केपी ओली क्रिकेटमा एपिएफ र कर्णालीको जित

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०८०
kp oli cup (2)

पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमी आयोजनामा पोखरा रंगशालामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगितामा शनिबार खेल एपिएफ क्लब र कर्णाली प्रदेशले जितेका छन् ।

लुम्बिनीविरद्धको खेलमा विभागीय एपिएफका अरुण ऐरीले लुम्बिनीका ५ खेलाडी पेभिलियन फकाएपछि एपिएफ ८४ रनले विजयी हुन सफल भयो । गण्डकीसँग एक खेल गुमाएको एपिएफलाई सेमीफाइनल प्रवेशका लागि अनिवार्य जित निकाल्नुपर्ने दबाब थियो ।

रंगशालास्थित क्रिकेट मैदानमा १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६७ रनमै समेटिएको हो । लुम्बिनीलाई समेट्न ४ ओभर बलिङ गरेका ऐरीले ७ रन दिंदै ५ विकेट हात पारे ।

एपिएफका अरुण ऐरीले लुम्बिनीका ५ खेलाडी पेभिलियन फर्काए

लुम्बिनीका मिर्नल गुरुङले सर्वाधिक १४ रन जोड्दा रोशन गुप्ताले अविजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । एपिएफका भुवन कार्कीले २, अभिनाश बोहरा र अमर रौतालाले समान १–१ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । लोकेश बमले विस्फोटक पारी खेल्दै १३ बलमा ३ चौका, ३ छक्काको मद्दतमा ३२ रन बनाउँदा एपिएफले सम्मानजनक स्कोर गरेको थियो ।

एपिएफका लागि कप्तान प्रदीप ऐरीले ३०, अरुण ऐरीले २५, पुरन विकले २३, सुमित महर्जनले १८ र अशिफ शेखले १३ रनको योगदान दिए ।

बलिङतर्फ लुम्बिनीका रमेश कुर्मी र अविषेक गौतमले समान २–२ विकेट लिए भने मोहमद हुसेनले १ विकेट हात पारे ।
यस्तै, अर्को खेलमा दीपेन्द्र रावतको उत्कृष्ट प्रदर्शनमा कर्णाली प्रदेशले जित निकालेको छ ।

आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रातो’ विरुद्ध ११० रनको लक्ष्य पछ्याएको कर्णाली ४ विकेटले विजयी भयो । म्यान अफ दि म्याच समेत रहेका दीपेन्द्रले नटआउट रहँदै ३१ बलमा २ चौका र ३ छक्काको मद्दतले ४३ रनको इनिङ खेले । कर्णालीले १८.१ ओभरमा ६ विकेट गुमाउँदै १११ रन बनायो ।

त्यसअघि, आयोजक मदन भण्डारीको टिम पूरै २० ओभर खेल्दै ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । ४ बल सामना गरेका कप्तान अमर मिश्र १ रन बनाउँदै अनुज चनाराको बलमा रवीन्द्र शाहीबाट क्याच आउट हुन पुगे । आयोजकका लागि निर्मल थापाले ३१ बलमा १७, अंकित विएमले १८, निश्चल ज्ञवालीले १९, रोशन गौतमले २० बलमा ३० र सहजाद अलामले १६ रनको योगदान दिए । सस्तैमा समेट्न कर्णालीका लागि प्रकाश जैशीले २ विकेट हात पार्दा दिनेश अधिकारी र दिवान पुनले समान १–१ विकेट लिए ।

कर्णालीका लागि दीपेन्द्रले ४३ सहित प्रकाश जैशीले १९ र निश्चल रावलले १५ रनको योगदान दिए । आयोजक रातोका लागि विप्राशन केसी र सन्तोष यादवले समान २÷२ विकेट लिँदा सन्द्रश पराजुली र सुमित थापाले १÷१ विकेट लिए । समूह ‘ए’ का यी दुवै टिम अन्तिम चारबाट भने बाहिरिन पुगेका छन् । बागमती लगातार २ खेल जित्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

आइतबार समूह ‘बि’ मा रहेका गण्डकी र लुम्बिनी प्रदेश तथा समूह ‘सि’ अन्तर्गत नेपाल पुलिस क्लब र मधेश प्रदेशबीच हुने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width