मिटरमा गुड्न थाले पोखराका ट्याक्सी, अनुगमनमा निस्के यातायात मन्त्री

आदर्श समाज सम्वाददाता
भाद्र १, २०८०
Pokhara ma taxi miteer

हेमजा । पोखरा भित्र सञ्चालन हुने भाडाका ट्याक्सी शुक्रबारदेखि मिटरमा चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेका हुन् ।

प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सवारीले ट्याक्सीलाई मिटर अनिवार्य गरेको हो । ट्याक्सीले मिटर चलाएर यात्रु बोके/नबोकेको अनुगमनका लागि भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जाली आफैं सडकमा निस्किए ।

पोखराको औद्योगिक क्षेत्र, विमानस्थल प्रवेशद्वार तथा पृथ्वीचोकलगायतमा स्थानमा बिहानदेखि नै मन्त्रालय, यातायात कार्यालयका कर्मचारी सहित ट्राफिक प्रहरी अनुगमनका लागि खटिएका थिए ।

पर्यटकीय सहर पोखरामा मिटरमा ट्याक्सी सञ्चालनका लागि वर्षौंदेखि पहल भए पनि कार्यान्वयन हुन सकेको थिएन । वि.सं २०७७ मा नै यहाँका अधिकांश ट्याक्सीमा मिटर जडान गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन । मिटरमा ट्याक्सी नचल्दा यात्रु ठगिएको र चर्को भाडा तिनुपर्ने परेको व्यापक गुनासो आएको थियो ।

यातायात व्यवस्था कार्यालयका प्रमुख डिल्लीराम रिज्यालले कार्यान्वनयको पहिलो दिनमा अधिकांशले ट्याक्सी मिटरमा सञ्चालन गरेको पाइएको बताए । उनका अनुसार विविध कारण देखाएर सञ्चालनमा नभएका एका÷दुई ट्याक्सी चालकलाई सचेत गराइएको र आगामी दिनमा प्रभावकारी कार्यान्वयन गरिने छ ।

यातायात व्यवस्था कार्यालय सवारीले साउन ३० गते सार्वजनिक सूचना जारी गरी भदौ १ गतेदेखि अनिवार्य रुपमा विलिङ सहितको मिटर जडित ट्याक्सी सञ्चालन गर्न र मिटरमा बिलअनुसारको भाडा लिने गरी सेवा सञ्चालन गर्न सूचना निकालेको थियो । कार्यालयले मिटरमा नहिँड्ने ट्याक्सी चालकलाई कारबाही हुने समेत स्पष्ट पारेको छ ।

कार्यालय प्रमुख रिज्यालले भने ‘पोखरामा ट्याक्सी मिटरमा सञ्चालन हुन सुरु भयो, राम्रोसँग कार्यान्वयन भएको पाइएको छ, मिटरमा सञ्चालन भए/नभएको बारेमा नियमित अनुगमन गर्ने गरी समिति बनाएका छौँ ।’

ट्याक्सी मिटरमा चल्नका लागि प्रदेश सरकारले भाडासमेत तोकेको छ । समायोजन गरेको पछिल्लो भाडाअनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुआती दुई सय मिटरसम्मको रु ८० र त्यसपछि प्रतिदुई सय मिटर बराबर रु १० कायम गरिएको छ । त्यसैगरी १५ किमीभन्दा बढी यात्रा गर्दा प्रतिकिमी ३७–५० का दरले भाडा लिनुपर्नेछ ।

मन्त्री जुग्जालीले प्रदेश सरकारले विसं २०७७ मा ट्याक्सी मिटरमा सञ्चालन गर्न सुरु गरे पनि लागू नभएको बताए । उनले अब लागू गरेरै छाड्ने प्रतिबद्धता पनि जनाए । मन्त्री जुग्जालीले भने ‘पहिला किन लागू भएन भनेर समेत हामीले समीक्षा समेत गरेका छौँ,’अहिले लागू भएरै छाड्छ ।

चालक मिटरमा चले÷नचलेको अनुगमनका लागि मन्त्रालय, यातायात कार्यालय, जिल्ला प्रशासन र ट्राफिक प्रहरीको प्रतिनिधित्व हुने गरी अनुगमन समिति बनाइएको छ । त्यसका साथै ट्याक्सी चालकले समेत मिटरमा चल्न कुनै अप्ठेरो नभएको बताएका छन् ।

इन्धनको भाउ घटबढ हुँदा पनि स्वचालित रुपमा भाडादर कायम हुने व्यवस्था प्रदेश सरकारले गर्नुपर्नेमा ट्याक्सी चालकहरुको जोड छ ।

Related News

सम्बन्धित समाचार

hero news full width