पोखरा विश्वविद्यालयको१७ औं दीक्षान्त समारोह

११ हजार २ सय विद्यार्थी दीक्षित

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७८
Pu by durga paudels

पोखरा । पोखरा विश्वविद्यालयको १७ औं दीक्षान्त समारोह आइतबार भएको छ । विश्वविद्यालयको दीक्षान्त समारोहमा विगत ३ वर्षदेखि विविध कारणले हुन सकेको थिएन । १७ औं दीक्षान्त समारोहको अध्यक्षता पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले गरेका थिए ।
कार्यक्रममा उपकुलपति प्राडा प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयको आफ्नै एउटा छुट्टै पहिचान रहेको र त्यो भनेको यसले नेपालका अरू विश्वविद्यालयको तुलनामा शैक्षिक पर्यटन र स्वास्थ्य पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिन सक्दछ भन्ने रहेको उल्लेख गरे । उनले पोखराकोे प्राकृतिक सम्पदा, मौलिकता तथा पहिचान झल्कने गरी शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगका विविध पक्षलाई समेटी पोखरा विश्वविद्यालयले आफ्ना नीति तथा कार्यक्रमलाई बिस्तार गर्दै लैजाने बताए । दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै उपकुलपतिले प्राडा अर्यालले भने,‘ तपाईंहरू जस्ता जोश, जाँगर र सीपले निपुण दक्ष युवाहरू विकसित र समुन्नत राष्ट्र निर्माण गर्ने कार्यमा मजबूत आधार र बलियो खम्बा हो । भोलि देशलाई कस्तो बनाउने, कुन दिशामा लैजाने हो तपाईंहरूमा नै निर्भर गर्दछ ।’
दीक्षान्त समारोहका प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् एवम् काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा सुरेशराज शर्माले गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यतामा निकै बलियो रहेको, सांस्कृति र ऐतिहासिक दृष्टिकोणले पनि यो प्रदेश निकै धनि रहेको उल्लेख गरे । । उनले भने, ‘प्रदेशमा प्रखर चिन्तक, लेखक, कवि र विद्वानहरूको प्रचूरता छ, राम्रा विद्यापीठहरू पनि यहीं छन्, जलविद्युत उत्पादनमा पनि अग्रणी रहेको छ ।’ उनले देश प्राकृतिक स्रोत र साधनले धनी हुँदाहुँदै पनि विज्ञान र प्रविधिमा पछि रहेको तथा जलस्रोत र यातायात क्षेत्रले पनि अपेक्षित गति लिन नसकेकोमा दुःख व्यक्त गरे । उनले हामीलाई मागेर खाने होइन गरेर खाने शिक्षा चाहिएको उल्लेख गरे । उनले देशभित्रै कृषि क्षेत्रमा क्रान्ति ल्याई उत्पादनलाई निर्यात गर्नुपर्ने र विदेशी सहायता रोक्नुपर्नेमा जोड दिए । यसका लागि देशभित्र उच्च, मध्यम र तल्लोस्तरको अत्यधिक दक्ष जनशक्ति आवश्यक पर्ने बताउँदै प्रविधि, स्वास्थ्य, सञ्चार, कृषि र निर्माण क्षेत्रको विकासमा मुलुकले गम्भीर भएर सोच्नुपर्ने आवश्यकता औंल्याए ।
मानविकी तथा सामाजिक शास्त्र संकाय डीन सहप्राध्यापक डा. अजय थापाले पोखरा विश्वविद्यालय गण्डकी प्रदेशको मात्र नभई उच्चशिक्षामा विशिष्टिकृत पहिचान दि“दै आएको मुुलुकको एउटा महत्वपूर्ण शैक्षिक संस्था भएको बताए । उनले विद्यार्थी राष्ट्रका गहना र अमूल्य रत्न भएकाले स्वतस्फूर्त रूपमा राष्ट्र निर्माण र परिवर्तनको संवाहकको रूपमा दीक्षान्त समारोहमा सपथ लिनुपर्नेमा जोड दिए ।
१७ औं दीक्षान्त समारोहमा २०७५ चैत २० गतेपछि २०७८ साल फागुनको १ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ११ हजार २ सय ६७ जना विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो । दीक्षित विद्यार्थीमध्ये मानविकी तथा व्यवस्थापनतर्फको विद्यावारिधि तहमा ३ जना, विज्ञान तथा प्रविधि संकायको स्नातकोत्तर तहमा ४ सय ९४ जना र स्नातकतहमा २ हजार ५ सय २१ जना र स्वास्थ्य विज्ञान संकायको स्नातकोत्तर तहमा ८४ जना र स्नातक तहमा १ हजार १४ जना छन् । त्यसैगरी मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतको एमफिल तहमा ९७ जना, स्नातकोत्तर तहमा ९३ जना र स्नातकतहमा ५७ जना तथा व्यवस्थापन संकायको स्नातकोत्तर तहमा १ हजार ६ सय ९६ जना र स्नातक तहमा ५ हजार २ सय ५ जना विद्यार्थी दीक्षित भएका छन् ।
दीक्षान्तमा विभिन्न विधाका ९ सय ३१ जना विद्यार्थी डिन लिस्टमा गरेका छन् । दीक्षान्त समारोहमा विद्यावारिधि तहमा सर्वोकृष्ट अंक प्राप्त गर्ने ३ जनालाई कुलपति पदक, स्नातक तहका विभिन्न विधामा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ८ जनालाई उपकुलपति पदक र स्नातकोत्तरतहका विभिन्न विधामा सबैभन्दा उच्च अंक प्राप्त गर्ने १६ जना विद्यार्थीलाई कुलपति पदकले विभूषित गरिएको थियो । साथै कम्प्युटर एप्लिकेसन स्नातकतहमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जना विद्यार्थीलाई ओसिइएम गोल्ड मेडलबाट विभूषित गरिएको पोविविका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग