेजी रु १६० को हाराहारीमा रहेको छ । बिक्री गर्ने बेला भएका कुखुराले बजार नपाउँदा समस्या परेको व्यवसायी मेगराज न्यौपाने बताउछन् ।

“कुखुरा बिक्री गर्न लायकका छन् १६० दिँदा पनि व्यापारीले लैजान मानेका छैनन् दानापानीको भाउ सुन्दा डरलाग्दो छ, कुखुरापालक व्यवसायी सङ्कटमा परेका छौँ”, उनले भने । उनको फार्ममा हाल एक हजार कुखुरा छन् । करिब रु एक करोडभन्दा बढीको लगानीमा कुखुरापालन व्यवसाय चलाएका रामपुर एग्रोफार्मका सञ्चालक भुवन अर्याल पनि लागतअनुसारको मूल्य नपाउँदा चिन्तित छन् । उनले अण्डा उत्पादन गर्ने उद्देश्यले लेयर्स जातका ३ हजार कुखुरा पालेका छन् ।

अण्डाले बजार मूल्य नपाउँदा व्यवसाय नै धरापमा पर्ने स्थिति आएको उनले बताए । “रामपुरमा दैनिक ८ हजारसम्म अण्डा आवश्यकता भए पनि स्थानीय उत्पादनले बजार नपाएको अवस्था छ, नगरपालिकाले निश्चित दरभाउ कायम गरिदिनुपर्ने र नियमित रेखदेख गरेमा मात्र कृषकले बजार मूल्य पाउने छन्”, उनले भने । रामपुर नगरपालिकाभित्र अण्डा उत्पादन गर्ने चार वटा फार्म छन् । यहाँ दैनिक ५ हजार अण्डा उत्पादन हुने गरेको । यहाँ उत्पादन भएको अण्डा प्रतिगोटा ९ रुपैयाँमा मा बिक्री भइरहे पनि उपभोक्ताले भने १५ रुयैयाँमा मा खरिद गर्न बाध्य छन् ।

१ हजार १ सय ३५ रुपैयाँ दानाको मूल्य रहँदा १ सय २० रुपैयाँमा प्रतिकिलो जिउँदो कुखुरा बेच्नुभएका रामपुर कुखुरापालक कृषक समूहका अध्यक्ष धातानन्द अर्यालले अहिले दानाको मूल्य बढेर ३ हजार ५सय ७५ रुपैयाँ पुग्दा पनि प्रतिकेजी रु १६० मा बिक्री गर्नुपर्दा कृषक मारमा परिरहेको बताए । “केही होला कि भनेर व्यवसाय गर्ने हो, कुखुराको दानापानीको मूल्य आकाशियो तर कृषकको उत्पादनले कहिल्यै बजारमा लागतअनुसारको मूल्य पाउन सकेन, व्यवसाय गरेको उल्टै घाटा बेहोर्नुपरेको छ”, उनले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width