अचेलका विद्यार्थीमा दया, माया र करुणा भाव हराउँदै गएको हो ?

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७९
20230225_132048

पोखरा । विद्यार्थीमा दया, माया र करुणा भाव जागृत गराउन काइन्डनेस क्लब पोखरा स्थापना गरिएको छ ।

३ वर्षअघि मदरल्याण्ड माविमा काइन्डनेस क्लब मदरल्याण्ड स्थापित भएकोमा यसको क्रियाकलाप अझ बृहत् बनाउने उद्देश्यले काइन्डनेस क्लब पोखरा बिस्तार गरिएको हो । श्रीकृष्ण परियारको अध्यक्षमा गठित १५ सदस्यीय तदर्थ समितिमा संस्थापक दुर्गामाया भट्टचन र नारायण बराल हुन् । सल्लाहकार विकल शेरचन, डा. त्रिभुवन शर्मा, डेभ एन्डरसन, डिबि गुरुङ र सम्राट ढुंगाना छन् ।

मदरल्याण्डमा क्लब स्थापनाको चौथौं वर्ष पुगेको अवसरमा काइन्डनेस क्लब पोखराले पृथ्वीचोक आसपासमा बसोबास गर्ने २५ जना गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई शनिबार शैक्षिक सामग्री र विद्यालय झोला वितरण गरेको छ । सो अवसरमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै विद्यार्थीबीच रमाइलो खेल तथा पेन्टिङ गरिएको थियो ।

काइन्डनेस क्लब पोखरालाई संस्थापक अध्यक्ष भट्टचन र बरालले गरे २ लाख सहयोग

यस्तै, क्लब संस्थापक दुर्गामाया भट्टचन र नारायण बरालले क्लब अध्यक्ष परियारलाई २ लाखको चेक संयुक्तरुपमा हस्तान्तरण गरे  । कार्यक्रममा मदरल्याण्डका निर्देशक तथा क्लब सल्लाहकार डा. त्रिभुवन शर्मा बराल, विद्यालय प्राचार्य एवं क्लब संस्थापक नारायण बराल, क्लब संस्थापक दुर्गा भट्टचनले प्रविधिले मानिसको जीवनमा सकारात्मकसँगै नकारात्मक प्रभावसमेत पारेकोले पारस्परिक हित, दया, माया, करुणाभाव जागृत गराउनु आवश्यक रहेको बताए ।

पोखरा बुलौंदीकी दुर्गामाया अमेरिकी नागरिक डेभ एन्डरसनसँग बिहेपछि ३० वर्षदेखि अमेरिका बस्दै आएकी छन् । लामो समयको परबास बसाइँमा उनले जन्मभूमिमा पनि केही गरौं भन्ने उद्देश्यले मदरल्याण्डका कक्षा ३ का १८० विद्यार्थीलाई जुटाएर ३ वर्षअघि काइन्डनेस क्लब मदरल्याण्ड खोलेकी हुन् । आगामी दिनमा यसको कार्यक्षेत्र अझ फराकिलो बनाउँदै विपन्न वर्गका बालबालिकालाई छात्रवृत्तिसमेत उपलब्ध गराउने आफ्नो योजना रहेको सुनाइन् ।

अचेलका बालबालिका पारिवारिक क्रियाकलापमा कम रुची दिने, एक्लै बस्न रुचाउने हुँदा भविष्यमा जटिल सामाजिक समस्या उत्पन्न नहोला भन्न सकिन्न । त्यसैले आफूहरुले यस्तो प्रयास थालेको क्लब संस्थापक बरालले बताए । कृष्णटोल विकास संस्थाको सामाजिक भवनमा भएको कार्यक्रमको संचालन दिव्यानी शर्मा र सुस्मिता शर्माले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width