मेटिएला त बरडाँडावासीको प्यास ?

आदर्श समाज सम्वाददाता
माघ १९, २०७८
Bardanda Khanepani Photo~

बरडाँडा (स्याङ्जा) । पुतलीबजार नगरपालिका ७, बरडाँडाका झलकबहादुर केसी आइतबार निकै खुसी थिए । बरडाँडावासी सबैको अनुहारमा उनको झैं कान्ति छायो ।
‘अब मेरी श्रीमतीझैं अरुले दुख नपाउने भए,’ हँसिलो मुद्रामा झलकबहादुर भन्दै थिए, ‘मन्त्री नै यहीं आएपछि त घरघरमा पानी आउँला नि ! धनसम्पत्ति सरकारले दिंदैन । खानेपानी र राम्रो बाटोघाटो त चाहियो ।’
पानी लिन जाँदा लडेर एक महिनाअघि झलकबहादुरकी श्रीमतीको खुट्टा भाँचिएको थियो । पोखराको गण्डकी अस्पतालमा उपचारपछि उनी अहिले स्याङ्जा आफन्तकोमा आराम गरिरहेकी छिन् । श्रीमतीको हालत सम्झिदै उनी ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई हेर्दै खुसी मनाइरहेका हुन् ।
उनीमात्र नभएर वर्षौदेखि खानेपानीको चर्को समस्या झेलिरहेका बरडाँडावासी खुसी हुनुको कारण थियो–मन्त्री आचार्य खानेपानी समस्या समाधानबारे छलफल गर्न गाउँमै पुगेका थिए । मन्त्री नै गाउँ आएर यसरी गाउँलेसँग छलफलमा जुटेपछि स्थानीय खानेपानी समस्या हल हुनेमा विश्वस्त थिए । अन्त्यमा, मन्त्री आचार्यले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) को काम सुरु गर्ने बताएपछि खानेपानी समस्या समाधान हुने भन्दै स्थानीय मख्ख बनेका हुन् ।
गत पुस २३ गते आदर्श समाज राष्ट्रिय दैनिकले ‘पानी खोज्दै बरडाँडावासी’ शीर्षकमा मुख्य समाचार छापेको थियो । साथै ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रममा यसबारे रिपोर्टमै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समस्या समाधानबारे चासो दिएका थिए । नगरपालिकाभित्रै खानेपानी समस्याबारे समाचार प्रकाशनपछि खानेपानी मन्त्री आचार्यले आइतबार स्थलगत भ्रमण गरी पानीको स्रोत, बिजुली अवस्था र कुन माध्यमबाट पानी पुर्‍याउन सकिन्छ ? भनी स्थानीयसँग छलफल गरेका हुन् ।
‘उपभोक्ता मन्त्रालय पुग्ने होइन, मन्त्री उपभोक्तासँग पुग्नुपर्छ’ भन्ने मान्यता लिएका मन्त्री गाउँमै पुग्दा स्थानीय अचम्मित थिए । मन्त्रीसँगै खानेपानी महाशाखा प्रमुख प्रेम डोटेल, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनासहित प्राविधिक गाउँ आएका हुन् ।

गत पुस २३ गते आदर्श समाज राष्ट्रिय दैनिकले ‘पानी खोज्दै बरडाँडावासी’ शीर्षकमा मुख्य समाचार छापेको थियो

स्थानीयसँग लामो छलफलपछि मन्त्री आचार्यले अबको २ महिनाभित्रै डिपिआरको काम सकेर काम अघि बढाउने आश्वासन दिएका हुन् । ‘हामीले यहाँ आएर स्थानीयको समस्या बुझेका छौं । स्रोत पहिचानदेखि अन्य विषयमा पनि उहाँहरुसँग कुरा भएको छ,’ मन्त्री आचार्यले भने, ‘सके यही वर्षमा कामको प्रक्रिया अघि बढाउँछौं । निर्वाचनका आचारसंहिता लगायत अन्य कारणले अवरोध गरे अर्को वर्ष सारेर पनि काम सुरु गर्नेछौं ।’ विविध समस्या नआए खानेपानी समस्या हल हुने विषयमा स्थानीयलाई २ सय प्रतिशत ढुक्क हुन मन्त्री आचार्यको आश्वासन थियो । उनले तत्कालका लागि मात्र नहेरेर भविष्यका लागि पनि सोचेर ट्यांकी बनाइने बताए । ठूलो ट्यांकी बनाउँदा बरडाँडासहित नजिकका गाउँमा पनि पानी पुर्‍याउन सहज हुने उनको भनाइ थियो ।


