पश्चिमाञ्चल क्षेत्रीय अस्पताल : उपचारका नाममा पटकैपिच्छे लाइन

सुनील सापकोटा
चैत्र २२, २०७८
westren hospital

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हालै निर्मित भवनमा गर्भवती तथा स्त्रीरोग जाँच गर्ने व्यवस्था मिलाइएको छ । सोही भवनमा बिहीबार गर्भ परीक्षण गराउन आएका महिलाहरुको लामै पंक्ति थियो ।

पालो कुरेकी पोखरा ११ की एक गर्भवती एक्कासि बेहोस भएर भुइँमा लडिन् । अगाडि पछाडि लाइनमै भएका, सुरक्षा गार्ड र बाहिरी क्षेत्रमा रहेका स्वास्थ्यकर्मीले उनलाई उठाए । केहीबेरमा होशमा आइन् ।

गभर्वती भएका कारण केही कमजोरी । त्यसैमाथि लाइनै लाइन पार गर्दै डाक्टर भेट्नुपर्ने झमेला । करिब दर्जन पटक लाइन बसेर डाक्टर भेट्ने प्रतीक्षामा रहेकी उनीजस्तै अन्यको पनि समान समस्या थियो ।

भिडियो एक्सरे (अल्ट्रासाउन्ड) गर्न पनि उस्तै थियो भिड । लमजुङकी बिना गुरुङ गर्भवती हुन् । उनले अघिल्लो दिनमा भिडियो एक्सरे गर्न पाइनन् । टोकन सकियो भनेपछि दोस्रो पटक बिहीबार टोकन लिन लाइनमा बसेको बताइन् ।

तल्लो पेट दुख्ने समस्या भएका कारण पोखरा १३ की सुमित्रा बराललाई पनि डाक्टरले भिडियो एक्सरे गर्न सिफारिस गरेका थिए तर उनी बिहीबार तेस्रो पटकमा सेवा पाउने आशामा थिइन् । २ पटकसम्म टोकन सकियो भनेर उनी फर्काइएकी थिइन् ।
म्याग्दीका १६ वर्षे प्रकाश गर्बुजाको मिर्गाैला समस्या भएकाले भर्ना गरिएको थियो, उनका अभिभावक भिडियो एक्सरे गर्न लिनुपर्ने टोकनको लाइनमा थिए । इमर्जेन्सीका बिरामीका लागि सोही दिन भिडियो एक्सरे गर्न सकिने भए पनि सामान्य बिरामीका लागि एकै दिनमा अस्पतालमा भिडियो एक्सरे गरी रिपोर्ट देखाउन पाए चिठ्ठा परेको महसुस गर्छन् ।

गर्भवतीलाई दर्जन पटक लाइन

अस्पतालको सेवा लिन सबैभन्दा पहिले बिरामी पुर्जा त जहाँसुकै पुगे पनि लिनैपर्छ । तर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भने १५ पटक जति फेर्दै फेर्दै लाइन बसेपछि गर्भवती जाँच पूरा गर्न सकिन्छ । तर एकै दिनमा जाँच गराउन भने मुस्किल छ ।
अस्पतालबाट सेवा लिन सबैभन्दा पहिले पालोको टोकन लिनुपर्छ । टोकन लिंदा स्वास्थ्य बिमा भएको र नभएको फरक–फरक लिनुपर्छ । बिमाको पुर्जा लिनै ढिलो हुन्छ । टोकन लिइसकेपछि पुर्जाको लागि पहिलो पटक लाइन बस्नुपर्ने अर्को झन्झट । डाक्टर कक्षमा प्रवेश गर्नुअघि तौललगायत जाँचका लागि दोस्रोपटक । प्रेसर जाँचका लागि तेस्रो पटक । डाक्टर कक्षमा प्रवेश गर्न चौंथो पटक । प्रेस्क्रिप्सनअनुसारको जाँच गराउन र बिल तिर्न पाँचौ पटक लाइन बस्नुपर्छ ।

