पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप हुने

आदर्श समाज सम्वाददाता
माघ १३, २०८०
moto enduro

पोखरा । पोखरा राइडर्स क्लबको आयोजनामा ‘पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप–२०२४’ हुने भएको छ ।

विकास र शान्तिका लागि विश्व खेलकुद दिवस अवसरमा आगामी चैत २३ र २४ गते पोखरा–२३, पामे, बाम्दीमा हुने सो च्याम्पियनसिपमा करिब ३० जना खेलाडीले भाग लिने छन् । यो च्याम्पियनसिप नेपालमै पहिलो पल्ट हुन लागेको आयोजकको दाबी छ ।

शनिबार पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जगत धौलीले भर्खरै जन्मिएको क्लबले पहिलो पल्ट यति बृहत् प्रतियोगिता गर्न लागेको जनाउँदै सबैसँग सहयोगको अपेक्षा गरे । उनले वडा कार्यालयदेखि सबैसँग अनुमति लिएर आयोजित साहसिक प्रतियोगिताले यहाँको खेल पर्यटनको विकासमा पनि सहयोग पुग्ने विश्वास लिए । राष्ट्रियस्तरको यो प्रतियोगितामा सुरक्षा चुनौती महत्वपूर्ण रहेकोमा आफूहरु त्यसतर्फ सचेत रहेको उनको भनाइ छ । प्रतियोगिताका लागि खेलाडीको दर्ता प्रक्रिया सुरु भएको छ । प्रतिखेलाडी १७ हजार लाग्नेछ ।

खुला र महिला गरी दुई इभेन्टमा खेलाइने प्रतियोगितामा पहिलो दिन खेलाडी छनोट हुने र भोलिपल्ट प्रतियोगिता हुनेछ । खुला र महिला दुवैतर्फ विजेताले जनही १ लाख ५० हजार, उपविजेताले १ लाख, तेस्रोले ५० हजार प्राप्त गर्ने छ । साथै चौथो र पाँचौंलाई गिफ्ट ह्याम्पर दिइनेछ ।

कार्यक्रम संयोजक धौलीले ट्रेलका लागि विदेशमा जस्तो बनाइरनु नपर्ने, नेपालका अधिकांश ठाउँ आफैं बनिबनाउ रहेको बताउँछन् । बाम्दीमा तय गरिएको टे«लमा आफूहरुले मात्र ४० प्रतिशत थप मर्मत सम्भार गर्नुपर्ने उनले बताए । जहाँ खोला, जंगल, हरियालीसहितको अफरोड छ ।

क्लब अध्यक्ष सोनिक क्षत्रीले कतिपय युवा रोजगारी अभावमा विदेशिनुपरेको बताउँदै नेपालमै केही नयाँ काम गरेर युवालाई आकर्षित गर्नुपर्ने अहिलेको आवश्यकता रहेको जनाउँछन् ।

उनका अनुसार पोखरा राइडर्स क्लब साइक्लिष्टहरुको संस्था हो । साइक्लिष्टहरुको हकहितसहित संस्थामार्फत विभिन्न गतिविधि संचालन गर्ने हेतुले साइक्लिष्टहरु हालै एकजुट भएका हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले साहसिक खेलका कारण पोखराको खेल र पर्यटन विकासमा टेवा मिल्ने विश्वास व्यक्त गर्दै मिडियाको साथै सधैं रहीरहने बताए । कार्यक्रमको सञ्चालन सचिव सुजन हमालले गरेका थिए ।

सो च्याम्पियनसिपमा करिब २९ लाख ५३ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगितामा गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, माउन्टेन स्पोर्टस् फेडेरेसन–नेपाल, राखेप, नेपाल अटोमोबाइल्स् एसोसिएसन (नासा), पोखरा, विभिन्न संघसंस्था लगायत सहयोगी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width