शताब्दी काव्यपुरुष ‘किञ्जल्क’ गृहनगरमा सम्मानित

आदर्श समाज सम्वाददाता
मंसिर ३०, २०८०
daibagya (3)

पोखरा । शताब्दी काव्य पुरुष गोपाल वैद्य ‘किञ्जल्क’ गृहनगर पोखरामा सम्मानित भएका छन् । दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले शनिबार पोखरामा विशेष कार्यक्रम गरी उनीसहित ३ श्रष्टा र १ संस्थालाई सम्मान गरेको हो । संस्कृत र नेपाली साहित्यमा साधनारत ‘किञ्जल्क’ १०३ वर्षका भए । प्युठानमा जन्मेर केही समय बागलुङ बसेका किञ्जल्कले कर्मथलो भने पोखरालाई बनाए । प्रतिष्ठानले यी सम्मान र पुरस्कार प्रेरणा पुरुष कवि दैवज्ञको स्मृति दिवसका अवसर पारेर प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष डा. केदार न्यौपानेले बताए ।

प्रतिष्ठानको कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले किञ्जल्कलाई ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशि रहेको दैवज्ञ विशिष्ट स्रष्टा सम्मान प्रदान गरे । यसैगरी प्रतिष्ठानले ३३ हजार ३ सय ३३ रुपैयाँ राशि रहेको दैवज्ञ साहित्य पुरस्कार अग्रज कवि गोविन्दराज विनोदीलाई प्रदान गरेको छ । दैवज्ञ बालसाहित्य पुरस्कारबाट वरिष्ठ बालकवि तथा बालसाहित्य स्रष्टा रामबाबु सुवेदी र दैवज्ञ समाजसेवा पुरस्कारबाट अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान सम्मानित भएका छन् । यी दुवै पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रुपैयाँ छ ।

उपकुलपति प्राडा अर्यालले साहित्य, शिक्षणका साथै समाजसेवाका सक्रिय दैवज्ञराज न्यौपानेको योगदान अतुलनीय रहेको बताए । पोखरामै आएर शताब्दी काव्य पुरुष गोपाल वैद्य ‘किञ्जल्क’लाई सम्मान गरेर प्रतिष्ठानले थप उचाइ लिएको उनको भनाइ थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व किञ्जल्कले सय वर्ष नाघिसकेको आफूले अरुको सय वर्ष उमेर पर्खेर बसेको भन्दै उपस्थित सम्पूर्णमा सुवास्थ्यको कामना गरे ।

सम्मानित व्यक्तिहरुको परिचय प्राडा कुसुमाकर न्यौपाने र ड. जगन्नाथ रेग्मीले गराएका थिए । प्रेरणा पुरुष कवि दैवज्ञका बारेमा प्रतिष्ठान सदस्य कोषराज न्यौपानेले गराए । उक्त अवसरमा गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङले राष्ट्रिय गीतमा नृत्य प्रस्तुत गरे । कवि शिव त्रिपाठीले दैवज्ञले २०२२ सालमा लेखेको कविता वाचन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width