कोरोनापछि धमाधम कन्सर्ट

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७८

बागलुङ । कोरोना माहामारी घट्दै जान थालेपछि हाल देशभर मेला महोत्सव बाक्लै आयोजना हुने गरेका छन् । करिब २ वर्षसम्म मेला, महोत्सव, कन्सर्ट हुन नसकेकोमा अहिले ती कार्यक्रम धमाधम संचालन हुन थालेपछि कलाकार पनि व्यस्त हुन थालेका छन् । दर्शकलाई सांगीतिक र हास्य प्रस्तुतिमार्फत मनोरञ्जन दिन कलाकारलाई भ्याइनभ्याइ छ ।
यसैबीच, हिमालय म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस्ले गलकोट ७ आँगाखेतमा गलकोट कन्सर्ट–२०७९ आयोजना गरेको छ । ‘समग्र विकासका लागि नयाँ कल्पना’ मूलनाराका साथ आगामी वैशाख ३ मा हुने कार्यक्रम सञ्चालन गर्न अहिले आवश्यक गृहकार्य भइरहेको आयोजक संस्थाका प्रतिनिधि राजन केसीले जानकारी दिए । गलकोटको मल्मस्थित आगाँखेत मध्यपहाडी लोकमार्ग नजिकै उक्त कन्सर्ट आयोजना गरिएको उनले बताए ।
पछिल्लो समय युवाशक्ति विदेश पलायन हुने क्रम निकै बढिरहेका बेला स्वदेशमा रहेका युवाको सक्रियामा जन्मभूमिलाई केही गरौं भन्ने उद्देशयले गलकोटमै पहिलो पटक गलकोट कन्सर्ट सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक मोहन केसी राजनले जानकारी दिए ।
देशविदेश रहेका गलकोटबासीसँगको सहकार्यमा गलकोटमा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्य, यहाँको कृषि, पर्यटन, जलस्रोत, स्थानीय सीप र पूर्वाधार नै समृद्ध गलकोट निर्माणको मूल आधार भएकोले सबैसँग हातेमालो गरेर सामाजिक कार्यमा एउटा इँट्टा थप्ने प्रयास रहेको बताइएको छ ।
गलकोटको कला, संस्कृतिको संरक्षण गर्ने र पर्यटकीय सम्भावना बोकेका गन्तव्यको गीतसंगीतको माध्यमबाट प्रचारप्रसार गर्ने उद्देश्यले गलकोट कन्सर्टको आयोजना गरिएको प्रचार प्रसार समिति संयोजक भूमिराज थापाले जानकारी दिए ।

कन्सर्ट सञ्चालन तथा व्यवस्थापनको लागि झण्डै १५ लाख खर्च हुने आयोजक संस्थाका आर्थिक संयोजक मीन थापाले बताए । कन्सर्ट सञ्चालन एवं आवश्यक सुरक्षा प्रबन्धको लागि जिल्ला प्रशासन कार्यालय बागलुङमा समन्वय गरिएको अतिथि सत्कार संयोजक राम खत्रीले जानकारी दिए । नयाँ वर्ष–२०७९ को शुभ अवसरमा कन्सर्टमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकार विष्णु खत्री, शान्तिश्री परियार, अस्मिता अधिकारी, प्रकाश दुतराज, ईश्वर सिंह, एचविएन किस्मत लगायत कलाकारको सांगीतिक प्रस्तुति रहने कन्सर्ट व्यवस्थापक श्रीकृष्ण केसीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width