पोखरा विश्वविद्यालयका ६९९९ विद्यार्थी दीक्षित

आदर्श समाज सम्वाददाता
फागुन ८, २०७९
pokhara university convocation (11)

पोखरा।  पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहमा ७ हजार विद्यार्थी दीक्षित भएका छन् ।
पोखरा ३०, ढुंगेपाटनस्थित विश्वविद्यालय परिसरमा सोमबार आयोजित समारोहमा स्नातक तथा स्नातकोत्तर तहका गरी ६ हजार ९ सय ९९ विद्यार्थी दीक्षित भएका हुन् ।
प्रमुख अतिथि भारतको नोयडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआइयु) का उपकुलपति प्राडा उमा भारद्वाज र विश्वविद्यालय कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई दीक्षित गरेका हुन् ।

दीक्षित भएकामध्ये डिन लिस्टमा पर्न सफल ५ सय ७२ विद्यार्थी थिए । स्नातक तहका कार्यक्रममा सिजिपिए ३.७ वा सोभन्दा बढी अंक तथा स्नातकोत्तरमा सिजिपिए ३.८ वा सोभन्दा बढी अंक ल्याउने विद्यार्थी डिन लिस्टमा परेका हुन् ।

समारोहमा स्नातकोत्तर तहका सम्पूर्ण कार्यक्रममा सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीले स्वर्णांकित कुलपति पदक तथा स्नातक तहका सम्पूर्ण कार्यक्रममा सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीले स्वर्णांकित अक्सफोर्ड पदक प्रदान गरियो । विश्वविद्यालयबाट यस वर्षसहित हालसम्म ५५ हजार ९ सय ७ जना विद्यार्थी दीक्षित भएका छन् ।

१८ औं दीक्षान्त समारोहमा स्नातक तह कम्प्युटर एप्लिकेसन कार्यक्रममा उच्च अंक प्राप्त गर्ने अनिश लिम्बु (सिजिपिए ३.९६) लाई ओसिइएम स्वर्ण पदक–२०७९ प्रदान गरिएको थियो । महाविद्यालयबाट व्यवसाय प्रशासन, स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने सम्झना तिवारी (सिजिपिए ३.९९) लाई लक्ष्मी विद्या पदक–२०७९ प्रदान गरियो ।

यस्तै, स्वास्थ्य विज्ञान संकायअन्तर्गत स्नातकमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने विनु भट्टराईलाई उपकुलपति पदक र सिमान्त कसजु, अमितकुमार शर्मा, अश्वीना गिरी, निमेश शाक्य, रुपेश अर्याल, अविरल सुवेदी, एलिता श्रेष्ठ, आशीष कर्ण, संजोग उप्रेती, सुशील पंगेनी, उर्जा कार्कीलाई स्नातकोत्तरतर्फको कुलपति पदक प्रदान गरियो । व्यवस्थापनतर्फ दीपमाला श्रेष्ठलाई कुलपति पदक (विद्यावारिधि) बाट दीक्षित गरिएको रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले बताए ।

पोविविबाट हालसम्म ५५ हजार ९ सय ७ जना विद्यार्थी दीक्षित भएका छन् ।

यो विश्वविद्यालयले नेपालमै सबैभन्दा ठूलो संख्यामा निशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको छ । गत वर्ष विभिन्न संकायका स्नातक तहको कार्यक्रममा ९ सय ७२ जनाले र स्नातकोत्तर, एमफिल तह तथा विद्यावारिधिका विभिन्न कार्यक्रममा १ सय ५४ जना गरी कुल १ हजार १ सय २६ विद्यार्थीले निशुल्क छात्रवृत्ति पढ्ने अवसर पाएका थिए । यस वर्ष स्नातकमा ८ सय १६ विद्यार्थीले निशुल्क छात्रवृत्ति पढ्ने अवसर पाएका छन् । विश्वविद्यालयले यसै वर्षदेखि शिक्षण अस्पतालसमेत चलाएको छ । चाँडै नै पोखरा विश्वविद्यालय शिक्षण अस्पताल, परिमार्जित छात्रावास भवन र नवनिर्मित भवनमा फुल फेजमा संचालन गरिने जनाइएको छ ।

