पशुपति र प्रीतिका गीतमा रमाए दर्शक

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७८
Lekhnath Festival pic~ramsaran

लेखनाथ । १७ औं लेखनाथ महोत्सव मंगलबार १५ हजार दर्शकले अवलोकन गरेका छन् । यस्तै, २७ लाख रुपैयाँको कारोबार भएको छ । प्रचार उपसमिति संयोजक गोपीचन्द्र बास्तोलाका अनुसार आधा दर्जन गीत संगीतमा प्रस्तुति दिएका चर्चित लोकदोहोरी गायक पशुपति शर्मा दर्शकबीच अझै लोकप्रिय बने । उनले लुट्न सके लुट कान्छा, लुट्न सके लुट भन्ने गीत प्रस्तुत गर्दा दर्शकले समर्थनमा हुटिङ गरेका थिए । उनले आफ्ना चर्चित आधा दर्जन गीतबाट महोत्सवका दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
गायक शर्मा र लोकदोहोरी गायिका प्रीति आलेबीच केही समय दोहोरी व्याटल समेत भएको थियो । शर्मा र आलेसँगै गायिका सरस्वती लामिछाने र बालचन्द्र बरालले समेत मनोरञ्जन दिलाएका थिए ।
महोत्सवमा डायमण्ड मावि र लेकसिटी एकेडेमी एन्ड मन्टेसरीका विद्यार्थीले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने शिशुवा सत्संगको टोलीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
महोत्सवको अर्को आकर्षणको रुपमा रहेको रत्यौलीमा विश्वकर्मा आमा समूह पोखरा २८ र नमूना कृषक आमा समूह पोखरा २६ को प्रस्तुति थियो ।
महोत्सवमा राखिएका प्रायः सबै स्टलबाट सन्तोषजनक व्यापार भएको संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समिति संयोजक छत्रधर आत्रेयले जानकारी दिए । महोत्सवमा फेन्सी, गार्मेन्ट तथा भाडाका स्टलहरुमा उल्लेख्य व्यापार भएको व्यवसायीले बताएका छन् । होटल तथा रेष्टुरेन्टमा पनि सन्तोषजनक व्यापार भएको रेष्टुरेन्टवालाले बताए ।
महोत्सव आधाआधितर्फ उन्मुख भइरहँदा प्रतिकूल अवस्था बावजुद दर्शकको उत्साहजनक उपस्थिति रहेको अध्यक्ष आत्रेयको भनाइ रहेको छ ।
महोत्सव कोभिडविरुद्धको भ्याक्सिनेसनस्थल समेत बनेको छ । मंगलबारसम्म १ सय ३७ जनाले कोभिडविरुद्धको भ्याक्सिन लगाएका छन् । महोत्सवको बुधबारको आकर्षणमा प्रमोद खरेल रहेका छन् । यसैगरी लोकदोहोरीतर्फ प्रजापति पराजुली, राजन गुरुङ, शीला आले र मीना नेपालीलाई आयोजकले स्टेजमा उतार्ने तयारी गरेका छन् । महोत्सवमा कृषिजन्य स्थानीय उत्पादनदेखि अटो, सूचना प्रविधि, खाद्य, लत्ताकपडा, सेवा सूचना लगायतका ३ सयभन्दा बढी स्टल रहेका छन् । महोत्सव चैत्र ७ सम्म संचालन हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै