झलकमान बिर्सेको समाज

धनबहादुर गुरुङ
वैशाख १२, २०८०
Jhalak Man Story Photo

पोखरा । नेपाली गीतसंगीतमा पोखराका झलकमान गन्धर्वको योगदान अतुलनीय छ । १९९२ वैशाख १२ मा जन्मिएका उनको मंगलबार ८८ औं जन्मजयन्ती हो । २० वर्षअघि यो धर्ती छाडेका उनको जन्मजयन्ती र पुण्यतिथिमा जेजति चर्चा हुनुपर्ने हो तर त्यस्तो पाइँदैन ।

अहिले राज्यले बेवास्ता गरेको परिवारको गुनासो छ । झलकमानका नाति दिनेश गायकले राज्यले श्रष्टाप्रति दायित्व पूरा नगरेको बताउँछन् । ‘जीवित हुँदा त राजादेखि संघसंस्थाले पुरस्कार, सम्मान र अभिनन्दन त गरेकै हो,’ दिनेशले भने, ‘मृत्युपछि खै केही गरेको सम्झना छैन ।’

उनी भन्छन्, ‘हजुरबुवाले राज्यका लागि केके मात्रै दिनुभएन ? स्वदेशमा र विदेशमा समेत नेपाली गीत संगीत, राष्ट्रियता, स्वाभिमानलाई उचो तुल्याउनु भयो । उहाँको सिर्जना के कस्तो अवस्थामा छ ? उहाँको परिवारको दैनिकी कस्तो छ ? परिवारप्रति राज्यको जिम्मेवारी र दायित्व के हो ? भन्नेसम्म महसुस गर्न नसक्नु दुर्भाग्य हो ।’

हजुरबुवाको मृत्यु हुँदा विभिन्न नेताले आश्वासनको झुठो पोको बाँडेको दिनेश सम्झन्छन् । झलकमानको नाममा झलकमान मार्ग, झलकमान चोक र झलकमान प्रतिमा बनाउने झूठा आश्वासन बाँडेको दिनेशले सुनाए । अझै पनि चुनाव आउँदा झलकमान र गन्धर्व बस्ती चुनावी नारा हुने गरे पनि निर्वाचनपछि केही नगर्ने उनले बताए । आफूहरुले चन्दा उठाएर उनको सालिक बनाएको दिनेशले जानकारी दिए । ‘हजुरबुवा निधनको १ वर्षपछि कुनै नेताहरुले पनि सालिक बनाउने छाँटकाट नदेखाएपछि हामीले नै चन्दा उठाएर बनायौं,’ उनले भने, ‘त्यसपछि केही भएको छैन । उहाँकै योगदानका कारण होला ।
पोखरा प्रज्ञा प्रतिष्ठानमा दिलीप गायक प्राज्ञ हुनुहुन्छ ।’ योगदानको कदर गर्दै राज्यले काम गरिदिनुपर्ने उनको माग छ । झलकमानको जन्मजयन्ती र पुण्यतिथिमा गन्धर्व समुदायको उपस्थितिमा सामान्य कार्यक्रम मात्र हुने गरेको उनले सुनाए ।

यो पटक महानगरले सारंगी वादन प्रतियोगिता गर्न र पार्क मर्मतका लागि रकम छुट्याएको झलकमान गन्धर्व समुदाय विकास केन्द्र अध्यक्ष सूर्यबहादुर गायकले बताए । स्थानीय सरकारले यो वर्ष केही रकम दिए पनि प्रदेश र केन्द्र सरकार झलकमानप्रति बेखबर रहेको उनले गुनासो गरे । पोखरा बाटुलेचौरका झलकमानको निधन गत २०६० मंसिर ६ मा भएको थियो ।

सारंगी सम्मेलन

‘सारंगी बचाऔं’ उद्घोषका साथ झलकमान गन्धर्व राष्ट्रिय सारंगी बादन प्रतियोगिता हुने भएको छ । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, सारंगी संरक्षण हाम्रो अभियान’ नारासहित आगामी १६ वैशाखमा हुने प्रतियोगितालाई सारंगी सम्मेलनको रुपमा पनि लिइएको छ । झलकमान गन्धर्व समुदाय विकास केन्द्र र झलकमान गन्धर्व सारंगी पाठशालाले संयुक्त रुपमा यो कार्यक्रम आयोजना गरेका हुन् । पोखरा महानगरपालिका सामाजिक विकास माहाशाखाले सघाएको सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । चौंथो र सान्त्वना पुरस्कार स्वरुप ७ हजार ५ सय र २ हजार ५ सय रुपैयाँ प्रदान गरिने केन्द्रका अध्यक्ष सूर्यबहादुर गायकले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

१६ वैशाखमा जित पार्टी प्यालेस बाटुलेचौरमा अडिसन हुने र फाइनल पोखरा सभागृहमा हुने उनले बताए । निशुल्क प्रवेश पाइने प्रतियोगितामा भाग लिन ४० जनाले नाम टिपाएका छन् । गन्धर्व समुदाय बाहिरकाले पनि प्रतियोगितामा भाग लिन पाउने केन्द्रका संरक्षक बलराम गायकले बताए । गीत गाउनेले स्वयं सारंगी ल्याउनु पर्ने र गाउने गीत गन्धर्व समुदायसँग सम्बन्धित हुनु पर्ने उनले बताए । झलकमान गन्धर्वको गीत पनि गाउन पाइने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width