तरकारी मण्डीमा महानगरको अनुगमन

आदर्श समाज सम्वाददाता
फागुन २, २०८०
anugaman (1)

पोखरा । पोखरा महानगरपालिकाले आलु, प्याज र तरकारी पसलमा मंगलबार अनुगमन गरेको छ । पोखरा महानगरपालिकाका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले पोखराको शान्तिवनस्थित कृषि उपज तथा थोक बजारभित्रका ४ वटा आलु, प्याजका पसलमा अनुगमन गरिएको हो ।

पोखराका बजारमा कुहिएको प्याज बिक्री वितरण भइरहेको भन्ने हेलो प्रधानमन्त्रीमा गुनासो परेपछि कृषि उपज तथा थोक बजार (मण्डी) मा रहेका आलु, प्याज गोदाममा अनुगमन गरिएको बताइएको छ ।

अनुगमनका क्रममा ढकाल आलु पसल फोहोर, मूल्यसूची नभएको, नापतौलको दर्ता नभएको, व्यवसाय नवीकरण नभएको, खरिद तथा बिक्री बिल नभएको, सामान अव्यवस्थित रुपमा बिक्री वितरण गरेको भेटिएको छ ।

पोखरा महानगर सहकारी तथा उद्योग शाखामा प्रमुख अनील कार्कीका अनुसार पसल सञ्चालक देवराज ढकाललाई पसल सरसफाइ गर्न र जिल्ला प्रशासन कार्यालय कास्कीमा एक हप्ताभित्र उपस्थित हुन निर्देशन दिइएको छ ।

यस्तै, सन्दिपश्री ट्रेडर्समा सामान खरिद र बिक्री बिल नभएको र आफूले सामान खरिद गर्ने व्यवसायीलेसमेत खरिद बिल नदिएको गुनासो गरे । उनले आफूले किन्ने र बिलको मूल््य फरक पर्ने गरेको भन्दै त्यसलाई समायोजन गरिदिन आग्रह गरे ।

नम्रता विविध सप्लायर्सले खरिद बिक्री बिल अध्यावधिक नगरेको भेटिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले बताए ।
आर एन्ड जयसवाल सप्लायर्समा मूल्यसूची नभएको, सरसफाइ नभएको, नापतौल, किलाकाँटा नवीकरण नभएको, व्यवसाय नवीकरण नभएको भेटिएको छ । सञ्चालक सरोजकुमार जयसवाललाई एक हप्ताभित्र महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।

पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले आलु र प्याजको खुद्रा र होलसेल मूल्यमा धेरै अन्तर रहेको बताउँदै त्यसलाई उपभोक्ता र व्यवसायी दुबैलाई मर्का नपर्ने गरी समायोजनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । अनुगमनका क्रममा हेलो प्रधानमन्त्रीमा परेको उजुरी जस्तो कुहिएका आलु, प्याज नभेटिएको बताए ।

अनुुगमनमा महानगरका उपप्रमुख एवं अनुगमन संयोजक मञ्जुुदेवी गुुरुङको संयोजकत्वमा आर्थिक विकास महाशाखा प्रमुख कडरिया, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत मुकुन्दराज पौडेल, सहकारी तथा उद्योग शाखाका प्रमुख अनील कार्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रतिनिधि दीपक कुँवर, महानगर सहकारी शाखाका अधिकृत ऋषिराम सापकोटा, राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका प्रतिनिधि राजेन्द्र लिगललगायत अनुगमनमा सहभागी थिए ।
‘लेखेका कागजमा खानेकुरा पोको नपार्नू’
पोखरा महानगरले मसीले लेखिएको छापिएको वा रंग्याइएको कागजलाई प्रयोेग नगर्न अनुरोध गरेको छ । कुनै पनि खाद्य उत्पादक, व्यवसायी वा बिक्रेताले खाद्य पदार्थको सिधा सम्पर्कमा आउने गरी मसीले लेखिएको छापिएको वा रंग्याइएको कागजलाई प्रयोेग नगर्न अनुरोध गरेको हो ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य ऐन २०२३ को दफा (७) मा भएको अधिकार प्रयोग गरी खाद्यवस्तुको गुणस्तर निर्धारण सम्बन्धमा २०८० जेठ २५ गते राजपत्रमा सूचना प्रकाशित गरी खाद्य पदार्थमा यस्ता प्रकारका काजगहरूको प्रयोग नगर्न सूचना प्रकाशित गरेको भन्दै महानगरले त्यसलाई कार्यान्वयनका लागि यस्ता प्रकारका कागजमा खाद्य वस्तु राखेर बिक्री वितरण गर्न प्रतिबन्ध गरेको हो ।

खाद्य ऐन २०२३ दफा ५ को उपदफा (२) बिपरीत हुने भएकाले सोहीअनुसार कारबाही गर्न सकिने व्यवस्था छ । ऐनको उल्लंघन गरेमा प्रमुख जिल्ला अधिकारीले १० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

सोही ऐन कार्यान्वयनका लागि पोखरा महागनरले अनुगमनसमेत गरेको छ । पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा रहेका जेरीपुरी, पकौडा र मासु फ्राई गरेर बिक्री गर्ने ४ पसलमा लेखेका कागजमा खाद्य सामग्री राखेर नबेच्न पहिलो पटक सचेत गराइएको पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख कडरियाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width