विश्व शाक्यको ३२ औं कृति विमोचन

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०८०
shakya photo

पोखरा । अग्रज फोटोग्राफर एवं साहित्यकार विश्वरत्न शाक्यको कृति सिप, सिल्पी र फोटोग्राफी पुस्तक विमोचन भएको छ । फोटोग्राफर संघ गण्डकीको पाँचौं वार्षिकोत्सवका अवसरमा शिक्षासेवी जर्ज जोनबाट उक्त पुस्तक विमोचन गरिएको हो । लेखक, साहित्यकार, कलाकार एवं फोटोग्राफरका रुपमा पहिचान बनाउन सफल विश्वरत्नको यो ३२ औं कृति हो ।

कार्यक्रममा शिक्षासेवी जर्ज जोनले आफूले २०१७ सालतिर देखेको पोखरा र त्यसैताका पोखराको फोटोग्राफीलाई नजिकबाट हेर्नुको साथै केही प्राविधिक ज्ञानको सरसहयोग गरेको प्रसंग स्मरण गरे । कृति र कृतिकारका बारेमा पत्रकार दीपेन्द्र श्रेष्ठले चर्चा गरे । कृतिकार शाक्यले कोभिडका समयमा घर भित्रमात्र रहेका बेला आफूले यो पुस्तक लेखेको बताए । पुस्तकको बिक्रीबाट आउने रकममध्ये ४ लाख रुपैयाँ बराबरको अक्षयकोष फोटोग्राफर संघ गण्डकीलाई उपलब्ध गराउने घोषणा उनले गरे ।

कार्यक्रममा फोटोग्राफर संघ गण्डकीले नेचर एन्ड ल्यान्डस्केप फोटोग्राफी पुरस्कार तथा मिराज राष्ट्रिय वैवाहिक फोटोग्राफी पुरस्कार समेत वितरण गरिएको छ । ५० फोटोग्राफरका १ सय ५० तस्बिरबाट रोहित गिरी तस्बिर सर्वोकृष्ट भएको छ । उनले १० हजार रुपैयाँ हात पारे । ५ जना उत्कृष्ट सहभागीले २÷२ हजार रुपैयाँ प्राप्त गरे ।

मिराज राष्ट्रिय वैवाहिक फोटोग्राफी पुरस्कारका लागि १ सय ५० फोटोग्राफरका १२ सय फोटोबाट ६ वटा छनोट गरिएको थियो । वैवाहिकतर्फ पर्वतका विजय शर्माको फोटो सर्वोत्कृष्ट भयो । उनले १५ हजार ५ सय ५५ रुपैयाँ हात पारे ।

फोटोग्राफर संघ गण्डकीका उपाध्यक्ष नारायणबहादुर केसीले स्वागत गरेको कार्यक्रममा पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, गण्डकी प्रदेश महासचिव गोविन्द सुवेदी, कैलाश वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष षडानन्द अधिकारी, काठमाडांै फोटोग्राफर संघका अध्यक्ष दिगम्बर राजबंशी, पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल, मिराज राष्ट्रिय वैवाहिक फोटोग्राफी अवार्डको अक्षयकोषदाता भक्त तामाड, लगायतले मन्तव्य राखे । पुरस्कृत व्यक्तित्व, विजय शर्मा, निर्णायक कृष्णमणि बरालले मन्तव्य व्यक्त गरेको कार्यक्रममा फोटोग्राफर संघ गण्डकीका सचिव तुलसीराम सुवेदीले सञ्चालन गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलको सभापतित्वमा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width