म्याद गुज्रिएपछि बल्ल ढलान

धनबहादुर गुरुङ
माघ २०, २०७८
Firke Pool Photo

पोखरा । घर नजिकै फिर्के खोलामा बन्न लागेको पुल हेरेर मख्ख थिए, पोखरा ५ पस्र्याङका भरतराज पौडेल । बुधबार पुलको ढलान भयो । तर उनलाई ढलान अहिल्यै होला भन्ने पत्यार नै लाएको थिएन । लामो समयदेखि घर अगाडिकै बिजोग देखेर हैरानीमा परेका पौडेल भन्दै थिए, ‘अब त सुविधा हुने भयो । एकैछिनमा आफ्नै साधनमा महेन्द्रपुल पुगिने भइयो । जोखिम मोलेर पुलको तलबाट अब हिंड्नु नपर्ला ।’
पुल निर्माणमा ढिलाइ भएकै कारण सर्वसाधरणलाई आवतजावतमा समस्या हुनुका साथै व्यवसायीले घाटा व्यहोरेका थिए । सोही विषयलाई लिएर गत असोज १८ गते स्थानीय र व्यवसायी विरोधमै उत्रिए । सोही समयमा निर्माण कम्पनी, स्थानीय, व्यवसायी र महानगरका प्रतिनिधिबीच पुलको काम छिटोभन्दा छिटो सक्ने सहमति थियो । असोजदेखि नै काम द्र्रूत पारेको निर्माण कम्पनीले बुधबार ढलानको मुख्य काम स्ल्याप ढलान गरेको हो ।
सानेपाको शान्ति÷आरोग्य जेभीले ४ करोड ५५ हजारमा २०७६ भदौ १ गते सम्झौता गरेको पुल २०७७ मंसिर ५ मा सकिनुपर्ने हो । तर विविध कारणले ढिलाइ भएको पुलको ढलान २ वर्षपछि मात्र भएको निर्माण कम्पनिका इन्जिनियर रामनारायण यादवले बताए । गत मंसिरमै सक्ने भनिए पनि कोरोना र विविध कारण देखाउँदै निर्माण कम्पनीले पुनः म्याद थपेको थियो । ‘सुरुमा वडा नम्बर ५ तर्फको बाटो विवाद भयो,’ उनले भने, ‘पछि ४ नम्बर वडातर्फ व्यक्तिगत जग्गाले विवाद झिक्यो । कोरोनाले पनि काममा बाधा पु¥यायो ।’ बाटो र जग्गा विवाद टुंगो लागेपछि कामले गति लिएको उनको भनाइ थियो । १५ महिनामा सकिनुपर्ने काम २९ महिनामा बल्ल ढलान हुँदा तैपनि स्थानीय काम छिटो सम्पन्न हुनेमा आशावादी छन् ।
पोखरा महानगर वडा ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोला पनि पुलको काम ढिलाइ भएको स्वीकार्छन् । स्थानीयको विरोध, कोरोनाका कारण पुलले गति लिन नसकेको उनको भनाइ थियो । बाटो, व्यक्तिगत जग्गा आदि सबै मिलाउँदा ३ महिना बितेको वडाध्यक्ष बास्तोलाले जनाए । स्थानीयकै विरोधका कारण २३ मिटरको पुल रिसाइज गर्ने भन्दै १७ मिटरमा झारिएको छ । सहरी क्षेत्रमा बन्ने पुल आकर्षक बनाउने हेतुले पाइलिङ सिस्टमको पुल बनाउन लागिएका कारण पनि केही ढिलाइ भएको उनको स्वीकारोक्ति छ ।

फिर्के पुल निर्माण १५ महिनामै सकिनुपर्ने २९ महिनामा आएर ढलान भएको हो

‘पोखरामा यो नयाँ सिस्टम अनुभव भएकाले सुरुका दिनमा महानगर र निर्माण कम्पनी सोयल टेस्टमा अलमलमा परेको थियो’, उनले भने, ‘सोयल टेस्टलगायत अन्य कारण काममा ढिलो भएकै थियो पछि विवाद आयो अनि कोरोनाले काम ढिलाइ भयो ।’
पोखरा वडा ४ र ५ का स्थानीय, नागरिक समाज, उपभोक्ता मञ्च, प्राविधिक, महानगरका कर्मचारी, निर्माण कम्पनीको समझदारीमा कामले तीव्रता पाएको बताउँदै छिट्टै पुलको काम सम्पन्न हुनेमा उनी ढुक्क छन् । अबको फागुनभित्र स्थानीय आवतजावत गर्ने गरी पुल हस्तान्तरण हुने उनले बताए । ‘पछिल्ला दिनमा अरु वडामा बनेका पुलमा कम्प्लेन आएका छन्,’ उनले भने, ‘यो पुलमा त्यस्तो नहोस् भनेर बिहानदेखि म यही खटिएको छु ।’ अझै पनि विविध कारण देखाउँदै निर्माण कम्पनीले ढिलाइ गरेमा कानुनी प्रक्रियामा जान बाध्य हुने उनले बताए ।
पोखरा महानगरपालिकाका इन्जिनियर नेत्र तिमिल्सिनाले ढलान सकिएपछि ८० प्रतिशत काम सकिने बताउँछन् । ‘सबैभन्दा गाह्रो र समय लाग्ने भनेको ढलान हो । यो आज सकिन्छ,’ उनले भने, ‘ढलान सकिएपछि बाँकी २० प्रतिशत काम गर्नुपर्छ । त्यो भनेको सहजै सकिने खालका छन् । अब छिट्टै सकिएला ।’
पुलमा सौन्र्दयीकरणका लागि माथि स्टिल फेब्रिकेटरको आर्क बनाउने उनले बताए । यो पछि एप्रोल स्ल्याब, रिटेनिङ, चेक ड्यामको काम बाँकी हुनेछ । ‘यही गतिमा काम भयो भने एक डेढ महिनामै पुल सकिन्छ,’ उनले भने, ‘कुनै भवितव्य नभए फागुनको अन्तिमसम्म पुल हस्तान्तरण गर्ने गरी निर्माण कम्पनीबाट काम भइरहेको छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width