जहाँ वस्ती, त्यही डढेलो

धनबहादुर गुरुङ
चैत्र ७, २०८०
aagalagi

पोखरा । काहुँडाँडामा लागेको आगो क्षणभरमै सामाजिक सञ्जालमा डढेलो झैं सल्कियो । आगोको मुस्लोले सोमबार राति ८ बजेतिर पोखरा सहर नजिकैको काहुँडाँडा ढाकिदै थियो । आगो निभाउने उपाय नभएपछि पोखरेलीले वस्तीमा केही नहोस् भनी रातभरि कामना गरिरहे । काहुँडाँडाका धेरै घर जोखिममा परेको आकलन उनीहरुको थियो ।

तर, राति नै सुरक्षाकर्मी, डिभिजन वन कार्यालय कास्कीका कर्मचारी र केही स्थानीयको सहयोगमा दन्किरहेको आगो केही मत्थर भयो । सबैको प्रयासमा अग्निरेखा बनाएर जोखिम टारेको डिभिजन वन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गौतमले बताउँछन् । उनका अनुसार मंगलबारमात्र कास्कीको ३ भेगको धेरै स्थानमा वन डढेलोको खबर प्राप्त भएको छ । ‘हिजो ३ स्थानमा धेरै ठाउँमा डढेलोको खबर प्राप्त भएको थियो,’ उनले भने, ‘नियन्त्रण गर्न निकै गाह्रो भयो । भौगोलिक विकटताले नियन्त्रणमा समस्या भएको छ ।’ मंगलबार पनि निर्मलपोखरी क्षेत्रको वनमा डढेलो लागेकाले अग्नि नियन्त्रण टोली त्यसतर्फ गएको उनले सुनाए ।

काहुँडाँडाको आगो पूर्ण रुपमा नियन्त्रणमा नआएको उनले बताए । ‘हामीले तीन वटै सुरक्षा निकाय अनि स्थानीयको सहयोगमा भरपूर प्रयास गरेका हौं,’ उनले भने, ‘तर, भौगोलिक विकटताका कारण आगो नियन्त्रणमा समस्या परेको छ । सोमबारको डढेलो नियन्त्रणमा नआउँदै निर्मलपोखरीमा डढेलो लागेको सूचना आयो । हाम्रो टिम त्यता जाँदैछ ।’

आगोले भीषण रुप लिएको पोखराको मुख्य बजारबाटै प्रस्ट देखिन्थ्यो । डढेलो प्रहरी, नेपाली सेना, सशत्र र स्थानीयको प्रयासले पनि नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । वस्तीनजिक आगो आइपुगेपछि मानिसहरु जागै बसिरहेका थिए भने पोखरा बजारबाट आगो नियमन्त्रण गर्न अन्य नागरिक पनि पुगेका थिए । आगोबाट बस्ती जोगिए पनि वन्यजन्तु र चराचुरुंगीमा भने ठूलो नोक्सानी पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार डढेलो नियन्त्रणमा २ वटा दमकलसहित ठूलो संख्यामा प्रहरी, सशस्त्र, नेपाली सेना परिचालन भएका थिए तर सबै ठाउँमा दमकल पनि नजाने भएकाले समयमै आगो नियन्त्रण गर्न अप्ठेरो परेको हो । प्रहरीले आगो लाग्नुको कारणबारे खोजी भइरहेको प्रहरीले जनायो ।

जहाँ वस्ती छ, त्यही नजिकैको वनमा डढेलो लागेको डिभिजन वन कार्यालय कास्की डिभिजनल वन अधिकृत कोमलराज काफ्लेले बताए । ‘जहाँ मान्छेहरु छन्, जहाँ बसोबास अनि गाउँ छ, त्यहीको वरिपरि आगो लागेको छ,’ उनले भने, ‘वन जोगाउने सबैभन्दा पहिलो जिम्मेवारी त्यहीका मानिसहरुको हो । तर, त्यही डढेलो लागेको छ ।’ डढेलोले संकटापन्न जीवजन्तुदेखि बहुमूल्य रूख बिरुवामा क्षति पु¥याउने गरेको उनले बताए ।

