आहा रारा पोखरा गोल्डकप सुरु, थ्रिस्टार सामु आयोजक स्तब्ध

आदर्श समाज सम्वाददाता
माघ ९, २०८०
aaha rara- Durga Paudel (1)

पोखरा । आहा रारा गोल्डकप २३ औं संस्करण उद्घाटन खेलमा थ्रिस्टार क्लब विजयी भएको छ । पोखरा रंगशालामा बुधबार उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै थ्रिस्टार क्वाटफाइनल प्रवेश गरेको हो ।

जितमा योगेश गुरुङले गोल गर्दै अग्रता लिँदा सहाराका अनिश तामाङले आत्मघाती गोलको उपहार दिएका हुन् । सहाराका लागि आशीष गुरुङले एक गोल गरेका थिए ।

छैटौं मिनेटमा थ्री स्टारका कप्तान योगेश गुरुङले विपक्षी गोलरक्षक टेकेन्द्र थापासँग ठोक्किएर आएको रिबाउन्ड बल गोलमा परिणत भएको हो । २३ औं मिनेटमा सहाराका लक्ष्मण रुचालको फ्रिकिकमा आशीष गुरुङले हेडमार्फत जाली चुमाउँदै बराबरी खेले । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएकोमा ५९ औं मिनेटमा एन्जल महर्जनको लामो फ्रिकिकमा अनिश तामाङको आत्मघाती गोलबाट थ्रि स्टारले अग्रता लियो । सहाराका डिफेन्डर अनिश तामाङले क्लियर गर्न खोज्दा जालीको चुमेको हो । यो गोलसँगै ५ पटकसम्मको आहारारा विजेता थ्रि स्टार क्वाटरफाइनलमा प्रवेश गरेको छ । थ्रि स्टारले अब १३ माघमा भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलमा दुवै टिमले केही राम्रा अवसर खेर फाले । ३२ औं मिनेटमा सहाराका लक्ष्मण रुचालले सिधैं पोस्टमा प्रहार गरेको फ्रिकिक थ्रि स्टारका गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै संकट टिमको टारे । ३७ औं मिनेटमा थ्रिस्टारका दीपेश आलेको प्रहार फितलो रह्यो । ४३ औं मिनेटमा सहाराका अमित तामाङले करिब ३५ यार्डबाट गरेको प्रहार फ्रेममा लागेन ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले प्रतियोगिता उद्घाटन गरेका हुन् । उनले आहा रारा गोल्डकपलाई खेलपर्यटनसँग जोड्न सकिने बताए । २३ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको प्रतियोगितालाई यो वर्षदेखि पोखरा महानगरले संरक्षकत्वको जिम्मा लिएर सहकार्य गरेको उनले बताए ।

२० माघसम्म संचालन हुने प्रतियोगिता विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार पुरस्कार पाउनेछन् ।

बुधबारकाे खेल राइजिङ स्टार एफसी, नवलपरासी र विभागीय टोली त्रिभुवन आर्मी एफसीबीच हुनेछ ।

आयुष सम्मानित
राष्ट्रिय खेलाडी आयुष घलानलाई सहारा क्लब पोखराले ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०८०’ बाट सम्मान गरेको छ । उद्घाटन अवसरमा घलानलाई ५० हजारसहित पोखरा महानगरकाका मेयर धनराज आचार्यले सम्मान गरे ।
राष्ट्रिय फुटबल टिमका प्रभावशाली फुटबलर घलानले यस वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलमा राम्रो प्रभाव छाडेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीमध्य एक जनालाई आयोजक सहारा क्लब पोखराले हरेक वर्ष सम्मान गर्दै आएको छ ।

सहाराका मानार्थ सदस्य खेमबहादुर गुरुङले पुरस्कार रकम प्रायोजन गर्दैआएका छन् । यसअघि ६ फुटबल खेलाडी सम्मानित भइसकेको क्लब अध्यक्ष केशवराज बरालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width