भूमिहीनलाई निस्सा

श्रीभद्र पौडेल
श्रावण २१, २०७९
bhumihin

हेमजा । कास्कीका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्न सुरु गरिएको छ । जसअनुसार शुक्रबार अन्नपूर्ण गाउँपालिका वडा ८ का कुल १७ घरधुरी परिवारलाई निस्सा बाँडियो ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति कास्कीको समन्वय तथा अन्नपूर्ण गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रमबीच निस्सा पाएकोमा त्यहाँका भूमिहिनले खुसी व्यक्त गरे । उनीहरुले ढिलै भए पनि राज्यले आफूहरुको दुख बुझ्न लागेको भन्दै भूमिपति हुने आशामा खुसी साटासाट गर्न पनि भ्याए ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोग कास्की अध्यक्ष गंगाप्रसाद पोखरेलले भूमिहिनको सवालमा आयोग संवेदनशील रहेको स्पष्ट पार्दै संघ तथा प्रदेश निर्वाचनको आचारसंहिता लागु पूर्व नै जिल्लाभर निस्सा तथा लालपुर्जा वितरण गरी सक्ने लक्ष्य राखिएको जानकारी दिए ।

उनले पुस्तैदेखि भूमिहीन रहेकालाई निस्सा वितरणसँगै राहात मिल्ने विश्वास समेत लिए । अब पछाडि फर्कने बाटो छैन, भूमिहिनलाई लालपुर्जा दिनुको विकल्प छैन भन्दै पोखरेलले वडाले व्यक्ति र जग्गा पहिचान गरेर प्रमाणित गरेपछि नापजाँच गरी कित्ताकाँट गरेर भूमि प्रदान गरिने स्पष्ट पारे ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पालिकाले भूमिहीनलाई जग्गाको मालिक मात्रै होइन, विकाससँग पनि जोड्न खोजेको बताए । केसीले लगत्तै अब वडा ४ र ५ मा पनि निस्सा बाँडिने जनाउँदै जनअधिकारप्रति पालिका सचेत रहेको औंल्याए ।

अन्नपूर्ण ८ का अध्यक्ष विजय गुरुङले भूमि आयोगले दिएको मापदण्डमा रहेर कार्यक्रम कार्यान्यवयन गरिने स्पष्ट पारे ।

कार्यक्रमअन्तर्गत अन्नपूर्ण गाउँपालिका सहजकर्ता प्रभात पौडेलले बिनापूर्वाग्रह कार्य गरिएको भन्दै पालिकाभर कुल ६ सय ६१ घरधुरी भूमिहीन तथा अव्यवस्थित बसोवासी रहेको बताए ।

५ स्थानीय तह रहेको कास्कीमा पोखरा महानगरपालिकामा मात्रै झण्डै २० हजार तथा अन्य ४ गाउँपालिका अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रुपामा ३ हजार तथा पहिलेका ३ हजार गरी करिब २६ हजार भूमिहीन तथा अव्यवस्थित बसोबासी घरधुरी रहेको अनुमान छ ।

Related News

सम्बन्धित समाचार

hero news full width