‘शैक्षिक जनशक्ति पलायन रोक्नु चुनौती’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थीले आर्जन गरेको ज्ञान सिप मुलुकको सर्वांगीण विकासमा सदुपयोग गर्न आग्रह गरेका छन् । पोखरा विश्वविद्यालयको सोमबार १८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिप्रतिको सरकारको लक्ष्य हासिल गर्न शिक्षाको भूमिका अग्रणी रहेको औंल्याए ।
‘विश्वबजारमा प्रतिस्पर्धा र अब्बल प्रमाणित गर्न तपाईंहरुबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालय लगायत मुलुककै प्रतिष्ठान उचो राख्नुहुनेछ भन्ने आशा र विश्वास लिएको छु,’ विश्वविद्यालयका कुलपति समेत रहेका उनले भने ।
उनले शैक्षिक जनशक्तिको पलायन रोक्नु पनि उस्तै चुनौती पनि रहेको औंल्याए । उनले सामाजिक न्याय, सुशासन र समृद्धिप्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका सबैभन्दा अग्रणी रहने पनि बताए । ‘एकातिर भूकम्प, कोभिड, रसिया–युक्रेन युद्ध लगायतले विश्वव्यापी अर्थतन्त्रमा परेको असर र त्यसबाट नेपालको अर्थतन्त्रमा परेको बाछिटालाई न्युनीकरण गर्न राज्यले तपाईहरुको ज्ञान र सिपको अपेक्षा गरेको छ,’ उनले भने, ‘अर्कोतर्फ वातावरणीय र जलवायु परिवर्तनका कारण भविष्यमा आउन सक्ने संकटबाट मुलुकलाई जोगाउने जिम्मेवारी तापईंहरुको काँधमा आएको छ ।’
उनले संविधानले व्यवस्था गरेबमोजिम निशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको पनि बताए । संघीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या समाधान हुने अपेक्षा गरिएको प्रधानमन्त्री प्रचण्डले बताए ।
ढिकुरपोखरी २, लिवाडेमा आफ्नो जन्म भएको स्मरण गर्दै उनले कास्की जिल्लासँग आफ्नो भावनात्मक सम्बन्ध पनि रहेको बताए । पोखरा पर्यटकीय सहर भएकोले यहाँस्थित पोखरा विश्वविद्यालयले अरु विश्वविद्यालयको तुलनामा शैक्षिक पर्यटन र स्वास्थ्य पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिन सक्ने औंल्याए ।
उनले ३ दशकअघि थालेको जनयुद्ध होस् वा जनआन्दोलन होस् त्यसको लक्ष्यलाई निचोडमा पु¥याउन अझै प्रयासरत रहेको उनले जनाए । प्रचण्डले आजभन्दा १४ वर्षअघि पनि कुलपति हैशियतमा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्स उद्घाटन, नवौं सभाको बैठकको अध्यक्षतासहित १७ औं सभाको अध्यक्षता र २०७३ सालको १४ औं दीक्षान्त समारोहको अध्यक्षता गरेका थिए ।
विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति मुलुकको विभिन्न क्षेत्रमा आफ्नो परिचय दिन सफल भएको भन्दै गर्व महसुस भएको बताए । उनले दीक्षित विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै मुलुकप्रति इमानदार, दत्तचित्त र अविचलित भई कर्तव्य पूरा गर्न आग्रह गरे । उनले भने, ‘यो तपाईको जीवनको विशिष्ट समय हो, अविश्मरणीय क्षण हो । आजको यस शुभघडीमा तपाईहरुले आर्जित ज्ञान र सीप देशको चौतर्फी विकास, आफ्नो सुन्दर र फलिभूत भविष्य निर्माण गर्ने काममा सदुपयोग गर्न सफलता मिलोस् ।’

Related News

सम्बन्धित समाचार

hero news full width