सहकारीमा संकट समाधान कसरी ?

आदर्श समाज सम्वाददाता
फागुन ५, २०८०
Sankat ma Sahakari

पोखरा । पछिल्लो समय सहकारीमा संकट निम्तिरहँदा पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा यसबारे घनीभूत बहस भयो । पूर्व न्यायाधीश गौरीबहादुर कार्की, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र राष्ट्रिय सहकारी महासंघ लि. नेपाल अध्यक्ष ओमदेवी मल्ललाई पत्रकार जनार्दन बरालले सहकारीमा देखिएका संकटबारे प्रश्न सोधे ।

तीनै जनाले एउटै स्वरमा भने, ‘सहकारी सहकारी जस्तो भएनन् । सिद्धान्त बिर्सिएर चलाइयो ।’

मल्लले बाहिर हल्ला चलेजस्तो सहकारीमा समस्याको चाङ नरहेको दाबी गरिन् । ‘सहकारीमा मात्रै समस्या आएको होइन । यतिबेला अर्थतन्त्र नै सकसमा छ’, उनको दाबी छ । सहकारी ऐन २०७४ पूर्ण रुपमा कार्यन्वयन हुन नसक्दा पनि सहकारीमा समस्या देखिएको मल्लले बताइन् । ‘सहकारी पनि वित्तीय क्षेत्र हो भनेर कर्जा सूचना केन्द्रको व्यवस्था गरेका थियौं । कर्जा असुली न्यायाधीकरणको व्यवस्था पनि गरेका थियौं । बचकर्ता र कर्जा सुरक्षण कोष जुन बिमाको काम गर्ने अवधारणाले ल्याएका थियौं । ऐन बनेपछि मन्त्रालयमा निरन्तर दबाब दिएपनि लागु हुन सकेन’, उनले भनिन् ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीले सहकारीलाई नियमन गर्न बनेका कानुन कार्यान्वयन हुन नसक्दा समस्या देखिएकोमा पनि सहमति जनाए । सहकारी खोल्न दिने सरकारले खोलेपछि नियमन नगर्ने उनको भनाइ छ । अनुगमन भए पनि प्रभावकारी नहुने उनको आरोप थियो ।

‘बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीको रिपोर्ट अहिले पनि मन्त्रालयमा होला, सबै ठिक छ भन्नेछ । सहकारी संस्था जाँच्न जादा त्यो सहकारी संस्थाहरुले उनीहरुलाई पैसाको बिटो दिने रहेछन् । अनि दशैंमा घरघरमा सहकारी सञ्चालकलाई पैसा पठाउन लगाउने रहेछन्’, २०७० सालमा काठमाडौंको ओरियन्टल सहकारी प्रकरणको छानविनमा फेला परेको सम्झदै कार्कीले सुनाए । ऋण तथा बचत सहकारीमा बढी समस्या देखिएको पूर्वन्यायाधीश कार्कीले बताए । ‘अहिले एक जना मात्रै सक्रिय भएर सहकारी खोल्छ । उ नै अध्यक्ष बन्छ, परिवार अथवा आफ्ना आसेपासेलाई सञ्चालक बनाउँछ, अरु मान्छेको हात हुदैन’, उनले थपे, ‘नेपाली जनता फेरि भेडा छौं हेर्नुस् । ब्याज यति प्रतिशत दिन्छ भनेपछि बैंकमा ब्याज थोरै छ त्यहाँ लएर पैसा राख्छौं ।’

सहकारी मन्त्रालयका सचिव दुवाडीले सहकार्यको सिद्धान्तले खोलिएको सहकारीमा समस्या आउनु विडम्बनापूर्ण भएको बताए । ‘एकका लागि सबै र सबैका लागि एक मूल मन्त्र लिएर सहकारी अभियान सुरु भएको हो । यसमा समान आर्थिक हैसियत भएका जमात मिलेर आफ्नो समस्या समाधान गर्न सिर्जना गरेको वैधानिक संस्था हो’, दुवाडीले भने, ‘एकआपसमा विश्वास, घनिष्ठता र एकले अर्काको समस्याप्रति अपनत्व ग्रहण गर्दै समस्या समाधानमा प्रयत्नशिल हुनुपर्ने हो । तर, हामीले त्यो लाइनबाट अगाडि बढाउन नसक्दा समस्या सिर्जना भएको देखियो ।’ सहकारीमा अविश्वासको वातावरण सिर्जना भइरहेको अवस्थामा विश्वासको वातावरणमा बदल्न सरकारले सहजकारी भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width