पश्चिमाञ्चललाई छात्रा भलिबल उपाधि

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०८०
PHSS Winner

पोखरा । पश्चिमाञ्चल माविले पोखरामा आयोजित विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । आइतबार बिहान भएको फाइनल खेलमा नयाँबजारको गुरुकुल विद्यासदनलाई ३–२ सेट अन्तरले पराजित गर्दै गैहपाटनस्थित पश्चिमाञ्चल माविले निर्णायक सेटमा उपाधि जितेको हो । पश्चिमाञ्चलले उपाधि जित्न पाँचौं सेटसम्म प्रतिस्पर्धा गरेको थियो ।

पोखरा बहुमुखी क्याम्पसले ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित छात्रा भलिवल प्रतियोगितामा उपाधि हात पार्दै पश्चिमाञ्चल माविले ३० हजार रुपैयाँ नगद पुरस्कार सिल्ड र मेडल हात पारेको छ । दोश्रो भएको गुरुकुलले २० हजार रुपैयाँ नगद पुरस्कारसहित सिल्ड र मेडल हात पाएको छ ।

क्याम्पसले अघिल्लो वर्ष आयोजना गरेको छात्रा भलिबल प्रतियोगितामा पनि पश्चिमाञ्चलले नै हात पारेको थियो ।

आइतबार भएको फाइनल खेलमा पश्चिमाञ्चलले गुरुकुललाई १९–२५, २५–१४, २५–१९, २५–२७ र १५–१२ सेटमा पराजित गरेको हो । प्रतियोगिता संयोजक विनोदराज आचार्यका अनुसार प्रतियोगितामा पोखराभित्रका सामुदायिक र निजी गरी १२ वटा शैक्षिक संस्थाले प्रतिस्पर्धा गरेका थिए । भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, सेटर, सर्भर र टिम प्रशिक्षकलाई पनि पुरस्कार दिइने उनले बताए ।

क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार क्याम्पसले यो साता वार्षिकोत्सवको अवसरमा खेलकुदसहित विविध कार्यक्रम आयोजना गर्दैछ । विजेता र उपविजेता टिमलाई मंसिर १४ गते वार्षिकोत्सवमा कार्यक्रममा पुरस्कृत गरिने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width