करुणानिधि एजुकेसन फाउन्डेसन (केफ) को वार्षिकोत्सवमा सम्मान

आदर्श समाज सम्वाददाता
माघ १३, २०८०
kef ma ve progrem photo

पोखरा । करुणानिधि एजुकेसन फाउन्डेसन (केफ) माध्यमिक विद्यालय, सिम्पानीको ३० औं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सुरु भएको छ ।

वार्षिकोत्सव शुभारम्भ गर्दै शिक्षाविद् जोर्ज जोनले विद्यालयले विभिन्न कोणबाट तीव्र गतिमा प्रगति गरिरहेको चर्चा गरे । उनले लगनशील विद्यार्थीको भविष्य उज्ज्वल रहेको औंल्याए । विद्यालयका अतिरिक्त क्रियाकलापमा भाग लिन विद्यार्थीलाई आग्रह गर्दै शिक्षाविद् जोनले विद्यालय स्थापनाको स्मरण पनि गरे ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले अभिभावक तथा विद्यार्थीको विश्वास जित्न सफल भएकोमा विद्यालयको प्रशंसा गर्दै दुखी तथा गरिबको पक्षमा विद्यालय रहेको आफूले पाएको बताए ।

त्यस अवसरमा संस्थापक प्राचार्य लोकराज भण्डारी, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, उपाध्यक्ष उमा लामिछाने, विद्यालय अध्यक्ष रामचन्द्र पौडेल, भूपू विद्यार्थी मञ्चका कोषाध्यक्ष मदन पोखरेल लगायतले पनि बोलेका थिए ।

प्रधानाध्यापक डिल्लीराम अधिकारीले सबैको साथ सहयोगबाट विद्यालय हालको अवस्थामा आएको चर्चा गर्दै विद्यालयमा उल्लेखनीय सफलता हासिल हुँदै गएको औंल्याए ।

कार्यक्रमबीच आदर्श समाज राष्ट्रिय दैनिकका संवाददाता श्रीभद्र पौडेल, सिम्पानी टोल विकास संस्थाका अध्यक्ष गंगाबहादुर गुरुङ, स्थानीय समाजसेवी समेत रहेका पूर्व सहसचिव शिवप्रसाद पराजुली लगायतलाई सम्मान गरियो ।

त्यस्तै दीर्घसेवा पदकबाट कर्मचारी सुन्दरकली थारु तथा मानबहादुर थारु, नियमित शिक्षकबाट तिलकुमारी आचार्य पुरस्कृत भए ।

साथै, विद्यार्थीले शास्त्रीय गीत, कविता, नाटक, नृत्य, कराते लगायतका प्रस्तुति राखे । शैक्षिक एवं अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार वितरण गर्नुका साथै विज्ञान तथा शैक्षिक सामग्रीसमेत प्रदर्शनी गरिएको थियो ।

विद्यालय अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी खुसी दाहाल, अमृत पौडेल र अविनाश गायकले स्वागत तथा शिक्षक भानुभक्त पोखरेलले कार्यक्रम सञ्चालन गरे ।
वार्षिकोत्सव आइतबारसम्म चल्नेछ । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङको आतिथ्यमा हुने आइतबारको कार्यक्रममा नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीका विभिन्न प्रस्तुतिसमेत रहनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width