‘खेलकुदको लगानी बालुवामा पानीसरह’

आदर्श समाज सम्वाददाता
पौष ११, २०८०
Sports Minister News

पोखरा । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुदमा गरिएको लगानी बालुवामा पानी खन्याएसरह भएको टिप्पणी गरेका छन् ।

सोमबादेखि पोखरा रंगशालाको टेनिस एरिनामा १९ औं पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता उद्घाटनपछि मन्त्री लिम्बुले अधुरो योजनाले प्रतिफल दिन नसक्दा लगानी बालुवामा पानी हालेसरह भइरहेको उल्लेख गरे । ‘४० जिल्लाको भ्रमण गरें । जहाँ पनि योजना अधुरो छ । अधुरो योजनाले त प्रतिफल दिन सक्दैन । अब स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले मिलेर निजी क्षेत्रको सहकार्यमा पूर्वाधार तोकिएको सम्पन्न गर्ने बजेटको व्यवस्थापन गर्दै जानुपर्छ’, मन्त्री लिम्बुले भने, ‘त्यसो हुँदा खेलकुद क्षेत्रमा प्रतिफल मिल्छ । हाम्रा खेलाडी साथीहरु समयमै प्रशिक्षण लिन पाउँछन्, प्रतियोगिताहरू सञ्चालन गर्न सक्छौं । त्यो ढंगबाट योजना र बजेट बन्नुपर्छ ।’ तीनै तहका सरकार जवाफदेही तरिकाले लागेर खेलाडीलाई प्रशिक्षण दिन खेल मैदान बन्नुपर्ने उनको भनाइ छ ।

मन्त्री लिम्बुले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुने बताए । उनले राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ निर्धारित मितिमै हुने गरी तयारी भइरहेको बताए । केही समयअघि कर्णालीको सुर्खेतमा निर्माण हुँदै गरेको खेलकुदको भौतिक संरचनाको अध्ययन अवलोकन गरेर फर्किएको बताउँदै मन्त्री लिम्बुले आफूले सबै क्षेत्रलाई सकारात्मक भएर तोकिएको मिति २०८१ मंसिर २ देखि ९ सम्म हुने गरी तयारी गर्न निर्देशन दिएको जानकारी दिए ।

कर्णाली प्रदेशबाट उक्त प्रतियोगिताको लागि १ अर्ब ४८ करोडको प्रस्तावित भौतिक संरचना निर्माणको लागि डकुमेन्ट मन्त्रालयमा आएको बताए । सरकारले निर्माण गर्ने कुनै पनि भौतिक संरचनाको विषयमा जग्गा विवादरहित र सरकारको स्वामित्व भएको खण्डमा मात्र राज्यले खेलकुदका भौतिक संरचना बनाउने भएको उनको भनाइ थियो ।

पोखरा रंगशालामा मंगलबारदेखि १९ औं पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

सरकारले खेलकुदमा लाग्ने खेलाडी र खेल संघहरूलाई वर्गीकरण गर्ने बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई योगदान आधारमा बिमा तथा सेवा सुविधा उपलब्ध गराउने गरी गृहकार्य गर्दै गरिरहेको उनको भनाइ थियो । उनले क्रिकेटलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । क्रिकेटको उद्घाटनपछि उनले क्रिकेटले नेपाललाई विश्वसामु चिनाएकाले क्रिकेट उच्च प्राथमिकतामा राखेको उनले बताए । सरकारले क्रिकेटलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । हरेक प्रदेशमा एक राष्ट्रिय गौरवको क्रिकेट रंगशाला निर्माणको कार्य अघि बढाएको पनि उनले बताए । पहिलो चरणमा विराटनगर, मूलपानी र चितवनलाई राष्ट्रिय गौरवको क्रिकेट रंगशाला निर्माणका लागि घोषणा गरिसकेको जनाउँदै उनले ती ठाउँका निर्माण सुरु गर्ने प्रक्रिया टुंगाएर अरु प्रदेशमा चरणबद्ध निर्माण थालिने जानकारी दिए ।

१५ पुससम्म पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ १३ र पुरुषतर्फ २०३ गरी २१६ जना खेलाडीले भाग लिएका छन् । जसमा नेपालसहित भारत, बेलायत र बंगालादेशका खेलाडीसमेतले भाग लिएको आयोजक कास्की टेनिस संघ उपाध्यक्ष नवीन चालिसेले बताए ।

कास्की टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गण्डकी प्रदेशका सांसद प्रकाश बरालले टेनिसको सुनौलो इतिहासको जति प्रशंसा गरे पनि कम नहुने बताए ।

प्रतियोगितामा मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथि गरी विभिन्न उमेर समूहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने छन् । ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका विजेताले जनही ८० हजार र उपविजेताले ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनालिस्टले १० हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ ।

अन्य इभेन्टका विजेता, उपविजेता एवं सेमिफाइनालिष्टलाई पनि नगदसहित पुरस्कृत गरिनेछ । पुरस्कार राशिमा मात्रै करिब ८ लाख खर्च हुुने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १९ लाख खर्च र २१ लाख आम्दानी हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताए । टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलका अनुसार प्रतियोगिता नेपालका नं १ देखि ८ नं सम्मका ¥याकिङ खेलाडी मैदानमा उत्रिने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width