फड्को मार्दै गण्डकी विश्वविद्यालय

आदर्श समाज सम्वाददाता
फागुन ४, २०७९
gandaki university

पोखरा ।  नेपालमा विश्वविद्यालयको इतिहासले सतक पार गरेको छैन । राजधानी काठमाडौं र प्रदेशहरुमा विश्वविद्यालयहरु खुलेका छन् । यसरी खुलेका विश्व विद्यालयहरु राजनीति र बेथितिका अखडा बनेका छन् । पदपूर्तिमा दलीय भागबन्डा हुन्छ । कुलपति प्रधानमन्त्री, सहकुलपति शिक्षामन्त्री हुन्छन् । सिनेटको बैठक र वार्षिकोत्सव वाहेक अरु बेला कुलपति र सहकुलपति विश्वविद्यालय पुग्नै भ्याउँदैनन् । शैक्षिक गुणस्तरका लागि ध्यान जानु त परको कुरा भयो ।

योभन्दा माथि उठेर गण्डकी प्रदेश सरकारले गण्डकी विश्व विद्यालय स्थापना गरेको छ । त्यही विश्वविद्यालयले बिहीबार तेस्रो वार्षिकोत्सव मनाएको छ । ३ वर्षको छोटो अवधिमा विश्वविद्यालयले शैक्षिक, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा देखिने गरी काम थालेको छ ।

विश्वविद्यालयमा हाल सूचना प्रविधि, खेलकुद व्यवस्थापन, औषधी विज्ञान, कानुन र व्यवस्थापन गरी स्नातक तहका ५ कार्यक्रम सञ्चालनमा छन् । ती कार्यक्रममा ३ सय १९ विद्यार्थी अध्ययनरत छन् । हाल २४ पूर्णकालीन र २० करार गरी ४४ जना शिक्षक प्राध्यापनरत रहेको विज्ञान संकायका डिन डा. कपिल अधिकारीले बताए ।

उनले भने, ‘यसै शैक्षिक वर्षभित्र औपचारिक शिक्षा र डिग्रीका साथमा आवश्यक अन्य सफ्ट स्किलका तालिम र अन्य छोटो समयका तालिमका लागि विश्वविद्यालयमा छुटै विभाग डिपार्टमेन्ट अफ कन्टिन्युइड एजुकेसन स्थापना गरी यस मार्फत यस्ता कार्यक्रम हरु अगाडि बढाउने योजना छ ।’

वार्षिकोत्सवकै अवसरमा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पोखरा ३२, मालमुलमा रहेको गण्डकी विश्वविद्यालयको भवन उद्घाटन गरेका छन् । उनले अनुसन्धानमा केन्द्रित प्राविधिक शिक्षा प्रदान गर्न, प्रदेशको सभ्यता र विकासको लागि जनभावना र मर्म अनुसार स्थापित विश्वविद्यालयलाई लक्ष्यका पु¥याउन सरकार साथमा रहेको बताए । उनले भने, ‘कृषि लगायतका काममा यान्त्रिकीकरणका लागि आविष्कार केन्द्रसँग सहकार्य गरेर अगाडि बढ्नुहोस्, प्रदेश सरकार साथमा छ ।’

पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक प्रभावबाट मुक्त राख्दै गुणस्तरीय र समय सुहाउँदो जनशक्ति उत्पादनका लागि गण्डकी विश्वविद्यालय स्थापना गरिएको बताए । ‘आविष्कार केन्द्र भएको यो पहिलो विश्वविद्यालय हो, मर्म र भावना अनुसार नेतृत्वले यसलाई अगाडि बढाउन जरुरी छ,’ उनले भने ।

गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले छोटो अवधिमा विश्वविद्यालयले गरेको प्रगति प्रशंसायोग्य रहेको बताए । प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. गिरिधारि शर्मा पौडेलले भारत र अन्य देशका ४० भन्दा बढी विश्वविद्यालयका बारेमा गहन अध्ययन गरी गण्डकी विश्वविद्यालय स्थापना प्रक्रिया अगाडि बढाइएको बताए ।

कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालयले हाल ५ विधामा कक्षा सञ्चालन गरेकामा अब खानी इञ्जिनियरिङको पढाइ सुरु गर्न लागिएको बताए । विश्वविद्यालयले अनुसन्धान आविष्कारलाई जोड दिएको भविष्यमा पढाइसँगै अतिरिक्त क्रियाकलापलाई समेटेर लैजाने प्रतिबद्धता जनाए ।

उपकुलपति प्राडा नवराज देवकोटाले नेपालका विश्वविद्यालयहरुले अनिवार्य शर्तका रुपमा अनुसन्धानलाई तोक्न नसकेका बेला सिमित स्रोत साधनको उपयोग दगर्दै गविविमा कार्यरत प्राध्यापकहरुको कार्याभार जिम्मेवारीमा अनुसन्धानलाई अनिवार्य कार्यको रुपमा स्थापित गरेको बताए । रजिस्ट्रार डा. कैलाश तिमिल्सिनाले समयसापेक्ष शिक्षा प्रदान गरी बजार अनुकुल जनशक्ति उत्पादन गर्न विश्वविद्यालयलाई प्रयासरत रहेको दाबी गरे । कार्यक्रममा गण्डकीका प्रमुख सचिव रविलाल पन्थ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले शुभकामना व्यक्त गरे ।

२०७६ फागुन ४ मा विश्वविद्यालय कुलपतिमा प्राडा गणेशमान गुरुङ नियुक्त भएका थिए । त्यही दिनलाई विश्वविद्यालय दिवस मनाउने गरिएको छ । गविविलाई २०७७ सालमा पोखरा महानगरपालिकाको वडा नं. ३२ स्थित मालमुलमा १ सय ८१ रोपनी र मालेपाटनको १ सय ७२ रोपनी जग्गा प्राप्त भएको थियो । मालमुलको १ सय ८१ रोपनी जग्गामा विश्वविद्यालयको केन्द्रीय भवन, कुलपति, उपकुलपति र रजिस्ट्रारको कार्यालय, पुस्तकालय लगायत शैक्षिक कार्यक्रमका लागि १२ वटा भवनहरु बनाइएको छ । ६ करोड ५८ लाख रुपैयाँ लागतमा ती संरचना बनाइएको हो ।

उक्त अवसरमा मुख्यमन्त्री अधिकारी, पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले विश्वविद्यालय मातहतको आविष्कार केन्द्र अवलोकन गरेका थिए ।
गविविले स्नातकोत्तर तहमा वातावरण विज्ञान, जलवायु परिवर्तन, जैविक विविधता, र दिगो विकासका समस्याहरुमा केन्द्रित इन्टर डिसिप्लिनरी कार्यक्रम स्थापनाको तयारी गरेको डिन डा. कपिल अधिकारीले बताए । उनले भने, ‘आर्टिफिसियल इन्टेलिजेन्स र मेकानिकल इन्जिनियरिङका डिग्री कार्यक्रम पनि तयार हुने क्रममा छन् ।’

Related News

सम्बन्धित समाचार

hero news full width