गर्भवतीले समेत १५ पटक जति फरक फरक लाइनमा बसेर पालो कुर्नुपर्ने बाध्यता छ

भिडियो एक्सरे गर्नुपर्नेले टोकन लिन छैटौं पटक, टोकनपछि भिडियो एक्सरेको बिल तिर्न सातौं पटक, रसिद काटेपछि जाँचका लागि आठौं पटक लाइन बस्नुपर्ने बाध्यता छ । रगत पिसाब जाँच गर्नुपर्नेका लागि नवौं पटक लाइनमा खडा हुनुपर्छ । बल्लतल्ल जाँच प्रक्रिया पूरा हुनै लाग्दा रिपोर्ट लिन दशौं पटकको लाइनमा पनि लामो समयसम्म पालो कुरेरै बस्नुपर्छ । डाक्टरलाई रिपोर्ट देखाउन एघारौं पटक तथा औषधी किन्न (फार्मेसीमा) बाह्रौं पटक लाइन बस्नुपर्छ ।

स्वास्थ्य बिमा गरेकाले पहिले बुझाएको बिमा कार्ड फिर्ता लिन फेरि लाइन बस्नैपर्छ, यो सहित तेह्रौं पटक लाइन हुने बिरामीको गुनासो छ । त्यसो त यति पटक लाइन एकै दिनमा बसेर जाँच गराउन पाउने पनि कमै हुन्छन् । त्यसको भोलिपल्ट रिपोर्ट देखाउन फेरि टोकनसहित बिरामी पुर्जा लिनै पर्छ, जुन चौधौं पटकको लाइन हुन्छ भने डाक्टर कक्षमा प्रवेश गर्न पनि उस्तै पन्ध्रौं पटकको लाइन ।

दैनिक १५० जनाको मात्रै भिडियो एक्सरे

यो अस्पताल प्रदेशकै नागरिकले सेवा लिने संघ मातहतको अस्पताल हो । अस्पतालमा दैनिक १ सय ५० जनालाई भिडियो एक्सरे गर्ने टोकन दिइन्छ भने अन्यले पाउँदैनन् । जबकि अल्ट्रासाउन्ड गर्नुपर्ने गर्भवतीमात्रै टोकन संख्याको दोब्बर हुन्छन्, अन्य बिरामीको त कुरै छोडौं । अस्पतालमा ३ वटा अल्ट्रासाउन्ड मसिन छन् ।

कोभिड घटेपछि ३ मसिनले धान्नै नसक्ने चाप बढेको अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीले बताए । करिब २ महिनादेखि धान्नै नसकिने भिड भएको उनको भनाइ थियो । अस्पतालमा बिरामीको चाप बढेको, लामो लाइनमा पटक पटक बस्नुपरेको लगायत समस्या आफूलाई थाहा भएको उनको भनाइ थियो ।

दिनमा १ सय ५० जनरल, इमर्जेन्सी ३० देखि ५० गरी २ सय हाराहारीमा भिडियो एक्सरे हुने गरेको निर्देशक प्राडा खत्री बताउँछन् । डाक्टरबाहेक लेख्न जान्नेले युएसजी लेखिदिने अल्ट्रासाउन्ड गर्न नपर्नेले पनि गरिदिने गरेकाले भीड बढेको छ । बिमा सेवा मिसयुज भएकाले यसलाई नियन्त्रणको प्रयास गरिएको उनले बताए । उनले भने, ‘अब भिडियो एक्सरे सिफारिस गर्ने डाक्टरको एनएमसी उल्लेख गरेकै हुनुपर्छ, नत्र भिडियो एक्सरे नगर्नू भनेको छु ।’ हाल अस्पतालमा भएका ३ वटा अल्ट्रासाउन्ड मसिनमध्ये १ साधारण २ उच्च कोटीका छन् ।

समस्या समाधानमा पहल गरिरहेकै छु : प्राडा खत्री

बिमाले व्यवस्थापन गर्न नसकेका कारण पनि अस्पतालमा लामो लाइन हुने गरेको निर्देशक प्राडा खत्रीको स्वीकारोक्ति छ । उनले भने, ‘बिमा आफैं रोगी भयो । बिमा बोर्डले गण्डकी मेडिकल कलेज र मणिपाल अस्पतालबाट दिने गरेको बिमा सेवा बन्द गर्दिन्छु भनेको छ ।’ स्वास्थ्य बिमाबाहेकको जाँचमा पनि झमेला भने उस्तै नै हो । लामो र पटक–पटक लाइन बस्नुपर्ने समस्या समाधानका लागि मिडाजसँग सम्झौता गर्ने तयारी रहेको उनले बताए । पेपरबेस्ड भएकोमा वेभबेस्ड बनाउने तयारी गरिएको उनको भनाइ थियो । मिडाजसँग सम्झौता भएपछि पटक पटक लाइन बस्नुपर्ने बाध्यता छोट्याउन सकिने उनको विश्वास छ ।

आफूले तत्कालै गर्न चाहेर पनि गर्न नसकेको, प्रक्रियागत झमेला बाधक भएको निर्देशक प्राडा खत्रीको गुनासो छ । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले हामीसँग मिल्ने सफ्टवेयर राख भन्यो, हामीले गाइडलाइन माग गरेका थियौं, भोलि–भोलि भन्दै गर्दा ढिला भयो । सम्झौता कसरी गर्ने भन्ने क्लियर गरिदिए तत्काल टुंगाउने थियौं ।’

अस्पतालका निर्देशक प्राडा खत्रीले समस्या समाधानका लागि तत्काल सम्झौता गर्न विकल्प पनि सोचेको सुनाए । उनले भने, ‘पछि स्वास्थ्य मन्त्रालयले दिएका निर्देशन सफ्टवेयरमा राख्ने गरी शर्त राखेर भए पनि सम्झौता गर्ने कि भन्नेतर्फ सोचिरहेको छु ।’ उनले माथिल्लो निकायबाट सहयोग नपाएको गुनासो गरे । तत्काल गर्न खोजे पनि माथिल्लो निकायका कारण रोकिने गरेको उनले सुनाए । लाइन बस्नुपर्ने बाध्यता टोकन सिस्टम र फुल कम्प्युटराइज्ड गर्न सके समाधान हुने सोचेको तर तत्काल लाइन समस्या समाधान हुन नसकेको उनको भनाइ थियो । गर्भवती तथा स्त्रीरोग जाँचसम्बन्धी सेवा दिन १÷२ वटा अल्ट्रासाउन्ड ‘गाइने’ विल्डिङमै राखिदिने योजना पनि उनले सुनाए ।

अस्पताललाई हाल १ करोड बजेट प्राप्त भएकोमा २ भिडियो एक्सरे मसिन किन्ने उनको योजना छ । उनका अनुसार यही आर्थिक वर्षभित्र एउटा हाइ इन्ड र १ मिड इन्ड भिडियो एक्सरे मसिन खरिद गरिसक्ने योजना हो । हाइ इन्ड मेसिन किन्न ५० लाख माथि र मिडियम इन्ड ३० देखि ५० लाखसम्म पर्ने उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको बताएका छन् । मुख्यमन्त्री अधिकारी…
  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…
  • धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

    वासुदेव पौडेल जेठ ४, २०८१
    गण्डकी ।  धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले,…
  • गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लमजुङको बेंशीसहरदेखि बागलुङपानी हुँदै घलेगाउँबाट भुजुङ जोड्ने सडक २०७८ साल असोजमा सिध्याउनुपर्ने थियो । तर काम नगरेपछि २०७९…
  • सराङकोटमा सहिद स्मृति भवन निर्माण

    आदर्श समाज सम्वाददाता जेठ ३, २०८१
    पोखरा । पोखरा–१८, सराङकोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्क क्षेत्रभित्र सहिद स्मृति भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको…

hero news full width