निजी मत्स्य ह्याचरीलाई उन्नत नश्लका हुर्कौला माउ माछा वितरण

रामशरण नेपाली
चैत्र ७, २०७८
Machha 1

लेखनाथ । मत्स्य अनुसन्धान केन्द्र बेगनासले निजीस्तरमा सञ्चालित मत्स्य ह्याचरिहरुलाई कमन कार्प चाइनिज शुद्ध नश्लको हुर्काैला माउ माछा वितरण गरेको छ । केन्द्रले आइतबार पोखरा–३१ खुदीस्थित अन्नपूर्ण फिस फार्मलाई ५० वटा कमन कार्प चाइनिज शुद्ध नश्लको हुर्कौला माउ माछा हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश कृषि मन्त्रालयका सचिव डा. हरिबहादुर केसीले प्रदेश सरकारले किसानहरु लाभान्वित हुने विभिन्न कार्यक्रममार्फत उत्पादनलाई वृद्धि गरी प्रदेशको अर्थतन्त्रलाई मजबुत बनाउने दिशामा अघि बढिरहेको बताएका थिए ।
मन्त्री केसीले पानीको प्रशस्त स्रोत भएको ठाउँमा उन्नत एवं शुद्ध नश्लका माछापालन गर्नतर्फ किसानहरु पनि अग्रसर हुनुपर्ने र यसको लागि प्रदेश सरकारले पनि किसान लक्षित कार्यक्रम सञ्चालन गर्ने बताएका थिए ।
कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशानलय गण्डकी प्रदेशका निर्देशक मनबहादुर पुन, कृषि अनुसन्धान निर्देशानालय गण्डकी प्रदेशका निर्देशक कालिकाप्रसाद उपाध्याय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख सुदीप न्यौपाने, पोखरा ३१ का वडा सदस्य विष्णुबहादुर भुजेल, बागवानी अनुसन्धान केन्द्र मालेपाटनका प्रमुख डा. सुनील अर्याल, पोखरा महानगरपालिका कृषि विकास महाशाखाका प्रमुख मनोहर कडरिया, रुपाताल पुनस्र्थापना तथा तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकाललगायतले बोलेका थिए ।
मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख डा. मोहमद इकवाल हुसेनले हाल पाल्दै आइरहेको कमन कार्प माछाको तुलनामा शुद्ध चाइनिज नश्लको कमन कार्पले उत्पादनमा समेत वृद्धि हुनुका साथै रोगको प्रकोप पनि कम हुने जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा अन्नपूर्ण फिस फार्मका सञ्चालक झलक जलारीले केन्द्रले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै शुद्ध नश्लका माउ माछाबाट भुरा उत्पादन गरी किसानहरुलाई वितरण गर्ने बताएका थिए ।
मत्स्य अनुसन्धान केन्द्र बेगनासका प्रमुख डा. मोहमद इकवाल हुसेनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रकी प्रमुख प्रशासन सहायक भगवती थापाले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width