माधव वियोगी साहित्य पुरस्कारबाट रामबाबु पुरस्कृत

आदर्श समाज सम्वाददाता
मंसिर २, २०८०
madhav biyogi prize

पोखरा । माधव वियोगी साहित्य पुरस्कार–२०८० बाट कवि रामबाबु सुवेदी पुरस्कृत भएका छन् । माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालद्वारा प्रदान गरिँदैआएको उक्त पुरस्कार राशि नगद २५ हजार र सम्मानपत्र छ ।

गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले उनलाई पुरस्कृत गर्दै जनस्तरबाटै माधव वियोगी वाङ्मय प्रतिष्ठान खुल्नु अनि उक्त प्रतिष्ठानले माधव वियोगी साहित्य पुरस्कार स्थापना गर्नु आफैँमा उल्लेख्य कार्य भएको बताए ।

गण्डकी प्रदेश सभाका पूर्व सदस्य डा. पुष्पा केसी भण्डारीले सिर्जनाकर्मीको आराधना गर्नु सभ्यताको पूजा गर्नुजस्तै भएको बताइन् । उनले छन्द र साहित्यको उन्नयनमा लाग्ने सबैप्रति आभार व्यक्त गरिन् ।

छन्दनायक माधव वियोगीले पोखरा छोरेपाटनमा रहेको छन्द निवासमा अब नियमित छन्द प्रशिक्षण मात्र नभई छन्दको नियमित वाचन शृङ्खला पनि हुने जानकारी दिए । सम्मानित स्रष्टा सुवेदीले भोलिको देश निर्माण गर्ने कलिला बालबालिकाबारे बालकविता लेख्नुपर्छ भन्ने विचार व्यक्त गरे ।

कार्यक्रममा बेलघारी टोल विकास संस्थाका सल्लाहकार संयोजक झपिन्द्रराज रेग्मी, संस्कृत क्याम्पसका प्रमुख डा. जगन्नाथ रेग्मी, डेभिड फल युवा सञ्जालका महासचिव दीपक सुवेदी लगायतले बोलेका थिए ।

उक्त अवसरमा आर्या त्रिपाठी, रोशन तिम्सिना, निकेश गिरी, रुद्रबहादुर थापा, देवेन्द्र केसी, रमा खतिवडा, शालिग्राम आचार्य, शिव त्रिपाठी, छन्दिका त्रिपाठी लगायतले रचना वाचन गरेका थिए ।

प्रतिष्ठान उपाध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख संरक्षक सरिता घिमिरेले स्वागत र सचिव छन्दमणि त्रिपाठीले सञ्चालन गरेका थिए ।

यसअघि उक्त पुरस्कार २०७९ मा सुप्रसिद्ध कवि मुकुन्द शरण उपाध्याय लाई प्रदान गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग