पोखरा वृद्धाश्रमको रजतजयन्ती उद्घाटन

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७८
pokhara aged selter

पोखरा । पोखरा महानगरपालिका १७ सीतापाइलास्थित पोखरा वृद्धाश्रम आफ्नो स्थापनाको रजत जयन्ती एक समारोहबीच उद्घाटन गरेको छ । रजत जयन्तीको गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरे । कार्यक्रममा मन्त्री श्रेष्ठले टोल टोलमा ज्येष्ठ नागरिक सेवा केन्द्र आवश्यक रहेको बताए ।
पोखरा वृद्धाश्रमको रजतजयन्ती समारोहको उद्घाटनपछि उनले ज्येष्ठ नागरिक समाजको महत्वपूर्ण सम्पत्ति रहेको बताउँदै प्रत्येक घरबाट अधिकतम २० मिनेटको दूरीमा ज्येष्ठ नागरिक सेवा केन्द्र हुनुपर्ने आवश्यकता औंल्याए ।
ज्येष्ठ नागरिकलाई लक्षित गरी सीपमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले समाजलाई गोलबद्ध बनाउन ज्येष्ठ नागरिकको भूमिका महत्वपूर्ण हुने बताए ।
पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले विभिन्न चरण पार गर्दै वृद्धाश्रम रजत जयन्तीसम्म आइपुगेको बताउँदै यसको दिगो सञ्चालनका लागि राज्यको सहयोग आवश्यक रहेको बताए ।
ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरी वृद्धाश्रममा जेरियाटिक वार्ड सञ्चालनमा ल्याइएको उल्लेख गर्दै उनले यसलाई व्यवस्थित रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानले सुरक्षित एवं सम्मानित ज्येष्ठ नागरिक आजको आवश्यकता भएको बताए ।
प्रत्येक ज्येष्ठ नागरिकलाई आ आफ्नै घरमा सम्मानपूर्वक रहने व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै उनले असहायका लागि मात्रै ज्येष्ठ नागरिक आश्रममा बस्ने वातावरण निर्माण हुनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले ज्येष्ठ नागरिक आश्रमहरूलाई जीवित भगवान भेट्ने तीर्थस्थलका रुपमा विकास गर्नुपर्ने बताए । उक्त अवसरमा वृद्धाश्रममा विभिन्न रुपमा सहयोग गर्ने व्यक्तित्वलाई मन्त्री श्रेष्ठ र वृद्धाश्रमका अध्यक्ष पराजुलीले सम्मानपत्र र दोसल्लाले सम्मान गरे ।
कार्यक्रममा निवृत्त शिक्षक समुदाय गण्डकीका अध्यक्ष तोयनाथ लामिछाने, आनन्दी गृहका अध्यक्ष यज्ञमान शाक्य, पोखरा वृद्धाश्रमका सचिव केशवराज लम्साल, उपाध्यक्ष मनमाया खत्रीलगायतले समाजको उन्नयनमा ज्येष्ठ नागरिकको महत्वबारे विषयमा बोलेका थिए । पोखरा वृद्धाश्रममा हाल २६ महिला, २२ पुरुष र ७ जना स्याहारकर्ता बस्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै