आहा रारामा नयाँ अभ्यास, ‘फ्यान अफ दी म्याच’ वापत हरेक दिन ५ हजार

आदर्श समाज सम्वाददाता
माघ १०, २०८०
415286478_2139875189700710_1116885497057259279_n

पोखरा । २३ औं आरा रारा पोखरा गोल्डकपमा दर्शक हितमा नयाँ अभ्यास सुरु भएको छ । प्रतियोगिता हेर्न पोखरा रंगशाला जाने दर्शकले दैनिक ५ हजार जित्न सक्ने भएका छन् ।

नेपाल फोटो पत्रकार संघ कास्कीको समन्वयमा दर्शक प्रोत्साहनस्वरुप ‘फ्यान अफ दी म्याच’ घोषणा गरिनेछ । यसरी उपाधि जित्नेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको रौनक बढाउँदै दर्शकलाई रंगशालासम्म ल्याउन यस्तो अभ्यास सुरु भएको अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले बताए।

सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ र उनकी धर्मपत्नी उमाले पुरस्कारको प्रायोजन गरेका छन् । गुरुङ दम्पती बेलायत बस्दै आएका छन्।

कुनै पनि टिमका फ्यान (दर्शक) मध्ये उनीहरुको कलाकृति, हाउभाउ लगायत विभिन्न मापदण्ड आधारमा ‘फ्यान अफ दी म्याच’ का लागि निर्णायक समितिलाई फोटो सिफारिस गरिने र तीमध्ये एकलाई पुरस्कृत गरिने नेपाल फोटो पत्रकार संघ कास्की दुर्गाप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मंगलबार उद्घाटन खेलमा अशोक परियार ‘फ्यान अफ दी म्याच’ बन्दै नगद १ हजार प्राप्त गरे ।

बुधबारदेखि भने पुरस्कार राशि बढाइएको छ । बुधबार विष्णु भण्डारीले उक्त उपाधि जित्दै नगद ५ हजार प्राप्त गरेको अध्यक्ष पौडेलले बताए । उनलाई नेपाल फोटो पत्रकार संघ गण्डकी अध्यक्ष राम गुरुङले पुरस्कार हस्तान्तरण गरे ।

सहारा क्लब पोखरा आयोजनामा भएको प्रतियोगितामा १२ टिमले भाग लिएका छन् । विजेताले १२ लाख र उपविजेताले ६ लाख प्राप्त गर्ने छन् । उद्घाटनमा आयोजकलाई हराउँदै थ्रि स्टार र दोस्रो खेलमा बुधबार राइजिङ स्टार क्लबलाई पाखा लगाउँदै विभागीय त्रिभुवन आर्मी क्लब क्वाटरफाइनल पुगिसकेका छन् ।

बिहीबार मच्छिन्द्र र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल २० माघमा हुने आयोजक क्लब अध्यक्ष केशवराज बरालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width