एक्लो दलले बहुमत ल्याउन सक्दैन –सभापति देउवा

आदर्श समाज सम्वाददाता
माघ ११, २०८०
nc syangja

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधानअनुसार कुनै पनि दल एक्लैले बहुमत ल्याउन नसक्ने देखिएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

नेपाली कांग्रेस स्याङ्जाको प्रथम सम्मेलनलाई पुतलीबजार नगरपालिका १ स्थित सिटीहलमा उदघाटन गर्दै उनले भने, ‘संविधानमा समानुपातिक समावेशी प्रावधानअनुरुप बहुमत बनाउनका लागि अन्य पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता छ ।’

‘महिलाका लागि अग्राधिकार छ । धेरै जिम्मेवारी सम्हालेर पनि महिलाहरू राजनीतिमा अघि बढेका छन् । वडादेखि संसदसम्म महिला पुगेका छन् । विद्यादेवी भण्डारी राष्ट्रपति बनिन् भने अब प्रधानमन्त्री बन्न सक्छन्,’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले थपे, ‘दलित, जनजाति, अल्पसंख्यक सबैलाई राजनीतिको मूलधारमा ल्याई समुन्नत नेपाल बनाउने हाम्रो ध्येय हो ।’

नेपाली कांग्रेसको इतिहासमा स्याङ्जा क्रान्तिकारी ठाउँ हो । कांग्रेसको बलियो संगठन रहेको स्याङ्जाको विरासत नगुम्ने गरी नेता तथा कार्यकर्तालाई सामाजिक सेवामा जुट्न समेत निर्देशन दिए ।

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवं केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

पूर्व महामन्त्री शशांक कोइराला, सहसचिव जीवन परियार, कांग्रेस केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रदीप पौडेल, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश मन्त्री सरस्वती अर्याल, केन्द्रीय सदस्य किरण पौडेल, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापति कल्पना तिवारी, उपसभापति एवं पूर्वमन्त्री मेखलाल श्रेष्ठ, केन्द्रीय सदस्य किशोरदत्त बराल, पूर्व सांसद मोहनप्रसाद पाण्डे, गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति भोजराज अर्याल, गण्डकी प्रदेशका पूर्व सांसद भागवतप्रकाश मल्ल लगायतले स्याङ्जाको विकासका लागि सिद्धार्थ राजमार्गको चौडा बिस्तार, आँधीखोला हाइड्यामका कार्ययोजनालाई तत्काल अघि बढाउने कार्यमा पहल गरिदिन सभापति देउवासमक्ष अनुरोध गरेका थिए ।

स्याङ्जा कांग्रेस जिल्ला सभापति एवं संघीय सांसद राजु थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यवाहक सभापति केदार काफ्लेले स्वागत एवं सचिव गुरुप्रसाद भट्टराईले सञ्चालन गरेका थिए ।

सम्मेलनमा सचिव दामोदर लम्सालले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष जनक काफ्लेले आर्थिक प्रतिवेदन सार्वजनिक गरे ।

सोही कार्यक्रममा प्रजातन्त्र सेनानी श्रीप्रसाद जिटी, खगेन्द्रराज रेग्मी, तारापति सुवेदी, वेदप्रकाश पनेरु, विश्वप्रेम अधिकारी, शालिकराम न्यौपाने, देवबहादुर सिंह, भोलानाथ लम्साललाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width