‘अली मियाँ निष्काम कर्म र मानवीय धर्मका प्रतिमूर्ति’

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७८
ali miya

पोखरा । नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति, साहित्यकार सरुभक्तले लोक कवि अली मियाँ निष्काम कर्म र मानवीय धर्मका प्रतिमूर्ति भएका बताएका छन् ।
अली मियाँको १०४ औं जन्मजयन्ती तथा अली मियाँ लोकवाङ्मय पुरस्कार सम्मान समारोहलाई आइतबार सम्बोधन गर्दै साहित्यकार सरुभक्तले कवि मियाँको धार्मिक सहिष्णुता र सद्भावका विचारलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिए ।
सम्मानीत स्रष्टा डा. बाबुराम अधिकारीले अलि मियाँको रचनामा निम्न तथा मध्यम वर्गीय जनताले भोग्नु परेका पीडा मर्मस्पर्शी रुपमा व्यक्त भएको बताए । उनले भने, ‘पुरस्कारले आपूmलाई अझ जिम्मेवारी र ऊर्जा थपेको छ ।’
नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य परशुराम कोइरालाले कवि मियाँ समाजप्रति समर्पित व्यक्तित्व भएको उल्लेख गरे ।
नेपाल नाट्य प्रतिष्ठान पोखराका अध्यक्ष डा. रामचन्द्र पोखरेलले हामी कुनै व्यक्ति नभइ नेपाली भाषा र साहित्यका सर्जकको जन्मदिन मनाइरहेछौं भन्दै डा.बावुराम अधिकारीको समालोचनाले कवि मियाँलाई अझ जीवन्त बनाएको बताए ।
अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल, (अनेसास) पोखराका अध्यक्ष दुर्गाबहादुर शाहले भने, ‘पोखरा सुन्दर भएको प्रकृतिले मात्र होइन साहित्यले पनि हो ।’
स्वागत मन्तव्य राख्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले कवि मियाँले सत्य र न्यायको पक्षमा कलम चलाएको बताए । उनले गगण्डकी प्रज्ञा प्रतिष्ठान जे जसरी गठन भए पनि कसैलाई भेदभाव नगरी प्रतिभाको कदर गर्ने बताए ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले दुवै प्रतिष्ठानले मिलेर विभिन्न संस्थाहरुसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै अलि मियाँका रचना वाचन गरेका थिए ।
अली मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन कोषाध्यक्ष फणीन्द्र अकिञ्चनले गरेका थिए ।
कार्यक्रममा धनबहादुर गन्धर्व स्मृति प्रतिष्ठानका कलाकारले लोकधुन प्रस्तुत गरेका थिए भने अलि मियाँ नातिनी सकिना खातुनले अरबी भाषामा कुरानको सुरुमा रहेको मंगलसूत्र वाचन गरेकी थिइन् ।

डा. अधिकारी सम्मानित
समालोचक डा. बाबुराम अधिकारी अली मियाँ लोक वाङ्मय पुरस्कार–२०७८ बाट सम्मानित भएका छन् ।
कवि अलि मियाँको १०४ औं जन्मजयन्ती समारोहबीच साहित्यकार सरुभक्त र प्रतिष्ठान अध्यक्ष हनिफ मियाँले उनलाई ५० हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन् । सम्मानअघि प्रतिष्ठान सल्लाहकार तथा प्रतिभा छनोट समिति संयोजक डा. रविलाल अधिकारीले सम्मानित प्रतिभाको परिचय प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width