‘कार्यालयले वनमा लाग्ने डढेलो नियन्त्रणका लागि सचेतना कार्यक्रमदेखि सञ्जाल गठनसम्मको काम गर्दै आएको छ,’ उनले भने । उनले स्थानीय वन उपभोक्ता समूहका प्रतिनिधि, सुरक्षा निकाय, वन सुरक्षा निकाय र डिभिजन वन कार्यालयको कर्मचारी सम्मिलित वन डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको बताए । सञ्जालले वन क्षेत्रमा लागेको डढेलो निभाउनेदेखि आगलागीबारे जनचेतना फैलाउनेसम्म कार्य गर्दै आएको उनले बताए ।

उनले सीमित स्रोतसाधन बाबजुत कास्कीमा डढेलो नियन्त्रणको सवालमा उल्लेखनीय प्रगति भएको दाबी गरे । उनले कास्कीको वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि आवश्यक प्राविधिक र जनशक्तिलाई तालिम र उपकरणसहित परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको बताए । तर, यो वर्ष डढेलो व्यवस्थापनका लागि बजेट शून्य रहेको उनले सुनाए । ‘यो आर्थिक वर्षमा डिभिजन वन कार्यालय कास्कीमा डढेलो व्यवस्थापनका लागि बजेट शून्य छ,’ उनले भने, ‘अघिल्ला वर्षहरुमा २÷३ लाख बजेट हुन्थ्यो भनेर सिडिओ’सापलाई जानकारी गराउँदा प्रस्ताव लिएर आउनुस् मिलाउला भन्नुभएको छ ।’ ढडेलोजस्तो संवेदनशील विषय जनता, सामुदायिक वन (फेकोफन), राजनीतिक दलले प्रथामिकतामा नराखेको उनको गुनासो थियो ।

वन डढेलोको शृङ्खला बढिरहँदा प्रशासनले सचेतनाका लागि मंगलबार वन डढेलो नियन्त्रणसन्बन्धी सूचना जारी गरेको छ । डढेलो लागेमा जानकारी गराउन अनि आगो लगाउने भेटिए कानुनी कारबाहीमा लगिने सूचनामा उल्लेख छ । उक्त सूचनामा आगो लगाउने वा आगलागीको कसूर पाइए वन ऐन, २०७६ को दफा ५०(४) मा कसूर गर्नेलाई क्षति भएको बिगो असुल गरी ३ वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

डिभिजन वन कार्यालय कास्कीको तथ्यांक अनुसार कास्कीमा २ लाख १ हजार ७ सय हेक्टर क्षेत्रफलमध्ये करिब ४६ प्रतिशत वन छ । त्यसमध्ये ६५ हजार ५ सय ६.३ हेक्टर अन्नपूर्ण संरक्षण क्षेत्रमा र बाँकी २८ हजार ६ सय ९५.८६ हेक्टर (सामुदायिक, संरक्षित, सरकारद्वारा व्यवस्थित, धार्मिक, निजी वन) डिभिजन वन कार्यालय कास्कीमातहत छ । कार्यालय मातहत रहेका क्षेत्रमध्ये डढेलो लागेको वन मावन वस्तीबाट नजिकै रहेको डिभिजनल वन अधिकृत काफ्लेले सुनाए ।

डढलेको मूल कारण मावन नै रहेको उनी बताउँछन् । ‘प्रमाण नै नपुगी कारबाही गर्न हामीले पनि मिलेन तर धेरैले राम्रो घाँस पलाउने दाउरा पाइने निहुँमा ढडेलो लगाएको भन्ने सुनिन्छ,’ उनले भने, ‘यसमा स्थानीय मानिसहरु नै चनाखो हुनुपर्छ । केहीकेही घटना मात्र अरु कारणले भएका होलान् ।’

विनासकारी डढेलो लागिहाले सबैभन्दा पहिला आफू सुरक्षित स्थनमा पुग्न उनी सल्लाह दिन्छन् । त्यसपछि सम्भव भएसम्म साधनस्रोत जुटाएर नियन्त्रणमा लाग्नुपर्ने उनको भनाइ छ । त्यस्तै अग्निरेखा बनाउँदा पनि आगो नियन्त्रणमा सघाउ पुग्नेछ भने अर्को उपाय भनेका एन्टी फायर गर्नुपर्ने उनले सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै