आरनमै वित्यो लालबहादुरको जीवन

rss रासस
चैत्र ३, २०७५

दुल्लु, ३ चैत्त । धुलाम्ये सडक छेउको सानो झुपडी । खरको छानाभित्र असरल्ल छरिएका फलामका टुक्राहरु । थोत्रो प्लास्टिकमा पोको पारिएको कोइला । कोइला पोल्न प्रयोग गरिने भत्किएको चुलो । टिनको पाता, फिउसको भाँडो, साइकलको पाङ्ग्राले निर्माण गरिएको आरन । चुलो नजीकै घन र हतौडा । यो दृश्य दैलेखको दुल्लु नगरपालिका–८ स्थित पौवा खलंगाको सडकखण्ड छेउको फलामको सामग्री बनाउने आरनको हो । लाल बहादुर विक यही झुपडीमा बिहानीको झुल्के घामसँगै परम्परागत रुपमा फलामका सामग्री बनाउने काम गर्छन् । उनले यही आरनमा फलामको सामग्री बनाउन थालेको १५ वर्ष पुगिसक्यो तर, बाली प्रथाबाट अन्नबाली उठाएर जीवन गुजारा गर्नुपर्ने बाध्यताले अझै छोडेको छैन ।

उनले बुबाबाट  अारनकाे   गर्न सिकेका हुन् । “पुर्खादेखि नै यही काम गर्दै आएका छौं, आरनको काम गरेरै बुबाले हामीलाई पाल्नुभयो,” आरनको पङ्खा घुमाउँदै उनले भने – “मैले पनि आरन पेशा अङ्गाले ।” यस अघि केही समय गरगहना बनाउने काम गरेका लाल बहादुरले पछि गएर आरन पेशालाई नै निरन्तरता दिएका हुन् । गरगहना बनाउने काम नियमित नआउने र आम्दानी पनि नहुने भएपछि आरन पेशालाई निरन्तरता दिएको लाल बहादुरले बताए । “हाम्रा बाबुबाजेले आरनको काम गर्दा बाली प्रथा थियो, अहिले पनि त्यही छ,” उनी भन्छन् – “फलामको सामान बनाए बापत पैसा दिने थोरै छन् ।” उनका अनुसार पहिले तुलनामा पनि अहिले यो व्यवसाय फस्टाएको छैन । उनी काम गरेबापत बाली लिन्छन् । यहाँ वरपरका झण्डै ४० घरधुरी उनको बालीघरे हुन् । फलामका सामान बनाए बापत हरेक याममा उनी एक डोको मकै, पाँच पाथी धान र पाँच पाथी गहुँ लिने गर्छन् । उनका श्रीमतीसहित दुई छोरा र दुई छोरी छन् । “मेरो एक्लो कमाइले छ जनाको परिवार जसोतसो पालिरहेको छु,” उनले भने । फलाम बनाउने काममा उनका श्रीमती गगन मिजारले बेलाबखत सहयोग गर्ने गरेकी छन् ।

“काम गरेर दैनिक हातमुख जोड्न ठिक्क हुन्छ, छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ताले सताउँछ,” उनले भने – “एउटा छोरी सात कक्षामा पढ्छे । अर्की छोरी सानै छ । जेठो छोरा चार कक्षा पढेर छोड्यो । अर्को छोरा पनि सानै छ ।” आरन पेशाले उनको दैनिक गुजारा चलेको छ । “मेरो यही झुपडी भएको सडकखण्ड भएर स्थानीय तहदेखि मुलुकको मुख्य बागडोर सम्हालेका ठूला नेताहरु दिनहुँ जसो ओहोर दोहोर गर्छन् तर, मेरो यो झुपडीमा उनीहरुको नजर कहिल्यै गएन्,” उनले भने । उनी पुरानै प्रविधिबाट फलाम पिटिरहेका छन् । फलाम पिट्ने विद्युतीय मेसिन उनीसँग छैन । “यो पेसा जोखिमपूर्ण छ, आगो र फलामसँग काम गर्नुपर्छ, खुल्ला झुपडीमा काम गर्नु परेकाले धुलो र धुवाँ सहनु परिरहेको छ,” उनले भने – “हामीलाई नगरपालिकाले पनि हेरेन ।”

उनका लागि जीवन गुजाराको एउटै बाटो यही आरन मात्रै हो । आरन सञ्चालनका लागि अहिलेसम्म कसैको सहयोग नपाएको उनको गुनासो छ । आधुनिक आरन सञ्चालन गर्ने उनको धोको पूरा हुन सकेको छैन । आरन सञ्चालनका लागि आधुनिक मेसिनहरु सहयोग पाएको भए व्यवसायलाई व्यवस्थित गर्ने उनको योजना छ । उनले फाटफुट रूपमा ज्याला लिएर पनि भाँडावर्तन बनाउने गरेका छन् । आरनमा किसानका लागि खेतीपाती गर्ने र घरव्यवहार चलाउन आवश्यक पर्ने हँसिया, कुटो, कोदालो, फरुवा, बञ्चरोलगायतका फलामका औजार बन्ने गरेका छन् ।

आरन व्यवसायमा मेहनत धेरै गर्नुपर्ने उनी बताउँछन् । “अब गर्मी शुरु भयो आगोसँग दिनहुँ जसो खेल्नुपर्दा निकै गाह्रो हुन्छ, आगोमा फलाम गलाउन मेहनत बढी गर्नुपर्छ ।” आरनमा फलामको काम गर्नुपर्ने भएकाले काममा ध्यान दिनुपर्ने र मेहनत गर्नुपर्ने भएर नयाँ पुस्ताले यो व्यवसाय नरुचाएको उनको बुझाइ छ । “आधुनिकीकरण हुन नसक्दा आरन व्यवसाय लोप हुँदैछ,” उनले भने । मकै गोड्ने कोदालो, घाँस काट्ने हँसिया, फलामका छुरी, खुकुरी लगायतका औजार बनाउन गाउँले उनको आरनमा आउने गरेका छन् । कोइला, गोलको कमी हुँदा आगोमा फलाम तताउने तरीका हराउँदै छ । “राम्रो कोइलाले मात्र फलाम गाल्न सजिलो हुन्छ,” उनले भने – “दलित समुदायको पुख्र्यौली पेशाको रूपमा रहेको आरन व्यवसायबाट जीविकोपार्जन गर्नै मुश्किल छ ।”

अधिकाँश मानिस पुरानै औजार मर्मत गर्न आरन आउने गरेको लाल बहादुरको अनुभव छ । पहिले जस्तो आरनमा बसेर फलाम पिट्ने काम गर्न उनी अहिले गर्न सक्दैनन् । “अचेलका पुस्तालाई न आरनको बारेमा थाहा छ न त आरनको कामलाई महत्व नै दिन्छन्,” उनले भने – “गाउँ गाउँमा आधुनिक ग्रिल उद्योगहरु सञ्चालनमा आएपछि हाम्रो आरनको महत्व दिनप्रतिदिन घट्दै गइरहेको छ ।”

“अहिलेको पुस्ता देशमा आरनको काम गर्नुभन्दा विदेश जान रुचाउँछन्,” उनले भने । व्यावसायीकरण हुन नसक्दा आरन लोप हुने अवस्थामा पुगेको छ । लाल बहादुर मात्र होइन यहाँका गाउँपिच्छे आरन सञ्चालनमा छन् तर, यस पेशामा संलग्न व्यक्तिको जीवनस्तर माथि उठेको पाइँदैन । दैनिक गुजारा चलाउन मात्र आरनमै निर्भर रहनपरेको दलित समुदायको गुनासो छ । आरन व्यवसाय आम्दानी तथा आर्थिक वृद्धिको स्रोत बन्न नसक्दा दलित युवाको आकर्षण बढ्न सकेको छैन । आफ्ना पुर्खादेखि गरिँदै आइएको आरन व्यवसायलाई थप सुधार गर्दै लैजानुपर्ने यहाँका दलित अगुवाहरु बताउँछन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

लायन्स आर्दश चौतारी द्वारा वृक्षारोपण

पार्टी नियमावली परिमार्जन आवश्यक : कोइराला

फेवा वेगनास चौतारीको वृक्षरोपण

फुसेर्खोला कोरिडोर सडक उद्घाटन

विद्यार्थी अभिभावक उत्साहित

प्रमुख समाचार

रानीमहलको जग्गा व्यक्तिका नाममा

थप प्रमुख समाचार

राष्ट्रिय माविमा खानेपानी टंकी शिलन्यास

आरोहण व्यवस्थापनमा शून्य पोखरा