स्वास्थ्य क्षेत्रमा उच्छृखंलता बढ्दो छ : मुख्यमन्त्री पाण्डे

आदर्श समाज सम्वाददाता
असाेज १४, २०८०
Health News Photo

पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृखंलता बढ्दै गएको बताएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट आर्थिक वर्ष २०७९÷०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको गण्डकी प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्र असुरक्षित बन्दै गएको बताएका हुन् । गण्डकी प्रदेशमा गत साता लमजुङ र पोखराको मनिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि भएको घटना अप्रिय भएको मुख्यमन्त्री पाण्डेले बताए ।

‘पछिल्लो समय स्वास्थ्य क्षेत्रमा उच्छृखंलता बढ्दै गएको छ । अस्पताल तोडफोड गर्न अनि चिकित्सक कुट्न पाइँदैन,’ उनले भने, ‘डाक्टरबाट कमजोरी नै हुन्न भन्ने छैन्, कमजोरी हुनसक्छ । डाक्टरले सबैलाई बचाउन सक्थ्यो भने सबै जना डाक्टर बाँच्थे होला नि ।’ स्वास्थ्य क्षेत्रमा लाग्ने स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा सरकारले लिने उनले बताए । उनले भने, ‘यो पेसामा लाग्ने सबैको सुरक्षाको जिम्मा सरकारको हो । त्यो हामी लिन्छौं ।’

उनले प्रदेशको स्वास्थ्य क्षेत्रमा समस्या रहेको औंल्याउँदै समाधानको पाटो खोज्नु सबैको सामूहिक दायित्व रहेकोमा जोड दिए । उनले आफ्नो पालामा ३ सय ६५ बेड संख्यालाई बढाएर ७ सय ३५ बनाएरै छाड्ने प्रतिबद्धता जनाए । क्यान्सर पीडितहरूका लागि भरतपुर क्यान्सर अस्पतालसँग समन्वय गरेर सहुलियत उपचारको प्रक्रिया अघि बढेको उनले बताए ।

सोही कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सरकार र निजी अस्पतालबीच समन्वय हुनुपर्ने बताइन् । उनले जो पीडित छ पहिला उसैको उपचार निशुल्क गरिदिन आग्रह गरिन् । ‘गाडी चढेर सुट लगाएर आउनेलाई गरिबको छुट नदिई एकपटक आफू गरिब निमुखा भएर हेरेर गरिबले पाउने सेवा सुविधा दिनू,’ उनले भनिन् ।

सोमबारसम्म चल्ने समीक्षामा प्रदेशको ११ वटै जिल्लाको प्रतिनिधिहरू पोखरा आएका छन् । उनीहरूले आफ्नो प्रतिवेदन पेस गरी त्यसमा छलफल गरिने आयोजकले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width