२० औं आहारारा गोल्डकप तयारी तीव्र

आदर्श समाज सम्वाददाता
पौष २०, २०७८
aaha sahara~

पोखरा । सहारा क्लब पोखराले २० औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारेको छ । पोखरा रंगशालामा आगामी माघ ६ देखि १५ सम्म चल्ने प्रतियोगिताको तयारी तीव्र पारिएको हो ।
‘खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ मोफसलको चर्चित क्लब सहारा क्लबले विषम परिस्थितिको बाबजुद पनि बर्सेनी यो प्रतियोगितालाई निरन्तरता दिंदै आएको छ । यसपालिको प्रतियोगिता पनि सभ्य र भव्यरुपमा सफल पार्न विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु निरन्तर खटिएको क्लब अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ ले जानकारी दिए ।
प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा टिम गरी कुल १० टिमले भाग लिने छन् । गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुङ हो ।
प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ हो । हिमश्रीले सुरुआतदेखि नै मुख्य प्रायोजक रुपमा साथ दिंदै आएको छ । प्रतियोगितामा बचत हुने रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने आयोजकले जनाएको छ । हाल तेस्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । क्लबले २०६१ सालदेखि सञ्चालन गरेको एकेडेमीमा आश्रित बालकलाई आवासीय सुविधासहित स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण दिने गरिन्छ । एकेडेमी पोखरा–१७, दोविल्लामा छ ।
प्रतियोगिताबाट कुल अनुमानित आम्दानी १ करोड ३६ लाख १ हजार र खर्च १ करोड ६ लाख ४८ हजार हुने आयोजकको अनुमान रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै