हलगोरु पाल्ने किसानलाई ५ हजार

आदर्श समाज सम्वाददाता
माघ १७, २०८०
Madi

पोखरा । मादी ६, तप्राङका गमबहादुर गुरुङले हलगोरु पालेका छन् । चालु वर्षको नीति तथा कार्यक्रम र बजेटमा पालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने घोषणा गरेपछि उनी उत्साही थिए । पालिकाले किसानसँग निवेदन पनि माग्यो तर अहिलेसम्म अनुदान दिएको छैन । प्रत्येक हल गोरु पाल्ने किसानलाई १० हजारका दरले रकम उपलब्ध गराउने घोषणा पालिकाको थियो । ‘हल गोरु पाल्ने किसानलाई १० हजार आउँछ भनेर निवेदन दियौं । उबेला दिएको निवेदनको पैसा अहिलेसम्म किन आएन ?,’ उनले प्रश्न गरे, ‘दिन्छु भनेर जनतालाई ढाँट्न पाइन्छ ? पैसा आउँछ कि आउँदैन ? आउँछ भने कहिले आउँछ ?’

पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले अपेक्षाभन्दा बढी निवेदन आएपछि वितरणमा समस्या भएको सुनाए । ‘झण्डै ८ सय थान निवेदन आयो । सुरुमा १५ लाख विनियोजन गरिएको थियो । निवेदन हेर्दा ८० लाख चाहिने भयो,’ उनले भने, ‘अहिले कार्यविधि सच्याएर प्रत्येक किसानलाई ५ हजार दिने भनेका छौं । हिउँदे सभाले २५ लाख थपेर ४० लाख बनाएको छ । अब छिट्टै वितरण हुन्छ ।’ पालिकाभरीबाट ७ सय ५० भन्दा बढी हलगोरुको निवेदन परेको उनले सुनाए । ‘निवेदनको डकुमेन्टहरू रुजु गर्दैछौं । वास्तविक किसानलाई रकम खातामै जाने गरी वडाबाट वितरण हुन्छ,’ उनले भने, ‘हामी प्रक्रियामा छौं ।’

सोमबार वडामा भएको मादी गाउँपालिकाको अर्धवार्षिक सार्वजनिक सुनुवाइमा सहभागीले कृषिलाई व्यवस्थित गर्न नसकेकोमा बढी गुनासो गरे । स्थानीय बलबहादुर रानाले उत्पादनमा आधारित अनुदानको खोजी गरे । ‘उत्पादनका आधारमा अनुदान दिने भनेको होइन ? कसले के चिज कति उत्पादन गरे र क–कसले अनुदान कति पाए ?,’ उनले भने, ‘पालिकाले कुन उत्पादनलाई प्राथमिकता दिएको हो ? बेच्ने बजारको व्यवस्था कसरी गरेको छ ?’ उनले एकवर्ष सञ्चालन गरिएको कार्यक्रम अर्को वर्ष छोडिदिँदा किसानलाई मर्का परेको सुनाए । ‘तप्राङमा पहिले बाख्रा पकेट कार्यक्रम लागु भयो । अहिले त्यो कार्यक्रम छोडेर अदुवा र आलु भनेको छ,’ अघि भन्छन्, ‘वर्षैपिच्छे नयाँ कार्यक्रम ल्याउनुभन्दा क्षेत्र छुट्याएर एउटै कार्यक्रममा जोड दिँदा किसानले लाभ पाउँथे ।’

यसअघि १० हजार दिने घोषणा गरिएकोमा किसानको संख्या अत्यधिक बढेपछि अनुदान घटाइएको हो ।

दीपक पौडेलले आफूले उत्पादन गरेको फसलको बजार व्यवस्था गरिदिन आग्रह गरेका छन् । ‘केही गर्छु भनेर पोखराबाट गाउँ फर्कें । तरकारी लगाएको छु तर बजार छैन,’ उनले भने, ‘मैले लगाएको तरकारी कुहिएर गएको छ । पालिकाले ध्यान दिनुप¥यो ।’ अधिकांशले सिँचाइ र खानेपानीको समस्याबारे धारणा राखे । जवाफमा पालिकाका अध्यक्ष देवीजंग गुरुङले नागरिकका गुनासो सम्बोधन गर्न आफूहरू तत्पर रहेको बताए । ‘तपाईंहरूकै सेवाका लागि हामी यहाँ आएका हौं । गुनासो सुनेपछि कार्यक्रम बनाउछौं,’ उनले भने, ‘केही कार्यक्रम लागु भइसकेको छ, नपुगेको ठाउँमा अर्को वर्ष समेट्छौं ।’ उनले उत्पादन र बजारीकरणमा पालिका केन्द्रित रहेको बताए ।

सहभागीले योजनाको अनुगमन नहुँदा गुणस्तर खस्किएको, भूकम्प पीडितले निर्माण गरेको घरको किस्ता अझै नपाएको, स्वास्थ्यचौकीहरूमा पर्याप्त औषधी र उपकरण नभएको गुनासो पनि गरे । ‘स्वास्थ्यचौकी गाउँमै छ । सर्प र कुकुरले टोक्यो भने उपचार हुँदैन । यसको व्यवस्था गर्न सकिँदैन ?,’ स्थानीय मीनबहादुर गुरुङ भन्छन्, ‘सानो चोट लागेपछि पोखरा झर्नैपर्ने बाध्यताको अन्त्य कहिले हुन्छ ?’ उपाध्यक्ष कल्पना गुरुङले अनुगमनलाई तीव्र बनाएको बताइन् । ‘हरेक मंगलबार प्राविधिकसहित योजनाको अनुगमन गर्छौं । बिग्रेको ठाउँमा तत्कालै सुधार्न सुझाव दिएका छौं,’ उनले भनिन्, ‘अझै पुगेको छैन । अझै गम्भीर भएर हेर्छौं ।’ उनले वडामा भएका प्राविधिकहरूले पनि अनुगमनमा जोड दिएको बताइन् । स्वास्थ्यचौकीलाई उपकरण र औषधीले पूर्ण गर्न पालिकाको स्रोतअनुसार काम भइरहेको पनि उनले बताएकी छिन् ।

कार्यक्रममा वडा ६ का अध्यक्ष डिलबहादुर क्षेत्रीले जनअपेक्षा अनुसार आफूहरूले काम गरिरहेको बताए । ‘स्वास्थ्य शिक्षा सुधार्न मरिमेटेर लागेका छौं । तर बसाइँसराइ रोक्न सकिएको छैन,’ उनले भने, ‘कृषिलाई व्यावसायिक बनाएर किसानलाई कृषिमा आकर्षित गरेका छौं । केही अभियानहरू थालनी भएका छन्, रिजल्ट आउन बाँकी छ ।’ कार्यक्रममा पालिकाको अर्धवार्षिक सेवा प्रवाह र विकास निर्माणबारे प्रमुख प्रशासकीय अधिकृत गौतम र वडाको सेवा प्रवाह तथा विकास निर्माणका विषयमा वडा सचिव सूर्यबहादुर पाण्डेले जानकारी गराएका थिए ।

Related News

सम्बन्धित समाचार

  • आगलागीले सुन्तलाको बगैंचा सखाप

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    स्याङ्जा । सुन्तलाखेतीको पकेट क्षेत्रमा भएको आगलानीले सवा करोड मूल्य बराबरको क्षति पुगेको बताइएकोे छ । हालैको आगलागीले पुतलीबजार ११…
  • पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी तथा प्राविधिकको क्षमता अभिवृद्धिका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) सम्बन्धी प्रशिक्षण बुधबारदेखि सुरु भयो…
  • सामाजिक विकास केन्द्रद्वारा ३७७ जनालाई सेवा प्रदान

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत सामाजिक विकास केन्द्रले आफ्ना गतिविधिको सामाजिक परीक्षण गराएको छ । बालश्रम न्यूनीकरण र श्रममा…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…

hero news full width