पोखरामा खुला नेपाल स्नोकर प्रतियोगिता सुरु

आदर्श समाज सम्वाददाता
माघ १३, २०८०
snooker news

पोखरा। पोखरामा शनिबारदेखि राष्ट्रियस्तरको खुला नेपाल स्नोकर प्रतियोगिता सुरु भएको छ । फाइनल स्कोर स्पोर्टस् बार प्रालिको आयोजनामा ड्यामसाइडमा सुरु प्रतियोगिता यही २८ माघसम्म चल्नेछ ।

प्रतियोगिता उद्घाटन गर्दै वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले संसारमा लोकप्रिय खेल स्नोकरलाई नेपालमा अझै व्यबस्थित बनाउनुपर्ने बताए । उनले खेलकुदले व्यक्तिलाई आत्मअनुशासन, समाजमा शान्तिसुरक्षा समेत कायम गर्न मद्दत पुग्ने बताए । स्नोकरलाई नेपाली समाजमा हेर्ने दृष्टिकोण अझै परिवर्तन गर्न आवश्यक भएको उनको भनाइ थियो ।

संघका केन्द्रीय अध्यक्ष सरोज मुल्मीले २०५२ सालमा नेपालमा स्नोकर संघ गठन भएको र कास्कीमा पहिलो शाखा विस्तार भएको उल्लेख गर्दै तर राखेपले यस खेलको प्रबद्र्धनमा खासै सहयोग नगरेको गुनासो गरे । ७७ जिल्लामा स्नोकर खेल पुगेको दाबी गर्दै उनले नेपालकै उत्कृष्टमध्यको एक स्नोकर हाउस फाइनल स्कोर हाउस भएको जनाए । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्नोकर प्रतियोगिता गर्ने तयारी गरेको उनको भनाइ थियो । नवौं राष्ट्रिय खेलकुदमा स्नोकर नसमेटिएकोमा उनको गुनासो छ ।

संघ कास्कीका संस्थापक अध्यक्ष वसन्त गौचनले यस खेललाई करिब ४ दशकअघि सम्म ८ खेलाडीमात्र खेल्ने गरेकोमा हाल यस खेल भद्र व्यक्तिहरुले शान्त र शारीरिक व्यायामका लागि समेत खेल्न थालेको बताए । उनको अध्यक्षतामा २०५७ सालमा संघ कास्की दर्ता भएको हो । संघ कास्कीका प्रथम उपाध्यक्ष रामजी सुनारले यस खेलमा नेपालको राम्रो सम्भावना भएको बताउँदै वल्र्ड क्वालिफाई राउन्डमा खेलमा सहभागी नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए ।

कम्पनी अध्यक्ष सोम बिकको अध्यक्षतामा भएको उद्घाटन सत्रको सञ्चालन सन्ध्या श्रेष्ठले गरेकी थिइन् । प्रतियोगितामा देशभरबाट १ सय २३ खेलाडीले भाग लिएका छन् । विजेताले १ लाख ५०, उपविजेताले ७० हजार र तेस्रो हुने २ जनालाई जनही २० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने कम्पनीका सञ्चालकमध्येका एक प्रताप गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width