आँखा उपचारमा अब्बल

आदर्श समाज सम्वाददाता
फागुन २०, २०७९
Eye Hospital Photo 3

पोखरा । स्याङ्जा ओरस्टेकी नौमाया गुरुङको ९ वर्ष अघि आँखामा समस्या देखियो । तत्कालै पोखराको हिमालय आँखा अस्पतालमा परीक्षणका लागि आइन् । उनमा मोतियाविन्दुको समस्या थियो । उनको अस्पतालको चिकित्सकहरुले शल्यक्रिया गरिदिए । सफल शल्यक्रियापछि उनी छर्लंग देख्ने भइन् । उनी अहिले निकै खुसी छिन् । अहिले पनि अस्पतालको त्यो काम कहिल्यै भुल्न सक्दिनन् । उनी सधैं त्यो समयमा शल्यक्रिया गर्नेहरुलाई सम्झिरहन्छिन् ।

पोखराको हिमालय आँखा अस्पतालले अहिलेसम्म नौमाया जस्तै ३१ हजार बढीको शल्यक्रिया गरेको छ । फागुन १७ गते बुधबार अस्पताल ३० औं वर्षमा प्रवेश गरेको छ । यो अवधिमा अस्पतालबाट ३१ हजार ७ सय ४२ जनाको शल्यक्रियाको सुविधा लिएका छन् । आँखा शिविरहरुमा भएको शल्यक्रियाबाट १ लाख ३ हजार ९ सय १९ गरी १ लाख ३५ हजार ७ सय १ जनाको शल्यक्रिया भएको छ ।

सोही अवधिमा २१ लाख ६१ हजार ५ सय ५७ जनाको आँखा परीक्षण गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले जानकारी दिइन् । विद्यालय आँखा जाँच कार्यक्रममा ३ लाख ९८ हजार ७ सय २७ को आँखा जाँच गरी ११ हजार ३ सय २७ लाई निशुल्क चश्मा वितरण गरेको छ । विभिन्न स्थानमा गरिएको आँखा जाँच शिविरबाट ८ लाख ३७ हजार १ सय ५० लाभान्वित भएको उनले जानकारी दिइन् । यही सेवाका कारण आँखा उपचारमा हिमालय आँखा अस्पताल अब्बल सावित भएको छ ।

अन्य रोगको उपचारका लागि काठमाडौं धाउन बाध्य यस क्षेत्रका बिरामीको आँखाको उपचार भने यही सम्भव छ । जसले समय र पैसाको बचत भएको छ । गण्डकीबासीलाई यस अस्पतालले ठूलै राहत दिएको छ । आँखामा देखिने ९५ प्रतिशत समस्याको समाधान पोखराकै हिमालय आँखा अस्पतालमा हुन्छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठ भन्छिन्, ‘अरु रोग लागे अन्यत्र जानुपरे पनि आँखाको उपचारमा पोखराले अन्यत्रकालाई निम्तो दिइरहेको छ ।’

पछिल्ला समय अस्पतालमा नयाँ सुविधा बढेकाले पनि बिरामी संख्या बढेको उनको भनाइ थियो । पुरानो सेवा बाहेक आँखाको रेटिनाको शल्यक्रिया, कन्ट्याक्ट लेन्स सुविधा, भिजन थेरापी नयाँ प्रविधि ल्याएपछि अस्पतालमा झनै बिरामीको संख्या बढेको उनले जानकारी दिइन् । अस्पतालको आफ्नै प्रयास र दातृ संस्थाहरुको सहयोगले आँखा उपचारमा हिमालय आँखा अस्पताल अब्बल रहेको दाबी डा. श्रेष्ठको छ ।

आगामी दिनमा नयाँ भवन बनाउने योजना रहेको उनले सुनाइन् । ‘३० वर्ष अघि १ सय ५० जनालाई लक्षित गरी बनाइएको हो । अहिले त दैनिक ६ सयभन्दा बढी बिरामी आउँछन्,’ उनले भनिन्, ‘हावाहुरी र पानी पर्दा बिरामीलाई साह्रै समस्या हुन्छ । त्यसैले नयाँ भवन बनाउने कि भनेर सोचिरहेका छौं ।’ पोखरा पर्यटकीय क्षेत्र भएकाले आगामी दिनमा मेडिकल टुरिजमको अवधारणालाई अघि बढाउने योजना रहेको उनले सुनाइन् । क्यान्सरको जटिल शल्यक्रिया, नाक, कान, घाँटी र नशासँग सम्बन्धित शल्यक्रिया र चश्मा लगाउन नपर्नेगरी हुने लेजर सर्जरीबाहेक अन्य सेवा अस्पतालबाट दिइरहेको उनको भनाइ थियो ।

३० वर्षको अवधिमा हिमालय आँखा अस्पतालले १ लाख ३५ हजार ७ सय १ जनाको शल्यक्रिया गरेको छ