खानेपानी महाशाखा प्रमुख प्रेम डोटेलले महिनौंदेखि खानेपानीको समस्या झेलिरहेका बरडाँडावासीको समस्या समाधान गर्न आफूहरु तयार रहेको प्रतिक्रिया दिए । बरडाँडावासीलाई ‘एक घर, एक धारा’ पु¥याउन लिफ्टिङभन्दा अर्को विकल्प नदेखिएको उनले बताए । ‘नेपालका धेरै ठाउँमा लिफ्टिङ नै उपयोगी देखिएको छ, यहा पनि सोही विधि नै अपनाउने हो,’ उनले भने, ‘हामीले यहाँ आएर बुझ्दा बाह्रैमास पानी हुने मुहान नजिकै भेटिएन । त्यसैले करिब ३ सय मिटर तलबाट माथि तान्नुपर्ने हुन्छ ।’
डिपिआर सकेर आर्थिक अवस्थामा समस्या नपरे २ वर्षभित्रमा काम सक्ने गरी आफूहरु तल्लिन हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिना बताए ।
छलफलमा पुतलीबजार ७ का वडाध्यक्ष विश्वेश्वर प्रसाद रेग्मी, सदस्य रविविक्रम केसी, स्थानीय पदमबहादुर थापा, आमा समूह सदस्य विमला गुरुङ लगायतले मन्त्री नै गाउँमा पुग्दा खानेपानी समस्या हल हुने विश्वास व्यक्त गरे । उनीहरुले आफूहरुको गाउँमा बनाइने लिफ्टिङ खानेपानी अझ ठूलो आकारमा बनाउन सके नजिकैका अन्य स्थानीयलाई पनि पुर्‍याउन सहज हुने सुझाव दिए ।
गण्डकी सरकारले ‘एक घर, एक धारा’ अभियान २०७६ सालदेखि नै सुरु गरेको थियो । तर अनेक समस्याका कारण अझै पनि नगरपालिकाको गाउँमा अवस्था दयनीय छ । सरकार जसको भए पनि प्रदेश सरकार ‘एक घर, एक धारा’ अभियान सफल बनाउने पक्षमा रहेको मन्त्री आचार्यले बताए । सोही कारण पनि प्रदेशभित्रका खानेपानीको समस्या रहेको गाउँमा पुगेर स्थानीयसँग छलफल गरिरहेको उनले सुनाए ।
प्रदेशको ‘एक घर, एक धारा’ कार्यक्रमबाट प्रदेशका ४ लाख २२ हजार जनसंख्या लाभान्वित भएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ । जसका लागि प्रदेशभर ४ सय २२ योजना सम्पन्न भइसकेका छन् । अहिले १ हजार १७ आयोजनाको काम भइरहेको छ । प्रदेशका १० लाख जनता अझै पनि आधारभूत खानेपानीको पहुँचबाहिर रहेकाले यो वर्ष ८० देखि १ लाख घरधुरीमा धारा जडान गर्ने लक्ष्यसहित काम भइरहेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • जिभिपी युके लन्डनलाई भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार…
  • एचआइभी संक्रमणले पढाइबाट वञ्चित

    नवराज पहाडी जेठ ५, २०८१
    लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर…
  • हातपात अभियोगमा पक्राउ

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । कास्की प्रहरीले मालपोत कार्यालय लेखनाथमा एक जनालाई धाकधम्की दिई हात पातपात गरेको भन्दै भण्डारढिकका ३१ वर्षीय जीवन तामाङलाई…
  • तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त…
  • उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि उषा खनाल र प्रकाश थापा…

hero news full width