ग्लोबल कलिजियटको २८औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २१, २०८०
global-collegiate-school-28th-parentsday

पोखरा । ग्लोबल कलिजियट स्कुलको २८औं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । सो अवसरमा मानव सेवा आश्रमलाई १ लाख रुपैयाँ सहयोग गरेको छ भने शिक्षाविद् पवित्रमणि पौड्याललाई सम्मान गरिएको थियो ।

शिक्षकहरू अशोक ओझा, नेपालप्रकाश अधिकारी, नारायणप्रसाद सापकोटा, नारायणप्रसाद शर्मा, रविनाथ पन्त, विश्वशान्ति कुँवर थापा, वीरेन्द्रजंग गुरुङ, कर्मचारीहरू मोतीलाल तिमिल्सिना, कल्पना पन्त र आनन्दीदेवी रानाभाटलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा गत वर्षको परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो भने शिक्षक र विद्यार्थीले सांस्कृतिक र सांगीतिक प्रस्तुति राखेका थिए ।

वार्षिकोत्सवकै अवसरमा प्रकाशित आठौं संस्करणको ग्लोबल वाटिका स्मारिकाको विमोचन गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले कार्यक्रम उद्घाटन गर्दै ग्लोबल कलिजियटको २८औं वार्षिकोत्सवलाई ज्योतिषको नक्षत्रसँग तुलना गरे । यस्तो संयोगमा सहभागी हुन पाउनु, पवित्रमणि पौड्याल जस्ता व्यक्तित्वलाई सम्मान गर्न पाउनु आफ्नो ठूलो सौभाग्य भएको उनले बताए ।

‘नक्षत्र २८ वटै हुन्छन् । पछिल्लोक्रममा अभीजितलाई मान्न छाडे । त्यसैका कारण विकृति–विसंगति मौलाउन थाले’, उनले टिप्पणी गरे ।

मानिसलाई अन्धकारबाट उज्यालोतर्फ शिक्षाले मात्रै लैजान सक्ने उनले बताए । आफ्ना जीवनका केही उदाहरण प्रस्तुत गर्दै उनले हरेस नखाई अध्ययनलाई निरन्तरता दिएमा अवश्य पनि सफलताको शिखर चुम्म सकिने स्पष्ट पारे ।

विद्यालयका प्राचार्य बाबुराम पन्तले सामुदायिक विद्यालय सुधार नभएसम्म सामाजिक न्याय नहुने बताए । सामुदायिक विद्यालयको शैक्षिकसँगै सबै प्रकारको विकासमा सघाउन आफूहरू प्रतिबद्ध रहेको उनले स्पष्ट पारे । उनले आफूहरू आलोचनाको बाटोबाट नभई जिम्मेवारीको बाटोबाट अघि बढ्न चाहेको बताए ।

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले अन्योलता सिर्जना भएको भन्दै यस सम्बन्धमा आफूहरूले सुझाव दिएको बताए । पन्तले यस सम्बन्धमा पोखरा महानगपालिकाका प्रमुख र शिक्षा महाशाखा प्रमुख समक्ष आफ्ना विचार र सुधार गर्न सकिने विषयमा सुझाव दिएको बताए ।

शिक्षाविद् पवित्रमणि पौड्याले मानवीय मूल्य र मान्यता समाप्त हुँदै जान थालेको भन्दै चिन्ता प्रकट गरे ।

हिसान कास्कीका अध्यक्ष यमबहादुर रोकाले मुलुकको कूल बजेटको ११ प्रतिशत शिक्षामा लगानी भए पनि बालुवामा पानी जस्तो भएको भन्दै शैक्षिक क्षेत्रमा निजी क्षेत्रले खेलेको भूमिकाको कदर हुनुपर्नेमा जोड दिए ।

मानव सेवा आश्रमका भवन निर्माण संयोजक विष्णु बरालले अहिले नैतिकवान् मानिसको खडेरी रहेको बताए ।

विद्यालयका अभिभावक तथा बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले सचेतनात्मक मन्तव्य राखेका थिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष पद्मराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपप्राचार्य वेदप्रसाद शर्माले स्वागत, शिक्षकहरू नेपालप्रकाश अधिकारी, वसन्ती बस्नेत र विद्यार्थीहरूले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width