हालसम्म कर्णाली र गण्डकीमा गरी २७ ठाउँमा आँखा उपचार केन्द्र छन् । तत्कालीन गण्डकी, धौलागिरी र कर्णाली अञ्चलमा यी सेवा केन्द्र रहेको अस्पतालका व्यवस्थापक कुमार गर्बुजाले जानकारी दिए । अस्पतालमा बेल्जियम, नेदरल्यान्ड, बेलायत, अस्ट्रेलिया लगायत देशबाट बर्सेनि २५ जनाको हाराहारीमा इन्टनसिप गर्न आउने गरेका छन् । उनीहरुले नेपालीमा देखिएको आँखाको समस्या र यहाँ अपनाइएको उपचार विधिबारे सिकेर फर्कछन् । हिमालय आँखा अस्पतालका लागि किनिएको ७० रोपनी जग्गामा हाल २६ वटा भवन छन् । गण्डकी प्रदेश सरकारले समेत अस्पताललाई आर्थिक सहयोग गरेको छ ।

आँखा उपचारमा अब्बल दरिएको हिमालय आँखा अस्पतालले पछिल्लो समयमा शैक्षिक कार्यक्रम समेत सञ्चालन गरेको छ । सिटिइभिटीसँगको सहकार्यमा निकै सस्तो शुल्कमा आँखा सम्बन्धी पढाइ हुँदै आएको र पछिल्ला दिनमा विद्यार्थीहरुको रुचि पनि असाध्यै यसमा देखिएको व्यवस्थापक गर्बुजाले बताए । ३ वर्षे डिप्लोमा इन अप्थाल्मिक साइन्समा ४० जना, पोखरा विश्वविद्यालयसँगको सहकार्यमा ४ वर्षे ब्याचलर अफ अप्टोमेट्रीमा १६ जना र नेपालमै पहिलोपटक सुरु भएको २ वर्षे मास्टर्स अफ अप्टोमेट्रीमा ६ जना पढ्दै आएका उनले जानकारी दिए ।

यस्तो त अस्पतालको कहानी

नेदरल्यान्डबाट नेपाल घुम्न आएको अनिता सिमोन्स र लिन्ड्रेट पार्लेभ्लिटको जोडी जुम्ला पुग्यो । जुम्लाको गाउँमा पुग्दा त्यहाँका नागरिकमा आँखाको समस्या देखेपछि जोडी अवाक भयो । अब केही गर्नुपर्छ भनेर स्वदेश फर्केको जोडीले च्यारिटीबाट सुरुको वर्ष १० लाख डलर संकलन ग¥यो । अनि सुरु भयो आई केयर फाउन्डेसन नेदरल्यान्ड । त्यही फाउन्डेसनले नेपाल नेत्रज्योति संघसँग मिलेर पोखरामा हिमालय आँखा अस्पताल खोल्यो । त्यही अस्पताल अहिले गण्डकी र कर्णाली प्रदेशको ज्योति बनेको छ ।

नेपाल लगायत विश्वका १६ मुलुकमा आँखाको क्षेत्रमा सहयोग गर्दै आएको आई केयर फाउन्डेसन नेदरल्यान्डले ३६ वर्ष पार गरेको छ । पोहोर भदौमा पोखरा आएका फाउन्डेसनका संस्थापक लिन्ड्रेट पार्लेभ्लिटले हिमालय आँखा अस्पतालले गरेको प्रगति देखेर खुसी व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘३५ वर्ष वर्ष पहिला जे सपना देखेर हामीले नेपालमा काम थालेका थियोैं त्यही अनुसार काम भएको पायौं, यसले हामीलाई धेरै खुसी बनाएको छ ।

अस्पतालले सुरुका ५ वर्ष कमाएको सबै रकम फाउन्डेसनले अस्पतालको कोषमा राखिदिएको छ । त्यसपछिका १० वर्ष १० प्रतिशत कटाएर कोषमा राखिदिएको डा. इलिया श्रेष्ठले बताइन् । त्यसपछि भने फाउन्डेसनले नेपाल नेत्रज्योति संघलाई उक्त अस्पताल पूरै हस्तान्तरण गरेको हो ।

अस्पतालको वार्षिकोत्सव

हिमालय आँखा अस्पतालले ३० औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समुदायस्तरबाट सञ्चालित यो अस्पतालबाट आफूले धेरै पाठ सिकेको बताए ।
सरकारले बेवास्ता गरेको तर राम्रो काम गरेका संस्थाहरुलाई प्रदेश सरकारले सहयोग आएको जानकारी उनले गराए ।

पोखरा महानगरका मेयर धनराज आचार्यले अस्पताल पोखराको गौरवको विषय भएकाले यसको स्तरवृद्धिका लागि महानगर सहयोग गर्न तयार रहेको बताए । नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङ हिमालय आँखा अस्पताललाई रिसर्च र जनशक्ति उत्पादनको केन्द्रको रुपमा विकास गर्दै आएको बताए । संघका सचिव सुरेन्द्र थापामगरले आँखा उपचारमा ख्याति कमाएको हिमालय आँखा अस्पतालमा बर्सेनि इन्टर्नसिपमा आउने विदेशी बाक्लै हुने बताए ।

वार्षिकोत्सवको अवसर पारेर कर्मचारीहरु डा. हरिमाया गुरुङ र वसन्ती भुजेललाई जनही नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । सोही अवसरमा स्थापनाकाल देखि नै सेवा गरेका १४ कर्मचारीलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • जिभिपी युके लन्डनलाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  • हातपात अभियोगमा पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई…
  • तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त…
  • उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि उषा खनाल र प्रकाश थापा…

hero news full width